बालुवाटारमा सरकार विरुद्ध प्रदर्शन गर्नेमाथि पानीको फोहोरा र अश्रुग्यास (तस्वीरहरु)
बालुवाटारमा बिहीबार सरकार विरुद्ध विरोध प्रदर्शन भएको छ। कोरोनाभाइरसको संक्रमण बढिरहँदा स्वास्थ्यका पूर्वाधार बढाउनुपर्ने, आरडीटी परीक्षण रोकेर पीसीआर विधिबाट मात्र जाँच्नुपर्ने, क्वारेन्टिन गुणस्तरीय बनाउनुपर्ने, कोरोना नियन्त्रणमा भएको खर्च पारदर्शी बनाउनुपर्ने लगायत माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन भएको हो।
कोरोना संक्रमणको जोखिम र बन्दाबन्दीको बेवास्ता गर्दै विभिन्न पेशा तथा व्यवसायमा आबद्ध युवाहरु ठूलो संख्यामा बिहान ११ बजे बालुवाटारको सडकमा भेला भएका थिए। प्रहरीले उनीहरुलाई पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेर तितरवितर पारेको थियो।
सुरक्षाकर्मीले प्रदर्शनकारीलाई लखेट्दै प्रहरी मुख्यालय नक्सालसम्म पुर्याएको थियो।
प्रदर्शनकारीहरुले सरकारले नागरिकले राज्यलाई तिरेको करको सदुपयोग नभइरहेको अवस्थामा कर किन तिर्ने भन्ने आवाज पनि उठाएका छन्।
विभिन्न पेशा-व्यवसायमा आबद्ध युवाहरुले फेसबुक ग्रुप मार्फत विरोधका कार्यक्रम बनाउँदै प्रदर्शन गर्दै आएको समन्वय गर्नेमध्येका एक रोविक उपाध्यायले बताए।