महामारीपछि फर्किएको ला लिगामा बार्सिलोना पहिलो खेलमा विजयी
महामारीपछि ला लिगामा फर्किएको पहिलो खेलमा लियोनल मेसीको शानदार प्रदर्शनले बार्सिलोना विजयी भएको छ । बार्साले मालोर्कालाई उसकै घरेलु मैदानमा ४–० गोल अन्तरले पराजित गरेको छ ।
मेसीले दुई गोलका लागि सहयोग गरेका थिए भने एक गोल गरेका थिए । खेलको ६६ सेकेन्डमा नै बार्साले अग्रता लिएको थियो । जोडी अल्बाको पासमा आर्टुरो भिडालले गोल गरेका थिए ।
त्यसपछि मेसीको पासमा ३७औँ मिनेटमा मार्टिन ब्राथवेट र ७३औँ मिनेटमा जोडी अल्बाले गोल गरेका थिए । मेस्सीले लुइस सुआरेजको पासमा ९०औँ मिनेटमा गोल गरे ।
बार्सिलोनाले अंक तालिकामा पाँच अंकको अग्रता लिएको छ । २८ खेल खेलेको बार्साको ६१ अंक छ भने २७ खेल खेलेको रियल मेड्रिडको ५६ अंक छ । आज रियलले घरेलु मैदानमा आइबारसँग प्रतिस्पर्धा गर्दैछ ।