बिरामी भेट्न गएका डाक्टरले प्राविधिक बनेर पाटन अस्पतालको मेशिन चोरे
प्रहरीले बर्दिबासस्थित डीएण्डबी मेडिकेयर सेन्टरका कार्यकारी निर्देशक डा. प्रवीण मिश्र र सीएमए रमेशकुमार शर्मालाई पाटन अस्पतालबाट अल्ट्रासाउण्ड मेशिन चोरेको आरोपमा पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर ललितपुरले मिश्र र शर्माविरुद्ध ललितपुर जिल्ला अदालतबाट चोरी मुद्दामा पाँच दिनको अनुसन्धान म्याद लिएर बुधबारदेखि हिरासतमा राखेको छ।
परिसर प्रमुख एसएसपी टेकप्रसाद राईले चिकित्सकीय अभ्यास गरिरहेका मिश्र र उनका साझेदार शर्मालाई चोरी गरेको मेशिनसहित पक्राउ गरेको बताए । उनका अनुसार १६ जेठको साँझ महोत्तरीस्थित आफ्नै अस्पतालबाट रिफर गरेका बिरामी भेट्न गएका मिश्र र शर्माले अर्को दिन प्राविधिकको भेषमा अस्पताल पुगेर चोरी गरेका थिए।
परिसरको अनुसन्धानमा १७ जेठको बिहान अस्पताल पुगेका दुवैले सुरक्षाकर्मी र अस्पतालका कर्मचारीहरूलाई आफूहरू मेशिन बनाउन आएका प्राविधिक भएको बताएर चोरी गरेका थिए । एसएसपी राईका अनुसार उनीहरूले मेशिन सर्भिसिङ गर्ने भन्दै खोलेर त्यसमा रहेका महत्वपूर्ण र महँगा पाटपुर्जा चोरी गरेका हुन्।
“मैले उहाँलाई कुनै रोग त छैन भनेर सोधेको थिएँ,” एसएसपी राईले भने, “आफै लज्जित हुनुहुन्छ ।”
प्रहरीका अनुसार उनीहरूले करीब २१ लाख बराबरको चोरी गरेका थिए । उनीहरूले पाटन अस्पतालको आईसीयू वार्डमा रहेको मेशिनका पाटपुर्जा चोरी गरेका हुन्।
परिसरका अनुसार मिश्र सर्लाही बलराका स्थायी बासिन्दा हुन् । उनी काठमाडौं–३१ मा डेरा गरी बसेका थिए । यस्तै अर्का आरोपी शर्मा महोत्तरीका हुन् । यी दुवैले साझेदारीमा बर्दिबासमा अस्पताल संचालन गरिरहेको एसएसपी राईले बताए।