गएको बुधबार लुम्बिनी अस्पताल बुटवलबाट उपचार गरी घर फर्कने क्रममा मृत्यु भएका अर्घाखाँचीका पुरुषको कोरोना संक्रमण रिपोर्ट पोजेटिभ आएको छ । अर्घाखाँची मालारानी गाउँपालिका–४ का ५७ वर्षका पुरुषको उपचार गरेर फर्किने क्रममा कोद्रेखोला नजिक निधन भएको थियो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मृतक १२ दिनअघि भारतको महाराष्ट्रबाट आई सोही ठाउँको सार्वजनिक आधारभूत माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका थिए।
क्वारेन्टिनमा बसेका बेला स्वासप्रस्वासमा समस्या आएपछि अस्पताल लगिएको थियो । मन्त्रालयका प्रवक्ता डा गौतमले मृत्युपछि उनको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणका क्रममा बिहीबार जेठ २९ गते कोभिड–१९ को सङ्क्रमण देखिएको बताए। उनीसँगै कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ।