पहिरोले दुई घर बगाउँदा पर्वतमा पाँच जनाको मृत्यु, चार बेपत्ता
मुसलधारे वर्षापछि पर्वतको कुस्मा नगरपालिका ३, दुर्लुङको ढकालबारीमा शनिबार साँझ पहिरोले दुई घर बगाउँदा पाँच जनाको मृत्यु भएको छ । अरु चार जना बेपत्ता छन् ।
मृत्यु हुनेमा दिपा थापा, कमला विक, तुलबहादुर थापा, मीनाकुमारी थापा र विविशा थापा रहेका छन् । तुलबहादुर र मीनाकुमारी श्रीमान् श्रीमती र विविशा उनीहरुकी नातिनी हुन् । अझै चार जना हराइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
शनिबार साँझ ६ बजेदेखि कुश्मामा झण्डै दुई घण्टा मुसलधारे वर्षा भएको थियो । त्यसपछि घरभन्दा माथिबाट आएको पहिरोले दुई घर बगाएको कुस्मा नगरपालिका वडा नं. ३ का अध्यक्ष तेजप्रसाद पाध्यायले जानकारी दिए ।
मृत्यु भएकामध्ये तीन जनाको शव हिजो साँझ र २ जनाको शव आज विहान भेटिएको थियो । राति १ बजेसम्म खोजी गरेपछि वर्षा नरोकिएकाले सुरक्षाकर्मी फर्किएका थिए। बिहानबाट पुनः खोजी शुरु भएको थियो ।
पहिरोले उनीहरुका घरमा रहेका पशुचौपायासमेत मरेका छन्। स्थानीयका अनुसार झण्डै ३०० मिटरभन्दा माथिबाट पहिरो आएको छ। घटनास्थलमा नेपाली सेनाका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार तथा हराइरहेकाहरुको खोजी गरिरहेका छन् ।
यसअघि जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले ३१ जेठमा सूचना जारी गर्दै म्याग्दी, पर्वत र वाग्लुङमा भारी वर्षा गराउने मौसम प्रणालीको विकास भएको जनाएको थियो । महाशाखाले त्यहाँका स्थानीयलाई सचेत हुन पनि भनेको थियो ।
“म्याग्दी र पर्वत क्षेत्रमा विकास भएको मौसमी प्रणाली अहिले निष्क्रिय भइसकेको छ,” मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले भने “गण्डकी प्रदेशमा विकास भएको मौसम प्रणाली काठमाडौंसम्म आइपुग्यो, काठमाडौंमा ठूलो वर्षा नभए पनि पहाडी क्षेत्रमा धेरै वर्षा भयो ।”
पर्वतमा मापन केन्द्र नभएका कारण कति मिलिमिटर वर्षा भयो भन्ने विवरण महाशाखासँग छैन । तर, स्थानीयहरुका भनाइका आधारमा पहिरो गएको क्षेत्रमा ‘क्लाउड बर्स्ट’ भएको हुनसक्ने श्रेष्ठले बताए । ‘क्लाउड बर्स्ट’ हुँदा गाग्रोले खन्याएजस्तो ठूलो वर्षा हुन्छ ।
महाशाखाका अनुसार अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा गराउने मौसम प्रणाली विकास भइरहेको छ । प्रदेश नं. १ र २ मा आज साँझ र राति भारी वर्षाको सम्भावना छ । मौसमविद् श्रेष्ठका अनुसार सो क्षेत्रमा भारी वर्षा गराउनसक्ने बादलको विकास भइरहेको छ ।