सन्धिखर्कका कोरोना संक्रमित उपमेयर भन्छन्- निको भएर छिट्टै जनताको सेवामा फर्कन्छु
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका उपमेयर ठाकुरकुमार विक कोरोनाभाइरसबाट संक्रमित भएका छन्। सोमबार अर्घाखाँचीका उनीसहित ३१ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमित भएकाहरु भारतबाट आउँदा बीच बाटोमै मृत्यु भएका ३५ वर्षीय कोरोना संक्रमित युवकसँग सम्पर्कमा रहेकाहरू भएको खुलेको छ। कोरोना संक्रमण भएको विषय उपमेयर विक आफैंले सार्वजनिक गर्दै छिट्टै निको भएर नियमित काममा फर्कने बताएका छन्।
कोरोना संक्रमण भएको विषयमा उनले हिमालखबरलाई यसरी बताए:
मलाई ३/४ दिनदेखि सुक्खा खोकी लागिरहेको छ। बीचमा ज्वरो पनि आयो। शरीर एकदमै थकित थियो। आफ्नो स्वास्थ्य अवस्थाबारे डाक्टरलाई पनि बताएँ। 'मौसम परिवर्तनको समयमा यस्तो सामान्य हो, तातो पानी खानुस्' भन्नुभयो। मैले पनि सामान्य रुपमै लिएँ। कोरोना महामारी विरुद्धको काममा अलि बढी खट्दा आराम र अनिद्राले यस्तो भएको होला भन्ने लागेको थियो।
पछिल्लो समय भारतबाट जिल्लामा आएका मानिसहरुलाई सदरमुकामबाट गाउँगाउँ पठाउने काममा धेरै खटिएँ। यसबीचमा जिल्ला प्रशासन कार्यालय, नगरपालिकाका विभिन्न बैठकमा समेत सहभागी भएँ। रात दिन काममा खट्दा चिसो गढेर खोकी लागेको होला भन्ने भयो। ज्वरो आएपछि एकदिन घरमा आराम पनि गरेको थिएँ। तर, जनप्रतिनिधि भएपछि आफ्नो जिम्मेवारी महत्वपूर्ण भएकाले धेरै आराम गरिनँ। तर, आज बिहान साढे ११ बजे आएको रिपोर्टमा म सहित अर्घाखाँची जिल्लाका ३१ जनामा कोरोनाभाइरस पोजेटिभ देखियो।
मलाई कसरी संक्रमण भयो, ठ्याक्कै भन्न सक्दिनँ। तर, भारतबाट आउने क्रममा लखनऊमा मृत्यु भएका युवाको शव व्यवस्थापन लगायत सम्पूर्ण कार्यमा म सुरक्षाकर्मीसँगै खटिएको थिएँ। त्यसै क्रममा मलाई संक्रमण भएको हुनसक्छ। गएको ९ जेठमा भारतको गुजरातबाट अर्घाखाँचीका लागि दुई बस मानिस आएका थिए। त्यसै क्रममा लखनऊमा एक जनाको मृत्यु भएको थियो।
मृतकको स्वाब संकलन गरेर परीक्षणका लागि प्रयोगशालामा पठाइँदा उनको रिपोर्ट पोजेटिभ आयो। त्यसपछि उनीसँग प्रत्यक्ष सम्पर्कमा रहेका र शव व्यवस्थापन कार्यमा खटिएका मसहित अन्य व्यक्तिहरुको स्वाब लिइएको थियो।
अहिले म घरमै आइसोलेसनमा बसेको छु। घरेलु औषधि, ज्वानो, बेसार, तातोपानी सेवन गरिरहेको छु। कोरोनालाई जितिन्छ भन्ने आत्मबल छ। छिट्टै निको भएर फेरि जनताको सेवामा फर्कन्छु।