यो वर्षको एसईई नहुने, १ असारदेखि बन्दाबन्दी शहरमा खुकुलाे तर नाकामा कडाइ
सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नगर्ने निर्णय भएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको एक मन्त्रीले बताए।
ती मन्त्रीका अनुसार विद्यालयहरूमा क्वारेन्टिन बनाएकाले तत्काल परीक्षा सम्भव नभएको भन्दै एसईई नगर्ने र अब विद्यालयहरूले आन्तरिक मूल्यांकनको नम्बर परीक्षा बोर्डमा पठाउनेछन् र, त्यसकै आधारमा ग्रेड निर्धारण गरेर परीक्षाफल सार्वजनिक हुनेछ ।
गएको ६ चैतका लागि तोकिएको एसइई परीक्षा कोरोना जोखिमका कारण सरकारले मुलुकमा बन्दाबन्दी गर्ने निर्णय गरेपछि स्थगित भएको थियो ।
त्यस्तै सरकारले १ असारदेखि लागू हुनेगरी बन्दाबन्दीको मोडालिटीलाई परिवर्तन गर्नेे भएको छ । सरकारले कोरोनाको अवस्था सामान्य भएका ठाउँमा सुरक्षाका मापदण्ड अपनाएर बजार खोल्ने र जोर/बिजोर प्रणालीमा निजी सवारी साधनलाई चल्न दिने निर्णय गरेको छ ।
सीमा नाकामा भने यसअघि जस्तै कडाइ गर्ने निर्णय भएको र थप निर्णयका लागि अर्को बैठक बस्ने ती मन्त्रीले हिमाललाई जानकारी दिए।