आन्तरिक हवाई उडान खुलाउने यस्तो छ तयारी
सरकारले पहिलो चरणमा आन्तरिक हवाई सेवा खुलाउने तयारी भइरहँदा पूर्ण क्षमतामा सञ्चालन गर्ने कि संक्रमण जोखिमलाई ध्यानमा राख्दै आधा यात्रु मात्र राखेर चलाउने विषयमा छलफल भइरहेको छ।
कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि ११ चैतदेखि जारी बन्दाबन्दी (लकडाउन) का कारण बन्द रहेको वायुसेवा सञ्चालन गर्ने तयारी भइरहेको छ। पहिलो चरणमा आन्तरिक उडान शुरू गर्ने र त्यसको केही समयपछि मात्रै अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने गरी सरकारले तयारी गरिरहेको छ।
महामारीको जोखिमका कारण सरकारले १६ असारसम्म हवाई उडानमा रोक लगाएको छ। कोभिड–१९ पछि उडानको मापदण्ड बनिसकेकाले सरकारको निर्णय आएपछि हवाई सेवा सञ्चालन गर्न तयार रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
अहिलेसम्मको प्रारम्भिक तयारी अनुसार १७ असारदेखि आन्तरिक उडान खुलाउन सरकारलाई सिफारिश गरिएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए। “अवस्था विचार गरेर सरकारले ढिलोचाँडो निर्णय गर्ला, प्राधिकरण भने आवश्यक सुरक्षा मापदण्ड बनाएर उडान शुरू गर्न तयारी अवस्थामा छ”, उनले भने।
प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामाजिक दूरी कायम गरेर यात्रु प्रवेश गर्ने, मास्क अनिवार्य लगाउनुपर्ने, रुघाखोकी लागेको यात्रु जान नपाउने, स्यानिटाइजर प्रयोग गर्नुपर्नेसहितको सुरक्षा मापदण्ड बनाएको छ।
उडान सञ्चालन गर्दा संक्रमण जोखिमलाई ध्यानमा राख्दै व्यक्तिगत दूरी कायम गर्नु आवश्यक भएकाले विमानको क्षमताको ४० देखि ५० प्रतिशत मात्र यात्रु राखेर उडान शुरू गर्न सकिन्छ कि भनेर छलफल भइरहेको प्राधिकरणका प्रवक्ता क्षेत्री बताउँछन्।
प्राधिकरणले विमानको क्षमताभन्दा आधा मात्रै यात्रु राखेर १ असारदेखि आन्तरिक हवाई सेवा सञ्चालन गर्ने प्रस्ताव कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा २३ जेठमै गरेको थियो।
वायुसेवा कम्पनीका अनुसार, विदेशी यात्रु नहुँदा डलर फेयर नहुने भएकाले सञ्चालन खर्च धान्न ८० प्रतिशतभन्दा बढी अकुपेन्सी हुनुपर्छ। त्यसैले आधा क्षमतामा हुने उडानमा ३० देखि ५० प्रतिशतसम्म नै भाडा बढाउनुपर्ने वायुसेवा सञ्चालकहरू बताउँछन्।
वायुसेवा सञ्चालकहरूको चासो
आन्तरिक हवाई उडान सञ्चालन गर्ने तयारी भइरहँदा वायुसेवा सञ्चालकहरूले त्यसका लागि आवश्यक आधार बनाउनुपर्ने माग गरेका छन्। हवाई सेवा पुनः सञ्चालन पूर्व इन्धनको मूल्य समायोजन, जहाजले पूर्ण क्षमतामा उडान गर्न पाउनुपर्ने, गन्तव्यमा क्वारेन्टिनमा बस्नु नपर्ने व्यवस्था गर्न उनीहरूको माग छ।
