यी ३४ देशमा रहेका ५६ हजार नेपालीको यसरी हुनेछ हवाई उद्धार (कुन देशबाट कतिजना , सूची सहित)
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा परराष्ट्र मन्त्रालय मार्फत ३४ देशमा रहेका ५६ हजार ९३ जनाले स्वदेश आउन आफ्नो र परिवारको विवरण टिपाएका छन् । उनीहरुलाई परराष्ट्र मन्त्रालयसँगको समन्वयनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहकार्यमा दैनिक पाँच देखि सातवटा उडान मार्फत नेपाल ल्याउने अन्तिम तयारी भइरहेको छ।
सीसीएमसीले तीनै सुरक्षा निकायसँगको समन्वयमा यसरी आउने नेपालीहरुलाई शुरुमा काठमाडौंमा रहेका होल्डिङ सेन्टरमा राख्नेछ । त्यहाँ उनीहरुको स्वास्थ्य अवस्थाको जाँचपछि प्रदेश सरकार र पालिकाको समन्वयमा सम्बन्धित जिल्लाहरुमा पठाइने छ । यसरी पठाउँदा सेनाले सम्बन्धित जिल्लामा रहेका सैनिक इकाइहरुमा उनीहरुको सम्पूर्ण विवरण टिपेरमात्र पालिकाको जिम्मा लगाउने छ।
दोस्रो चरणमा सम्बन्धित देशमा रहेका कूटनीतिक नियोग मार्फत नागरिक उड्डयन मन्त्रालय मार्फत उडान निर्धारण गरेर नेपालीहरु ल्याउने तयारी भइरहेको हो।
सीसीएमसी स्रोतका अनुसार परराष्ट्र मन्त्रालयमा हालसम्म विभिन्न देशमा रहेका कूटनीतिक नियोग र दूतावासहरुले २४ हजार १४८ जनाको सूची पठाएका छन् । यसरी नेपालीहरु विदेशबाट ल्याउँदा थोरै संख्यामा नेपाली आउन चाहनेहरुले नजिक रहेको अर्को देश वा शहरबाट उडान भर्ने छन्।
सीसीएमसीले तयार गरेको पहिलो सूची अनुसार संयुक्त अरब इमिरेट्सबाट १७३७५, बहराइन ११९८, मलेसिया ६४२५, कतार ८३७०, कुबेत ७९९१, साउदी अरबको रियादबाट ६५४४ र जेद्दाबाट ११६० र ओमानबाट ६५६ नेपालीहरु तत्काल नेपाल ल्याउने तयारी भइरहेको हो।
यस्तै बांगलादेशबाट ८६०, श्रीलंका ३६ माल्दिभ्स ७२४, पाकिस्तान १२५, कम्बोडिया ४१, सिङ्गापुर ६१, थाइल्याण्ड ३५७, भियतनाम ४, लाओस २, दक्षिण कोरिया २८२, जापान ९१६ र इजरायलबाट ३९ नेपालीहरु स्वदेश फर्कदै छन्।
सीसीएमसीको सूची अनुसार अष्ट्रेलिया १३००, अमेरिका ६४६, बेलायत ४९ र क्यानडाबाट ७८ नेपाली फर्कने छन्।
सीसीएमसीले नर्वे, स्विडेन र फिनल्याण्डबाट आउन चाहने नेपालीहरुका लागि डेनमार्कमा एउटा उडान गर्नेछ । यी देशहरुबाट हालसम्म ७६ जनाले स्वदेश फर्कने सूचीमा आफ्नो नाम टिपाएका छन् । यस्तै अफ्रिकी देशहरु युगाण्डाबाट १६१, नाइजेरिया ९७, सुडान ३१ र दक्षिणी सुडानबाट १८ जना नेपाल फर्कने छन् । सीसीएमसीका अनुसार मोरक्कोबाट ६९ र साइप्रसबाट ४७१ जनाले नेपाल फर्कन आफ्नो नाम टिपाएका हुन्।
परराष्ट्र मन्त्रालयले सीसीएमसीमा दिएको सूची पहिलो प्राथमिकतामा छ । जसमा सरकारले निर्धारण गरेको मापदण्डमा पर्ने २४ हजार जनालाई ३१ वटा उडान मार्फत फिर्ता ल्याउने तयारी भइरहेको हो।
उच्च स्रोतका अनुसार सरकारले विदेशबाट नेपाल ल्याउने स्पष्ट मापदण्ड तोके पनि उडानका विषयमा मन्त्रालयहरु बीच सहमति जुट्न नसक्दा यसले मूर्त रुप लिन सकेको छैन । यसअघि बर्मा र खाडी देशबाट आएका नेपालीहरुलाई यहाँ आइसकेपछि सेनाले ब्यवस्थापन गरेपनि उनीहरु सम्बन्धित देश र आफू काम गर्ने कम्पनीको सहयोगमा नेपाल आएका थिए।
सरकारले पहिलाे प्राथमिकतामा सम्बन्धित देशकाे सरकारबाट माफी मिनाह पाएका र डिटेन्सन सेन्टरमा रहेकाहरूलाई राखेकाे छ । यसपछि उपचारका लागि गएका, राेजगार गुमाएका, काम विशेषले गएर अलपत्र परेकाहरू रहेका छन् । तर यी प्राथमिकतामा रहेकाहरूकाे भन्दा राजनीतिक दल र शक्तिकेन्द्र निकटहरूले अवसर पाउने आशंका गरिएकाे छ।