अव्यवस्थित क्वारेन्टिन कोरोनाभाइरस संक्रमणको केन्द्र बनिरहेकाे छ
विश्व स्वास्थ्य संगठनका अनुसार शुरूमा एक जना कोरोनाभाइरस संक्रमितबाट अरू दुई वा तीन जना संक्रमित हुन्थे । वुहानमा पनि यही दरमा संक्रमण फैलिएको थियो । तर, अहिले चीनमा भाइरस सर्ने दर एक जनामा सीमित भएको छ ।
बन्दाबन्दी, व्यापक दरमा हुने परीक्षण र व्यवस्थित क्वारेन्टिनले भाइरस संक्रमण दर घटाउँछ। संक्रमितलाई सुविधासम्पन्न आइसोलेसनमा राखेर व्यवस्थित रूपमा उपचार गर्ने पद्धति अनिवार्य हुन्छ ।
भाइरस संक्रमण भएको १४ दिन कटेपछि अर्को व्यक्तिमा सर्ने सम्भावना रहँदैन । लक्षण देखिएका र नदेखिएका दुवै खालका संक्रमितले १४ दिन क्वारेन्टिनमा बस्नु अनिवार्य हुन्छ । त्यसैले १४ दिनको क्वारेन्टिन अवधि एकदमै संवेदनशील र महत्वपूर्ण छ।
नेपालमा अव्यवस्थित क्वारेन्टिनका कारण संक्रमण दर झनै बढ्ने देखिएको छ । समयमा पर्याप्त परीक्षण नभएका कारण पनि चाँडै संक्रमण फैलिरहेको छ ।
यो अवधिमा शंकास्पद व्यक्तिलाई व्यवस्थित रूपमा क्वारेन्टिनमा राख्ने र समयमै पीसीआर परीक्षण गर्न सके भाइरस संक्रमण दर घटाउन सकिन्छ । तर, नेपालमा अव्यवस्थित क्वारेन्टिनका कारण संक्रमण दर झनै बढ्ने देखिएको छ । समयमा पर्याप्त परीक्षण नभएका कारण पनि चाँडै संक्रमण फैलिरहेको छ ।
अहिले क्वारेन्टिनमा बसेकाको परीक्षण नहुँदा बाहिर निस्किएपछि उनीहरूबाटै स्वस्थ मान्छेमा सरिरहेको पाइएको छ। समयमा कोरोनाभाइरस परीक्षण नहुँदा र क्वारेन्टिनमा व्यक्तिगत दूरी कायम हुने गरी खानपान, बसोबास, शौचालय, धारा लगायतको व्यवस्था नहुँदा संक्रमित भएर पनि थाहा नपाएकाहरूले अर्को व्यक्तिमा सारिरहेका छन् । यो ज्यादै खतरनाक अवस्था हो।
केन्द्रदेखि स्थानीय सरकारले क्वारेन्टिन स्थललाई सफा नराख्दा, बसोबास र खानपानलाई व्यवस्थित नगर्दा यो समस्या आएको हो। छुट्टाछुट्टै धारा र खानेपानीको व्यवस्था हुनै पर्छ।
यी सबै विषयहरू क्वारेन्टिन व्यवस्थापन अन्तर्गत पर्छन् । व्यवस्थापकीय कमजोरीका कारण क्वारेन्टिनहरू कोरोनाभाइरस संक्रमण फैलिने ‘हट स्पट’ बनेका हुन् । त्यसैले क्वारेन्टिनको व्यवस्थापनमा राज्य चुकिरहेको छ ।
खासगरी वैदेशिक रोजगारीको सिलसिलामा भारत गएकाहरू धेरै संक्रमित भएर फर्किएका छन् । कतिपय फर्किने क्रममा बाटोमै संक्रमित भएका छन् । फर्किएकालाई राखिएका ठाउँ भद्रगोल छन् । उनीहरूबाट अन्य धेरैलाई संक्रमण फैलिएको छ ।
क्वारेन्टिनमा खानेपानीदेखि शौचालयसम्मको राम्रो व्यवस्थापन हुनसकेको छैन । राम्रो व्यवस्थापन गर्न स्थानीय सरकार चुकेको छ। वास्तवमा स्थानीय सरकारलाई महामारीसँग लड्न गर्नुपर्ने तयारी र प्राविधिक ज्ञान नै छैन ।
कोरोनाभाइरसको संक्रमण कम गर्न स्वास्थ्य र गैर स्वास्थ्य संस्थाबीचको राम्रो समन्वय चाहिन्छ । तर समन्वय हुन नसक्दा क्वारेन्टिनमा खानेपानीदेखि शौचालयसम्मको राम्रो व्यवस्थापन हुनसकेको छैन । राम्रो व्यवस्थापन गर्न स्थानीय सरकार चुकेको छ। वास्तवमा स्थानीय सरकारलाई महामारीसँग लड्न गर्नुपर्ने तयारी र प्राविधिक ज्ञान नै छैन ।
कतिपय स्थानीय सरकारले प्रयास गरेका छन् तर व्यवस्थापकीय ज्ञान नहँुदा चुकेका छन् । उनीहरूसँग आवश्यक स्रोत त छ, परिचालन गर्न भने सकेका छैनन् । त्यसैले अब विगतको गल्तीबाट पाठ सिकेर महामारी विरुद्ध लड्नुको विकल्प छैन ।
जनस्वास्थ्यविद् मरहठ्ठासँगको कुराकानीमा आधारित