वायुसेवा सञ्चालक संघले २५ जेठमा एक विज्ञप्ति जारी गर्दै हवाई यातायातलाई सहज र सुलभ बनाउन सरकारले नै सहयोग गर्नुपर्ने र त्यस अन्तर्गत आगामी आर्थिक वर्षको बजेटमा घोषणा गरिएको सुविधा र सहुलियत लागू गर्न माग गरेको छ। बजेट घोषणा अनुसार हवाई इन्धनमा लाग्दै आएको पूर्वाधार विकास शुल्क मिनाहा गर्ने र थप भन्सार शुल्क नलाग्ने व्यवस्था कार्यान्वयन हुनुपर्ने संघको माग छ।
सरकारले हाल हवाई इन्धनको मूल्य प्रतिलिटर रु.६५ तोकेकोे छ। यो शुल्क अझै घटाएर हवाई यात्रालाई सर्वसुलभ बनाउन इन्धनमा प्रतिलिटर रु.१० मात्रै नाफा लिनुपर्ने संघले माग गरेको छ। हवाई भाडा निर्धारणमा ४० प्रतिशतसम्म हिस्सा इन्धनको हुने र त्यो जति सस्तो भयो, भाडा पनि सोही अनुसार घटाएर आन्तरिक यात्रुलाई सहज सेवा दिन सकिने संघको तर्क छ।
हवाई सेवा सञ्चालन गर्न सार्वजनिक यातायात तथा होटल–रेस्टुराँ सञ्चालन हुनुपर्ने लगायत सुझाव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय समक्ष यसअघि नै पेश गरेको संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
संघका प्रवक्ता योगराज कँडेल शर्माका अनुसार, संघले नियामक निकाय उड्डयन प्राधिकरणलाई आगामी दिनमा हुने उडानका लागि स्याण्डर्ड अपरेटिङ प्रोसिड्युअर (एसओपी) तयार पारेर बुझाएको छ।
प्राधिकरणले एयरलाइन्स, यात्रु, कर्मचारीसहितले पालना गर्नुपर्ने सुरक्षा मापदण्ड २१ जेठमा सार्वजनिक गरिसकेको छ। मापदण्ड अनुसार अब उडान शुरू भएपछि यात्रु विमानस्थलमा आउँदा अनिवार्य रूपमा मेडिकल मास्क लगाउनुपर्ने, कलम आफैंले बोक्नुपर्ने, विमानस्थलमा भीडभाड गर्न नहुने लगायतको व्यवस्था गरिएको छ। साथै, टिकट काट्ने वेला नै स्वास्थ्य विवरण अनिवार्य भर्नुपर्ने व्यवस्था पनि प्राधिकरणले गरेको छ।
आधा क्षमता विकल्प मात्रै
बन्दाबन्दीका कारण तीन महीनादेखि ठप्प आन्तरिक उडान अब खोल्नुपर्ने भन्दै आन्तरिक वायुसेवा सञ्चालकहरूले पहल गरिरहेका छन्। सञ्चालकहरूको संस्थाले नै उडान पूर्ण क्षमतामा सञ्चालन गर्ने अवस्था नरहे ५० प्रतिशत यात्रु राखेर सञ्चालन गर्ने विकल्प सरकारसामु अघि सारेको हो।
कोरोनाभाइरसको जोखिम न्यूनीकरण गर्ने गरी सामाजिक दूरी कायम राखेर उडान गर्दा हरेक वायुसेवाले बीचको सीट खाली राख्नुपर्ने हुन्छ। संघले आन्तरिक उडान पूर्ण क्षमतामा नै खुलाए पनि अहिलेको अवस्थामा ६० प्रतिशतभन्दा बढी यात्रु पाउन नसकिने निष्कर्ष निकाल्दै तत्कालका लागि ५० प्रतिशत क्षमतामा उडान गर्ने विकल्प राखेका हुन्।
सरकारले हाल हवाई इन्धनको मूल्य प्रतिलिटर रु.६५ तोकेकोे छ। यो शुल्क अझै घटाएर हवाई यात्रालाई सर्वसुलभ बनाउन इन्धनमा प्रतिलिटर रु.१० मात्रै नाफा लिनुपर्ने संघले माग गरेको छ। हवाई भाडा निर्धारणमा ४० प्रतिशतसम्म हिस्सा इन्धनको हुने र त्यो जति सस्तो भयो, भाडा पनि सोही अनुसार घटाएर आन्तरिक यात्रुलाई सहज सेवा दिन सकिने संघको तर्क छ।
संघका अनुसार, आधा क्षमतामा सञ्चालन गर्दा हवाई भाडा पनि बढ्नेछ। आधा क्षमतामा उडान गर्दा कम्पनीले सञ्चालन खर्च धान्न नसक्ने भन्दै भाडा बढाउनुपर्ने प्रस्ताव अगाडि गरिएको संघले जनाएको छ।
