नक्शा अद्यावधिक गर्न ल्याइएको संविधान संशोधन विधेयक प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मत स्वीकृत
निशान छापमा रहेको नक्शालाई अद्यावधिक गर्न ल्याइएको संविधान संशोधन विधेयक प्रस्ताव संघीय संसदको प्रतिनिधिसभाले सर्वसम्मतिले स्वीकृत गरेको छ।
संघीय संसदको प्रतिनिधिसभाले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७' को प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेसँगै सांसदहरूलाई संशोधन पेश गर्न दिएको ७२ घण्टाको समय खुल्ला गरिएको छ।
सांसदहरूले अबको ७२ घण्टाको समयभित्र सरकारले निशान छाप परिवर्तनका लागि ल्याएको संविधान संसोधन प्रस्तावमा संसोधन हाल्न सक्नेछन्।
सभामुखले प्रतिनिधि सभाको बैठकबाट विधेयक स्वीकृत भएको घोषणा गर्दा सांसदहरूले भव्य समर्थन गरेका थिए। मंगलबार दिउसो ११ बजेदेखि शुरु भएको बैठक करिब १० घण्टासम्म लगातार चलेको थियो।
प्रतिनिधिसभा बैठकको करिब साढे ४ घण्टासम्म विनियोजन विधेयक २०७७ अन्तर्गत आफ्नो मन्त्रालयसँग सम्बन्धित बजेटका विषयमा सांसदले उठाएका प्रश्नको विभिन्न मन्त्रीहरूले जवाफ दिएका थिए ।
बेलुका पौने ५ बजे बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्वाहाङफेले “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन्।
संसोधन विधेयक प्रस्तावमाथि ८४ जना सांसदहरूले सैद्धान्तिक छलफल गरेका थिए। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक बालकृष्ण खाँडले बैठकमा पार्टीको संशोधन विधेयकमा समर्थन रहेको घोषणा थिए। उनले संशोधनको पक्षमा आफ्नो पार्टीले केन्द्रीय समितिले निर्णय गरेको जानकारी गराए।
जनता समाजवादी पार्टीका सांसद राजेन्द्र श्रेष्ठले पनि राष्ट्रियताको विषय बाह्य र आन्तरिक हुने भएकाले राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डताको पक्षमा आफ्नो पार्टी सरकारसँगै रहेको बताए।
सांसदहरूले सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ कानून मन्त्री शिवमाया तुम्बाहाङ्फेले दिएकी थिइन्। सोही क्रममा उनले दलहरूबीच एक मत देखिएकोमा खुसी व्यक्त गर्दै नेपालले अब भूमि फिर्ता लिने र त्यसको भोगचलन समेत गर्ने बताइन्।
उनले संविधान संशोधनसँग जोडिएका अन्य विषयवस्तुमा आगामी दिनमा छलफल गरिने प्रतिबद्धता व्यक्त गर्दै सरकारले जारी गरेको नयाँ नक्सालाई संविधानले चिह्नका लागि संशोधन ल्याइएको र सबै दल र सांसद एक ठाउँमा उभिँदा सकारात्मक सन्देश गएको बताइन् । "हामी हाम्रो भूमि फिर्ता लिएर भोगचलन गरेरै छाड्छौँ," उनले भनिन्।
सरकारले यही ७ जेठमा नेपालको नयाँ प्रशासनिक नक्सा जारी गरेको थियो भने ९ जेठमा प्रतिनिधि सभामा संविधानको दोश्रो संशवधन विधेयक पेश गरेको थियो।
संघीय संसद सचिवालयले १९ जेठमा राजपत्र र २० जेठमा गोरखापत्रमा सर्वसाधरणको जानकारीका लागि संविधान संशोधन विधेयक सार्वजनिक गरेको थियो। सात दिनको म्याद सोमबार पूरा भएसँगै मंगलबार संशोधन विधेयक अघि बढेको हो।
यसपछि अबको ७२ घण्टासम्म सांसदहरूले सरकारले ल्याएको संशोधनमाथि संशोधन हाल्न पाउनेछन्। यसअघि संशोधनको समय घटाउने भनिएपनि नि सांसदहरूलाई संशोधन दर्ता गराउनका लागि पूरै समय उपलब्ध गराइएको छ।
संशोधन दर्ता गर्ने अवधि सकिएपछि उक्त विधेयक पारित हुने पक्रियामा अगाडि बढ्नेछ। त्यसपछि प्रतिनिधिसभामा पुन: छलफल हुनेछ वा सभामुख अग्नि सापकोटाले विशेष समिति गठन गरेर थप छलफल गराउन सक्नेछन्।
त्यसपछि प्रतिनिधिसभाबाट प्रस्ताव पारित भएपछि त्यसलाई राष्ट्रियसभामा पेश गरिने छ। राष्ट्रियसभाबाट पनि पारित भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण गर्दै जारी गरेर राजपत्रमा प्रकाशित भएपछि नेपालको संविधानले नयाँ भूभाग समेटिएको नक्सा पाउनेछ।
तर, सरकार विधेयकलाई छिटो अगाडि बढाउने पक्षमा रहेकाले प्रतिनिधिसभामै छलफल भएर टुङ्गो लाग्न सक्नेछ ।