दक्षिण एसियामा कोरोनाभाइरसः पाकिस्तानमा पनि एक लाखभन्दा बढी संक्रमित, नेपाल चौथो बढी प्रभावित
कोरोनाभाइरसबाट संक्रमित हुनेको कूल संख्या पाकिस्तानमा पनि एक लाख नाघेको छ । विश्वमा एक लाखभन्दा बढी संक्रमित हुनेको देश १६ वटा पुगेका छन् ।
पाकिस्तानमा अहिलेसम्म एक लाख आठ हजार ११७ जना संक्रमित भेटिएका छन् । जसमध्ये ३५ हजार १८ जना निको भएका छन् भने दुई हजार ११७ जनाको मृत्यु भएको छ ।
पछिल्लो साता पाकिस्तानमा दैनिक पाँच हजारको नजिक संक्रमित भेटिएका छन् । मंगलबार चार हजार ७२८ संक्रमित भेटिए । अघिल्लो दिन सोमबार चार हजार ९६० संक्रमित भेटिएका थिए । यो संख्या एकै दिन भेटिएका अहिलेसम्मकै ठूलो हो।
उता भारतमा अहिलेसम्म दुई लाख ७६ हजार १४६ संक्रमित छन् । भारतमा निको हुने दर पनि उच्च छ । अहिलेसम्म एक लाख ३४ हजार ६७० निको भएका छन् भने सात हजार ७५० जनाको मृत्यु भएको छ।
बंगलादेशमा कूल संक्रमितको संख्या ७१ हजार ६७५ पुगेको छ । त्यहाँ १५ हजार ३७० जना निको भएका छन् भने ९७५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा त्यहाँ ४५ जनाको मृत्यु भएको छ ।
भारत, पाकिस्तान र बंगलादेशपछि नेपालमा बढी संक्रमित भेटिएका छन् । नेपालमा अहिलेसम्म चार हजार ८६ जना संक्रमित भेटिएका छन् । ५८४ जना निको भएका छन् भने १५ जनाको मृत्यु भएको छ ।
माल्दिभ्समा एक हजार ९४२ कूल संक्रमितमध्ये एक हजार १० जना निको भएका छन् । त्यहाँ आठ जनाको मृत्यु भएको छ ।
श्रीलंकामा एक हजार ८५९ संक्रमित भेटिएका छन् । एक हजार ५६ जना निको भएका छन् भने ११ जनाको मृत्यु भएको छ । श्रीलंकामा संक्रमण नियन्त्रण हुँदै गएको छ । दैनिक संक्रमण दर ओरालो लागेको छ ।
भुटानमा अहिलेसम्म जम्मा ५९ संक्रमित भेटिएका छन् । त्यहाँ कसैको मृत्यु भएको छैन । १७ जना निको भइसकेका छन्।