वायुसेवा कम्पनीका अनुसार, विदेशी यात्रु नहुँदा डलर फेयर नहुने भएकाले सञ्चालन खर्च धान्न ८० प्रतिशतभन्दा बढी अकुपेन्सी हुनुपर्छ। त्यसैले आधा क्षमतामा हुने उडानमा ३० देखि ५० प्रतिशतसम्म नै भाडा बढाउनुपर्ने वायुसेवा सञ्चालकहरू बताउँछन्।
पूर्ण क्षमतामा उडान गर्दा यात्रुको सुरक्षामा ध्यान दिंदै आफैंले व्यवस्थापन मिलाउने र आधा क्षमतामा गर्दा सञ्चालन खर्च धान्न भाडा बढाउनुपर्ने तर्क वायुसेवा कम्पनीले अगाडि सारेका छन्।
पूर्ण क्षमताको पक्षमा बुद्ध एयर
अधिकांश वायुसेवा सञ्चालकहरूले आधा क्षमतामै भए पनि हवाई सेवा सञ्चालन गर्नुपर्ने बताए पनि बुद्ध एयरले भने त्यो विकल्पले धान्न नसकिने जनाएको छ। बुद्ध एयरका वरिष्ठ बजार प्रबन्धक रुपेश जोशी वायुसेवा कम्पनी उसै त समस्यामा परेको बेला थप समस्यामा पार्न नहुने तर्क गर्छन्।
उनी १७ असारदेखि उडान सञ्चालन गर्नेबारे आन्तरिक वायुसेवा कम्पनी र नियामक निकायबीच छलफल भइरहेको र त्यतिवेलादेखि नै पूर्ण क्षमताबाटै उडान हुनुपर्ने बताउँछन्। “यात्रु आधा तर खर्च भने शतप्रतिशत हुने भएकाले सबै वायुसेवा पूर्ण क्षमताकै पक्षमा आउनुपर्छ”, जोशी भन्छन्, “अरुले आधा क्षमतामा उडान गरे पनि बुद्ध एयर चाहिं पूर्ण क्षमताकै पक्षमा छ।”
उनका अनुसार, वायुसेवा कम्पनीबीचको प्रतिस्पर्धाका कारण सामान्य भाडादरमा पनि ८५ प्रतिशतभन्दा बढी अकुपेन्सी हुँदा मात्रै सञ्चालन खर्च उठ्छ। उनी भन्छन्, ‘‘अन्तर्राष्ट्रिय स्तरमा आधा यात्रु राखेर उडानको अभ्यास छैन, अन्तर्राष्ट्रिय हवाई यातायात संघले पनि यात्रु क्षमता घटाउनुपर्छ भनेको छैन।’’
आन्तरिक वायुसेवाले सुरक्षित उडानको मापदण्ड बनाएको र उड्डयन प्राधिकरणले बनाएका सबै मापदण्ड पालना गरेर उडान गर्ने हुँदा यात्रु घटाउनुपर्ने आवश्यकता नरहेको जोशी बताउँछन्। बुद्ध एयरले अब हुने सबै उडानमा यात्रुलाई थप सुरक्षित बनाउन ‘फेस सिल’ निःशुल्क दिने उनको भनाइ छ।
सीम्रिक एयरलाइन्सका प्रबन्धक प्रज्जल थापा पनि आधा क्षमतामा उडान गरेर लाभ लिन नसक्ने बताउँछन्। अधिकांश उडान डलरमा गर्ने वायुसेवालाई सञ्चालन खर्च धान्न ६० प्रतिशत अकुपेन्सी हुनैपर्ने उनको भनाइ छ। “आन्तरिक यात्रु र त्यो पनि क्षमताभन्दा कम यात्रु राखेर सञ्चालन गर्दा चलाउन सकिंदैन”, थापा भन्छन्, “सस्तो टिकट दर पनि बनाउनुपर्ने हुँदा शत प्रतिशत क्षमतामा नै उडान खुलाउनुपर्छ।’’
उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल भने आधा उडान गर्ने विषय छलफलमा आए पनि कुनै टुंगोमा नपुगेको बताउँछन्। सरकारले उडान खुलाए पनि वायुसेवा कम्पनीले सञ्चालन खर्च धान्ने अवस्था नभए उडान हुन नसक्ने उनको बुझाइ छ। “सरकारले आधा क्षमतामा नै उडान गर्न लगाए सम्बन्धित वायुसेवा कम्पनी र नियामक निकायको समन्वयमा भाडा निर्धारण हुनेछ”, उनी भन्छन्।