काठ संकलन तथा ओसारपसारमा प्रतिबन्ध फुकुवा, साल काट्न नपाइने
सरकारले वन क्षेत्रको काठ संकलन ढुवानी र बिक्री वितरणमा लगाएको प्रतिबन्ध आंशिक खुला गरेको छ । अब सालबाहेकका अन्य काठ र दाउरा कटान तथा ओसारपसार गर्न पाइने छ । निजी आवादीको पनि साल कटान, बिक्री र ओसारपसारमा प्रतिबन्ध कायम छ।
मन्त्रिपरिषदको २८ जेठको बैठकले देशभरका वन क्षेत्रमा काठ संकलन बिक्री वितरण तथा ढुवानीमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो । तर, साल प्रजातिका रुखको कटान, मुछान, संकलन र ओसार पसारमा लगाइएको रोक काम छ।
राष्ट्रिय वन क्षेत्रबाट नियमअनुसार कटान, मुछान भइसकेका, वन क्षेत्रबाट घाटगद्दीसम्म ढुवानी भइसकेका साल भने ढुवानी गर्न पाइने छ । त्यसैगरी निजी आवादीमा नियमअनुसार कटान, मुछान भएका सालबाहेक अन्य प्रजातिका काठ, दाउराको बिक्री र ढुवानी पनि खुला गरिएको छ ।
यसअघि मन्त्रिपरिषदको गएको १५ जेठको बैठकले सम्पूर्ण काठ संकलन, ओसारपसार र मुछान लगायतमा रोक लगाएको थियो।
वन क्षेत्रको जग्गा उपयोगका लागि मन्त्रिपरिषद बैठकबाट स्वीकृत पाएका राष्ट्रिय प्राथमिकतामा परेका आयोजना तथा विद्युत लाइन विस्तारका लागि रुख कटान, मुछान, संकलन र ओसार पसार पूर्ववत अवस्थामा हुने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ।
यो पनि हेर्नुस्- काठ प्रतिबन्ध गर्ने निर्णयमा यसकारण पुग्यो सरकार