बाजुराको क्वारेन्टिनमा पाँच वर्षमुनिका ४७२ बालबालिका
बाजुराका नौ स्थानीय तहले बनाएको क्वारेन्टिनमा पाँच वर्षमुनिका बालबालिकाको सङ्ख्या ४७२ राखिएका छन्। ती सबै बालबालिका भारतका विभिन्न ठाउँमा मजदुरी गर्न गएका आमाबुवासँगै नेपाल आएर क्वारेन्टिनमा बसेका हुन्।
छेडेदह गाउँपालिकामा ६२, बूढीगङ्गा नगरपालिकामा १५३, त्रिवेणी नगरपालिकामा १११, बडिमालिका नगरपालिकामा ४२, गौमुल गाउँपालिकामा ३२ बालबालिका क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ। हिमाली गाउँपालिका आठ, स्वामिकार्तिक खापर गाउँपालिका ३०, जगन्नाथ गाउँपालिकामा १२ बूढीनन्दा नगरपालिकामा २२ बालबालिका छन्।
बुधबार बिहानसम्म नौ वटै स्थानीय तहमा रहेका १३२ क्वारेन्टिनमा जम्मा पाँच हजार ३३२ छन्। जसमा तल्लो क्षेत्रमा पर्ने बडिमालिका नगरपालिकामा २७६, गौमुल गाउँपालिकामा ३४०, खप्तड छेडेदह गाउँपालिकामा एक हजार १९५ जना बूढीगङ्गा नगरपालिकामा एक हजार २७८ र त्रिवेणी नगरपालिकामा एक हजार ८३ जना रहेका छन्।
पूर्वी–उत्तरी क्षेत्रमा पर्ने हिमाली गाउँपालिकामा ३०४, स्वामिकार्तिक खापर गाउँपालिकामा २८०, जगन्नाथ गाउँपालिकामा ३१८, बूढीनन्दा नगरपालिकामा ३०२ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका जनस्वाथ्य अधिकृत दयाकृष्ण पन्तले बताए। अहिलेसम्म २० जना सुत्केरी तथा गर्भवती महिला क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ। क्वारेन्टिनमा रहेका पाँच हजार ३३२ मध्ये चार हजार ४१६ भारतबाट आएका छन्।