बन्दाबन्दी खुलेपछि दिल्लीमा मृतकको संख्या बढ्यो, चिहानघारी ७५ प्रतिशत भरियो
करीब ४५ एकडमा फैलिएको दिल्लीको ‘जदीद कब्रिस्तान अहले इस्लाम’ अर्थात चिहानघारीको पाँच बिघा जमिन कोरोनाभाइरसबाट मृत्यु भएकाको लागि छुट्याइएको छ । तर, उक्त जमिनको ७५ प्रतिशत भाग भरिइसकेको छ।
चिहानमा शव गाड्ने काम गर्ने मोहम्मद शमिमका अनुसार बन्दाबन्दी खुलेपछि दिल्लीमा तीव्र गतिमा संक्रमितको मृत्यु भइरहेकाले बाँकी ठाउँ पनि चाँडै भरिनेछ। त्यसपछि चिहान व्यवस्थापन समितिलाई नयाँ जमीन खोज्नुपर्ने हुन्छ।
उनका अनुसार बन्दाबन्दीको समयमा कोरोनाभाइरसबाट मृत्यु भएकाको दैनिक पाँचदेखि छ वटा शव आउँथे । तर अहिले दैनिक १२ देखि १५ वटा शव आउँछन्। बन्दाबन्दी खुलेपछि अन्य कारणले मृत्यु हुनेको संख्या पनि बढेको उनले बताए।
अन्य कारणले मृत्यु भएकाको शव दैनिक १० देखि १२ वटा आइरहेको छ । तर, बन्दाबन्दीमा ६\७ वटा मात्र आउँथे । कोरोनाभाइरस संक्रमणका कारण अन्य रोग लागेका बिरामीले राम्रो उपचार नपाउँदा मृतक बढेको हुनसम्ने उनको अनुमान छ।
दिल्लीमा कोरोनाभाइरसबाट मृत्यु हुनेको शव गाड्न कामदारले शुरुमा अस्वीकार गरेका थिए । शमिम नै ती व्यक्ति हुन् जसले दिल्लीको पहिलो मृतकको शव गाडेका थिए।
शमिम भन्छन्, “शुरुमा मैले पनि मानेको थिइनँ, संक्रमण सर्ला भन्ने डर थियो, तर डाक्टरले सम्झाएपछि तयार भएँ । किनभने सबैले काम नगर्ने हो भने यी शव कसले गाड्छ ? कसैले त गर्नैपर्यो नि ।” बन्दाबन्दीको दुई दिनपछि देखि उनले यहाँ शव गाडिरहेका छन् । अहिलेसम्म ३०० भन्दा बढी शव गाडिसकेका छन्।
दिल्लीमा अहिलेसम्म १३ सय २७ जनाको मृत्यु भइसकेको छ । विगत २४ घन्टामा दुई हजार २२४ जना नयाँ संक्रमित भेटिएका छन् । यो एकै दिन भेटिएका अहिलेसम्मकै धेरै संक्रमित हुन् । विगत तीन दिनदेखि त्यहाँ दैनिक दुई हजारभन्दा बढी संक्रमित भेटिएका छन्।
पछिल्लो तीन दिनमा दिल्लीमा २४२ जनाको मृत्यु भयो । पछिल्लो २४ घन्टामा ५६ जनाको मृत्यु भयो । गएको शुक्रबार मात्र १२९ जनाको मृत्यु भएको थियो । यो दिल्लीमा एकै दिन मृत्यु भएको अहिलेसम्मकै ठूलो संख्या हो।
यो चिहानघारीमा बन्दाबन्दीअघि पुरानो दिल्लीका बासिन्दाले मात्र शव ल्याउँथे । तर, अहिले दिल्लीका अन्य क्षेत्रका शव पनि आउँछन् । कतिपय शव त मृत्युको चार वा पाँच दिनपछि मात्र आइपुग्छन् । कोरोना जाँचकाे रिपोर्ट ढिलो गरी आउनाले शव गाड्न पनि ढिलो भएको हो।
दिल्लीका धेरै क्षेत्रका शव ल्याउँदा पनि यो चिहानघारी छिटै भरिएको शमिम बताउँछन् । अब नयाँ चिहानघारीका लागि जंगल मास्नु पर्नेहुन्छ । यो चिहानघारी बनाउन पनि पाँच बिघाको जंगल फँडानी भएको थियो।
मोहम्मद शमिमलाई अहिले शव गाड्दा गाड्दै आफैँ संक्रमित हुन्छु कि भन्ने डर छ । यदि संक्रमित भइहाले उपचारका लागि उनीसँग खर्च छैन । उनी भन्छन्, “मलाई केही भइहाल्यो भने स्कूल पढिरहेका मेरा चार छोरीको जिम्मेवारी कसले उठाउँछ ?”
उनको कामलाई ‘कोरोना योद्धा’ को सूचीमा राखिएको छैन । तर, उनको काम जोखिमपूर्ण र अति आवश्यक छ । उनी भन्छन्, “सबै ठाउँमा यो वेला काम गर्नेाई फूल बर्साइरहेका छन् । तर, फूल बर्साउन त परको कुरा मूलभूत आवश्यकता पनि कसैले पूरा गरिदिएको छैन । न मलाई छुट्टी छ, त त यो सुनसान ठाउँ र गर्मीमा पिउने पानी नै छ ।”
-दैनिक भाष्करबाट