कोरोना नियन्त्रण र उपचारमा भएको खर्च विवरण सरकारद्वारा सार्वजनिक
कोरोनाभाइरसको रोकथाम, नियन्त्रण र उपचारमा खर्च भएको रु. १० अर्बको हिसाब पारदर्शी गर्न माग गर्दै विरोध प्रदर्शन भएपछि सरकारले खर्च विवरण सार्वजनिक गरेको छ।
शनिबार सार्वजनिक विवरण अनुसार सबैभन्दा बढी रक्षा मन्त्रालयबाट खर्च भएको छ। रक्षाले रु.२ अर्ब ४० करोड २४ लाख ५७ हजार खर्च गरेको छ। यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रु.१ अर्ब ५८ करोड ५३ लाख ८३ हजार खर्च गरेको सीसीएमसीले जनाएको छ।
संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले रु.५ करोड २० लाख, गृह मन्त्रालयले रु.२ करोड ४५ लाख ८८ हजार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले रु.२ करोड ६९ लाख ७८ हजार र शहरी विकास मन्त्रालयले रु.१ करोड ४२ लाख खर्च गरेको खर्च विवरणमा उल्लेख छ।
यी ६ वटा मन्त्रालयले कुल रु.४ अर्ब १० करोड ५५ लाख ६ हजार रकम खर्चेको देखिएको छ।
खर्च विवरण अनुसार औषधी र स्वास्थ्य सामग्री खरीद र व्यवस्थापन शीर्षकमा सबैभन्दा बढी रु.३ अर्ब ९० करोड ८८ लाख खर्च भएको छ।
यस्तै, स्वास्थ्य पूर्वाधारमा रु.१ अर्ब १२ करोड ५० लाख, क्वारेन्टिनमा रु.१३ करोड ५५ लाख ९८ हजार, जनशक्ति परिचालनमा रु.५ करोड ८३ लाख ३३ हजार र अन्य शीर्षकमा ४० करोड १५ लाख नौ हजार गरी कुल रु.५ अर्ब ६२ करोड ९२ लाख ४० हजार खर्च भएको देखाइएको छ।
स्थानीय तहमा रु.२ अर्ब ९८ करोड खर्च
प्रदेश अन्तर्गत सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशले रु.३६ करोड ४८ लाख ७० हजार खर्च गरेको छ। उक्त प्रदेशको कोरोना कोषमा रु.४२ करोड ५७ लाख २७ हजार रहेको सीसीएमसीले जनाएको छ।
सबैभन्दा कम प्रदेश-५ ले रु.७ करोड ७९ लाख ३० हजार खर्च गरेको छ। उक्त प्रदेशको कोरोना कोषमा रु.१५ करोड ६ लाख १७ हजार जम्मा भएको छ। सात वटा प्रदेशले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा कुल रु.१ अर्ब ३० करोड चार लाख ९९ हजार खर्चेको खर्च विवरणमा उल्लेख छ।
सीसीएमसीका अनुसार, स्थानीय तहहरुले अहिलेसम्म रु.२ अर्ब ९८ करोड ५१ लाख ९४ हजार खर्च गरेका छन्। स्थानीय तहको कोरोना कोषमा रु.४ अर्ब ८३ करोड २७ लाख १५ हजार जम्मा भएको जनाइएको छ।
यस्तो छ खर्च विवरण: