नेपाली भूभाग डुबानमा पर्ने गरी सीमावर्ती क्षेत्रमा भारतले बनायो सडक
नेपाली भूभाग डुबानमा पर्ने गरी भारतले रुपन्देहीमा पर्ने नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा सडक निर्माण गरेको छ । भारतले निर्माण गरेको सडकका कारण वर्षाको समयमा प्राकृतिक रुपमा पानीको वहाव रोकिएर नेपाली जमिन डुबानमा पर्ने सीमा क्षेत्रका स्थानीयहरूको गुनासो छ।
रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादवका अनुसार भारतले निर्माण गरेको सडक दशगजा भन्दा १५ मिटरदेखि १ सय ५० मिटर टाढाको दूरीमा छ । यसले वर्षातको समयमा पानीको वहाव रोकिएर नेपालको खेतीयोग्य जमिन र बस्ती डुबानमा पर्ने सम्भावना बढेको यादवले बताए।
“भारतले बनाएको सडकका कारण नेपालबाट भारततिर बग्ने पानीको प्राकृतिक वहाव रोकिन्छ, त्यसले गर्दा हाम्रा खेतीयोग्य जमिन र बस्ती डुबानमा पर्छन,” यादव भन्छन् “भारतले पानीको निकासका लागि राम्रो संरचना पनि बनाएको छैन।”
भारतले निर्माण गरेको उक्त सडकका कारण सीमा क्षेत्रमा पर्ने असरको अध्ययनका लागि २० जेठ २०७७ मा रुपन्देही क्षेत्र नम्बर १ को प्रदेशसभा (१) बाट निर्वाचित सांसद डा. कृष्णप्रसाद न्यौपाने, सिंचाइ डिभिजन कार्यालय रुपन्देहीका प्रमुख टंक केसी, स्थानीय जनप्रतिनिधि सहितको टोलीले अवलोकन गरेको थियो।
उक्त टोलीले दशगजादेखि नजिक रहेका नेपाल तर्फका रोहिणी गाउँपालिका वडा नं ५ को बरवा, बुची र इम्लिहवा, वडा नं ६ को बोधबार र विष्णुपुरा, वडा नं ७ को पजरकट्टी र मनोहरापुर गाउँलाई प्रभाव पार्ने निष्कर्ष निकालेको थियो।
भारतले निर्माण गरेको सडकले प्रत्येक वर्ष रौतहटको सदरमुकाम गौर डुबानमा परेजस्तै रुपन्देहीको रोहिणिहवाका गाउँ पनि डुवानमा पर्ने सांसद न्यौपानेले बताए।
भारतले निर्माण गरिरहेको उक्त संरचना ३ देखि ६ फिट सम्मको उचाइमा रहेको छ भने चौडाइ १३ देखि १५ मीटरसम्म रहेको छ।
सांसद न्यौपानेका अनुसार सीमा क्षेत्रमा निर्माण गरिएको उक्त सडकका कारण पर्ने प्रभावका बारेमा परराष्ट्र मन्त्रालयलाई जानकारी गराइएको छ।
सांसद न्यौपाने भारतले निर्माण गरेको उक्त सडक संयुक्त राष्ट्रसंघको स्टाकहोम घोषणा विपरीत भएको बताउँछन्।
संयुक्त राष्ट्रसंघको आयोजनामा सन १९७२ मा स्वीडेनको स्टाकहोममा पहिलो पर्यावरण सम्मेलन भएको थियो । १ सय १९ मुलुक सहभागी उक्त सम्मेलनले पर्यावरण संरक्षणमा मुख्य जोड दिएको छ।
“कुनै पनि राष्ट्रले आफ्नो विकासको योजना अघि बढाउँदा वातावरणसँगै अर्काे कुनै पनि राष्ट्रलाई प्रतिकुल असर नपर्ने गरी कार्य गर्नुपर्ने व्यवस्था स्टाकहोम घोषणापत्रमा छ,” न्यौपाने भन्छन् “तर, भारतले निर्माण गरेको सडकका कारण नेपाली भूभाग प्रभावित बन्ने निश्चित छ।”