भैंसी फार्मको सामूहिक हत्याकाण्डमा झसेन्द्रको बयान: व्यक्तिगत चरित्रमा आक्षेप लगाएपछि विक्षिप्त बनें
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १० मैनहवास्थित गंगादेवी भैंसी फार्ममा भएको सामूहिक हत्याकाण्डका अभियुक्त झसेन्द्र जीसीले मृतकहरूले आफ्नो व्यक्तिगत चरित्रमा आक्षेप लगाउने गरेकाले आवेशमा आएर हत्या गरेको बयान दिएका छन्।
इलाका प्रहरी कार्यालय बुटवलले घटना विवरण सार्वजनिक गर्दै मृतकहरूले आफ्नो चरित्रहत्या गरेकाले आवेशमा आएर उनीहरूको हत्या गरेको प्रारम्भिक बयान अभियुक्तले दिएको बताएको छ।
आफ्नो बारेमा गाउँमा समेत चर्चा गरेको आफू मानसिक रुपमा विक्षिप्त भएको र उनीहरूले मादक पदार्थ सेवन गरेको मौकामा आक्रमण गरी मारेकाे बयान प्रहरी समक्ष अभियुक्तले दिएको प्रहरीले बताएको छ।
झसेन्द्रले उक्त फार्ममा कार्यरत माधव मुसहर (४०), उनकी श्रीमती जानकी मुसहर (३७), करण चौधरी (१५) आशीष थारु (१६) र पोखराज मुसहर (१६) को २६ जेठ राति हत्या गरेका थिए।
झसेन्द्रसहित माधव, जानकी र पोषराज उक्त फार्ममा कार्यरत हुन् भने चौधरी र थारु पोषराजका साथी । उनीहरू पोषराजसँग रमाइलो गर्ने क्रममा उक्त फार्ममा गएका थिए। झसेन्द्र डेढ महीनाअघि मात्र उक्त पशुफार्ममा काम गर्न आएका थिए।
जिल्ला अदालत रुपन्देहीबाट कर्तव्य ज्यान सम्बन्धी कसुरमा पहिलोपटक ७ दिनको म्याद लिएर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।