अरु भन्छन्–भारत बलियो, हरि भन्छन्–नेपाल !
नेपालले साफ महिला फुटबल च्याम्यिनसीप प्रतियोगिताको उपाधि जित्ने दाबी गरेको छ ।
टीमका प्रमुख प्रशिक्षक हरि खड्काले आयोजक नेपालले प्रतियोगिता जित्ने बताए ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार विराटनगरमा आयोजना गरेको प्रतियोगितापूर्वको पत्रकार सम्मेलनमा बोल्दै खड्काले नेपाल जितको लागि खेलिरहेको बताए । पत्रकार सम्मेलनमा पाकिस्तानबाहेक ६ वटै देशका प्रशिक्षक र टोली कप्तान उपस्थित थिए ।
भुटान, श्रीलंका, माल्दिभ्स र वंगलादेशका प्रशिक्षकहरुले भने भारत नै सबैभन्दा बलियो टीम भएको स्वीकारे । तर, नेपालका प्रशिक्षक खड्काले भारतमै हालै भएको हिरो गोल्डकपमा भारतलाई जितिसकेकाले नेपाली टोली नै उपाधिको हकदार भएको बताए ।
पत्रकार सम्मेलनमा सबै देशका टोली कप्तानहरुले साफको शिल्ड पनि सार्वजनिक गरे ।
“चीनमा भएको मैत्रीपूर्ण खेलको कमजोरी म्यानमारमा सुधार गर्यौं”, नेपाली टोलीकी कप्तान निरु थापाले हिमालखबरससँग कुरा गर्दै भनिन्, “प्रशिक्षणकै तहमा खेल्यौं भनें प्रतियोगिता जित्छौं ।”
प्रतियोगिता भोलि २८ फागुनदेखि ८ चैतसम्म विराटनगरको शहीद रंगशालामा हुंदैछ । प्रतियोगिताको उद्घाटन खेल नेपाल र भुटानबीच हुँदैछ ।
काठमाडौंबाहिर पहिलो पटक यति ठूलो प्रतियोगिता हुन लागेको भन्दैं विराटनगर महानगरपालिका र प्रदेश १ सरकारले रु. २ करोड सहयोग गरेका छन्।