बन्दाबन्दीमा छापिए दुई लाख ५० हजार 'स्मार्ट लाइसेन्स'
यातायात व्यवस्था विभागले बन्दाबन्दीको अवधिमा झण्डै दुई लाख ५० हजार स्मार्ट चालक अनुमति पत्र छापेको छ । छाप्न बाँकी अनुमतिपत्रको सङ्ख्या पनि झण्डै त्यति नै रहेको विभागले जनाएको छ।
बन्दाबन्दी जारी रहँदा विभागले चालक अनुमतिपत्र छपाइलाई निरन्तरता दिइरहेको हो । गत वैशाख महीनासम्म झण्डै एक लाख ४० हजार र यही जेठ महिनामा एक लाखभन्दा बढी अनुमतिपत्र छपाइ भएको छ ।
आवश्यक स्वास्थ्य सावधानी र सामाजिक दूरी कायम गरेर छपाइ अघि बढाइएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए। सरकारले गत ११ चैतदेखि बन्दाबन्दी लागू गरेपछि १० दिनसम्म छपाइ ठप्प थियो। उनले भने, “चैत २० गतेदेखि अहिलेसम्म नियमितरुपमा अनुमतिपत्र छापिरहेको छौं ।”
केही वर्षदेखि चालक अनुमतिपत्रको छपाइमा ढिलाइ हुँदा सेवाग्राही हैरान थिए । झण्डै पाँच वर्ष पहिले हस्तलिखित अनुमतिपत्र विस्थापित गरी ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न थालिएको थियो ।
विभागमा रहेका उपकरणको क्षमताभन्दा कैयौँ गुणा बढी अनुमतिपत्र छाप्न पर्ने हुँदा सेवाग्राहीले अनुमतिपत्र पाएका थिएनन् । यही समस्याको समाधानका लागि गत वर्ष असोजमा ठूलो क्षमताको छपाइ उपकरण (मास प्रिन्टर) ल्याइएको थियो । अहिले सोही उपकरणबाट छपाइ भइरहेको छ ।
सङ्घीय सरकारले यातायात कार्यालयहरु प्रदेशलाई हस्तान्तरण गरेको थियो । अनुमतिपत्र छपाइको काम भने सङ्घीय सरकारले नै गर्दै आएको छ । नयाँ अनुमतिपत्रका लागि परीक्षा लिने, पुरानाको नवीकरण र अनुमतिपत्र वितरण भने यातायात व्यवस्था कार्यले नै गर्दै आएका छन्।
‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउनका लागि सरकारले गत वर्ष नै ठूलो सङ्ख्यामा एकैपटक छाप्न ‘मास प्रिन्टर’ सँगै १० लाख कार्ड खरीदका लागि पनि ठेक्का सम्झौता गरेको थियो । सबै कार्ड आइसकेकाले अहिले त्यो समस्या पूरै हटिसकेको विभागले जनाएको छ ।