स्वास्थ्य सामग्री खरीदमा प्रश्न उठेपछि 'गम्भीर ध्यानाकर्षण' भएको सेनाको प्रतिक्रिया
नेपाली सेनाले स्वास्थ्य सामग्री खरिदको विषयलाई लिएर उठेका प्रश्नहरूमाथि आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सेनाले बुधबार विज्ञप्ति जारी गरेर चीनबाट जीटूजी प्रक्रियामार्फत स्वास्थ्य सामग्री खरिद गरेको विषयलाई लिएर उठेका प्रश्नमाथि आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
'अत्यावश्यक देखिएको अवस्थामा राष्ट्रिय संयन्त्रको एक महत्त्वपूर्ण अंगको रुपमा रहेको नेपाली सेनाबाट प्रचलित प्रक्रिया र मापदण्ड बमोजिम खरिद भएका सामग्रीहरूको मूल्यको तुलनाको आधारमा, विना तथ्य प्रमाण राष्ट्रिय सेनालाई आक्षेप लगाउन खोज्नु आफैमा अत्यन्त गम्भीर विषय हो," सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
सेनाले विषम परिस्थिति, माग र आपूर्तिको फरक परिवेश र गुणस्तर जस्ता विषयहरू तुलना गर्न नसकिने भन्दै पारदर्शिताको लागि चीन सरकारकै तोकिएको सरकार नियन्त्रित कम्पनीबाट नेपाल सरकारका मन्त्रालयको स्वीकृतिबाट मात्रै सामान खरिद गरेको जनाएको छ।
"विषम् परिस्थिति, माग र आपूर्तिको फरक परिवेश र गुणस्तर जस्ता विषयहरु तुलना गर्न सकिदैन," सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "पारदर्शिताको लागि मित्रराष्ट्र चीन सरकारबाटै तोकिएको सरकार नियन्त्रित कम्पनी सिनोफर्म इन्टरनेशनल कर्पोरेसनबाटबाट प्राप्त सरकारी मूल्य सूचीलाई नेपाल सरकारका सम्बद्ध सबै निकायहरु (रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय) हरूसँग समन्वय र सहमति लिई नेपाल सरकारको स्वीकृत प्राप्त भए पश्चात् खरिद गरी प्राप्त सामग्रीहरु हाल विभिन्न प्रदेशहरुमा वितरणको कार्य समेत भइरहेको ।"
सेनाले जीटूजी प्रक्रियामार्फत प्रत्यक्ष कारोबार गर्न तथा अनियमितताका सबै सम्भावनाहरूलाई निरुत्साहित गर्ने रणनीति अनुरुप आन्तरिक खरिद निर्देशिका समेत जारी गरिएको दाबी गरेको छ।
सार्वजनिक खरिद ऐन २०६३ को परिच्छेद २ को नियम १६ मा आधारित रही सबै सरोकारवालाहरू सम्मिलित खरिद इकाइ र गुणस्तर निरीक्षण उपसमिति गठन गरी खरिद कार्य सम्पन्न गरिएको सेनाको भनाइ छ।
प्रतिनिधिसभाको बैठकमा बुधबार सांसदहरूले समेत सेनाले गरेको खरिदलाई लिएर टिप्पणी गरेका थिए । त्यसपछि लगत्तै सैनिक मुख्यालय जंगी अड्डाले त्यस सम्बन्धमा विज्ञप्ति जारी गर्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।