दैलेखमा शुक्रबार २२ जना कोरोना संक्रमित डिस्चार्ज
यज्ञराज थापा, दैलेख
दैलेखमा एकैदिन २२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । आइसोलेसनमा बसेर उपचार गराइरहेका नारायण नगरपालिकाका २२ जना निको भएपछि आज(शुक्रबार) उनीहरुलाई घर पठाइएको हो।
दैलेख सदरमुकामस्थित सरस्वती माविमा रहेको आइसोलेसनमा उपचारको क्रममा रहेका उनीहरुलाई कोरोना जितेकोमा बधाई दिदैं बिदा गरिएको छ।
आइसोलेसनमा बसेर उपचार गराइरहेका उनीहरुको पछिल्लो रिपाेर्ट नेगेटिभ आएपछि घर पठाइएको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निरन्जन पन्तले जानकारी दिए । उपचारपछि निको भएर घर फर्किनेमा २१ पुरुष र १ जना महिला रहेका छन्।
कर्णाली प्रदेशमा सबैभन्दा बढी दैलेख जिल्लामा कोरोना संक्रमित पुष्टि भएको छ । अहिलेसम्म ४ सय ३४ जना कोरोना संक्रमित भेटिएको र ती सबैको अवस्था सामान्य रहेको उपचारमा खटिएका स्वास्थ्यकर्मीले बताएका छन्।