कोरोनाभाइरसको संक्रमण दैनिक बढेको बढ्यै, एकै दिन एक लाख ३६ हजारभन्दा बढी संक्रमित
विश्वभर कोरोनाभाइरस संक्रमणको दर बढिरहेको छ । बिहीबार एकै दिन एक लाख ३६ हजार ७४० जना नयाँ संक्रमित फेला परेका छन् । एकै दिन भेटिएका संक्रमितको यो अहिलेसम्मकै ठूलो संख्या हो ।
बुधबार पनि एक लाख ३५ हजार ५७८ जना संक्रमित भएका थिए । बिहीबार सबैभन्दा बढी ब्राजिलमा नयाँ संक्रमित फेला परेका छन् । त्यहाँ ३० हजार ४६६ नयाँ संक्रमित भेटिएका छन् । अघिल्लो दिन पनि त्यहाँ ३३ हजारभन्दा बढी संक्रमित भेटिएका थिए ।
अमेरिकामा २३ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । त्यस्तै भारतमा ११ हजार १२८ नयाँ संक्रमित भेटिएका छन् । अघिल्लो दिन त्यहाँ १२ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका थिए ।
कोरोनाभाइरसबाट हुने मृत्युदर भने विश्वभर घटिरहेको छ । तर ब्राजिल, भारत र मेक्सिकोमा भने यो दर बढिरहेको छ । बिहीबार विश्वभर पाँच हजार १६३ जनाको मृत्यु भयो ।
विश्वभर सबैभन्दा धेरै मान्छेको मृत्यु १७ अप्रिलमा भएको थियो । उक्त दिन आठ हजार ४३५ जनाले ज्यान गुमाएका थिए ।
बिहिबार ब्राजिलमा एक हजार २६१, अमेरिकामा ८९९, मेक्सिकोमा ७०८ र भारतमा ३९४ जनाले ज्यान गुमाए । यसैबीच भारत विश्वमा बढी संक्रमित भेटिएका देशको सूचीको चौँथो नम्बरमा पुगेको छ । भारतमा स्पेन, इटाल, बेलायत लगायत मुलुकमा भन्दा बढी संक्रमित भएका छन् ।
अहिलेसम्म भारतमा संक्रमितको संख्या दुई लाख ९८ हजार २८३ पुगेको छ । भारतभन्दा माथि रसिया, ब्राजिल र अमेरिका छन् । रसियामा पाँच लाखमाथि, ब्राजिलमा आठ लाखमाथि र अमेरिकामा २० लाखमाथि संक्रमित छन् ।