कोरोनाबाट मृत्यु भएको भनिएकी सुत्केरीको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ
प्रसूति सेवाका लागि भक्तपुर अस्पतालमा भर्ना भएकी एक सुत्केरी महिलाको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको छ।
२७ जेठमा अस्पतालले जारी गरेको प्रेस विज्ञप्ति अनुसार शुरुमा र्यापिड डायग्नोष्टिक(आरडीटी) किटबाट गरिएको परीक्षणमा पोजेटिभ रिपाेर्ट आएकी महिलाको मृत्युपश्चात गरिएको रियल टाइम पीसीआर मेसिनबाट परीक्षण गर्दा कोरोना संक्रमण रिपोर्ट नेगेटिभ आएको हो।
आरडीटी मानव शरीरमा कोरोनाभाइरसविरुद्ध लड्ने एन्टीबडी बने वा नबनेको मापन गर्नका लागि प्रयोग हुँदै आइरहेको छ।
आरडीटीबाट परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएमा व्यक्तिको शरीरमा कोरोनाभाइरसविरुद्ध लड्ने एन्टीबडी बन्न थालेको थाहा हुन्छ।
प्रसूति व्यथा लागेपछि २५ जेठमा अस्पताल भर्ना भएकी सुत्केरीको त्यसै दिन ‘नर्मल डेलिभरी’ भएको अस्पतालले जनाएको छ । तर अस्पताल भर्ना हुने बेलामा उनलाई खोकी र छातीमा खराबी देखिएको थियो।
उनले बच्चा जन्माए लगत्तै श्वास फेर्न गाह्रो भएर शरीरमा अक्सिजनको मात्रा घटेको अस्पताल द्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
“अत्यधिक प्रयास गर्दा पनि निजलाई बचाउन सकिएन,” भक्तपुर अस्पताल द्वारा जारी विज्ञप्तिमा भनिएको छ, “उनलाई सोही दिन राति ९ः३० बजे मृत घोषणा गरियो।”
अस्पतालका अनुसार सुत्केरीको शुरुमा आरडीटी विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको तर रियल टाइम पीसीआर मेसिनबाट परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको हो।
कोरोनाभाइरस परीक्षण गर्ने वैज्ञानिक विधि पीसीआर नै हो । र, यही विधिलाई कोरोनाभाइरस परीक्षण गर्नका लागि संसारभर प्रयोगमा ल्याइएको छ।
ती सुत्केरीको पीसीआर परीक्षण कोरोनाभाइरस परीक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मार्फत गरिएको थियो।
सुत्केरीको मृत्युपछि अस्पतालले आफन्त र उनको उपचारमा प्रत्यक्ष रुपमा खट्ने चिकित्सक लगायतका स्वास्थ्यकर्मीलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टिनमा राखेको छ।
अस्पतालले आफूले सेवा दिँदै आएको ठाउँ नर्मलीकरण गर्ने जनाएको छ । शिशुको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ।
सुत्केरीको मृत्युको कारण एम्नीओटिक फ्लुइड इम्बोलिजम
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भक्तपुर अस्पतालमा मृत्यु भएकी सुत्केरीको पिसिआर रिपोर्ट नेगेटिभ आएकाले उनको मृत्युको कारण कोरोना भाइरस संक्रमण नभएको बताएका छन् ।
डा. गौतमले उनको मृत्युको कारण प्रसुतीका क्रममा हुने स्वास्थ्य समस्या एम्नीओटिक फ्लुइड इम्बोलिजम भएको बताएका छन् ।
“नर्भल डेलिभरीका क्रममा गर्भवतीको पाठेघरमा पाएको पानी नसाँहुँदै मुटु र त्यहाँबाट फोक्सोसम्म पुग्छ," उनी भन्छन्, "फोक्सोमा पाठेघरमा भएको पानी जम्मा भएपछि श्वासप्रश्वास प्रक्रिया बन्द भएर गर्भवतीको मृत्यु हुन्छ ।”
डा. गौतमका अनुसार भक्तपुर अस्पतालमा ज्यान गुमाएकी सुत्केरीको मृत्युको कारण पनि यहिँ समस्या नै थियो ।
चिकित्सकहरूका अनुसार १० हजार जनाको डेलिभरीहुँदा दुईदेखि तीन जनाको एम्नीओटिक फ्लुइड इम्बोलिजम कारण ज्यान जाने गरेको छ ।
यो समस्या भएपछि ८० देखि ९० प्रतिशतको मृत्यु हुने गरेको छ । मुलुकमा बन्दाबन्दी शुरु भएपछिका दिनहरूमा सुत्केरी तथा गर्भवतीको मृत्यु बढीरहेको छ ।