महिला फूटबलः दक्षिण एशियाली उपाधि जित्ने दाउमा
पछिल्ला सफलताहरूले उच्च मनोबलमा रहेको नेपाली महिला फूटबल टोली घरेलु मैदानमा दक्षिण एशियाली उपाधि जित्न आतुर छ।
२८ फागुनमा विराटनगरमा शुरु हुने साफ महिला फूटबल च्याम्पियनसिप आयोजक नेपालका लागि धेरै हिसाबले अर्थपूर्ण छ । पहिलो, काठमाडौं बाहिर दक्षिण एशियाली स्तरीय फूटबल प्रतियोगिता पहिलो पटक हुँदैछ ।
भूकम्पमा क्षतिग्रस्त काठमाडौंको दशरथ रंगशाला पुनर्निर्माण नभइसकेकाले विराटनगरले यो अवसर पाएको हो । दोस्रो, अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा एकपछि अर्को सफलताले मनोबल उच्च रहेको नेपाली महिला फूटबल टोली घरेलु मैदानमा पहिलो दक्षिण एशियाली उपाधि जित्ने लक्ष्यसहित अन्तिम तयारीमा जुटेको छ ।
काठमाडौं बाहिर दक्षिण एशियाको प्रतिष्ठित प्रतियोगिता आयोजना गर्ने अवसर पाएकाले विराटनगर महानगरपालिका र प्रदेश–१ सरकारले मन खोलेर आर्थिक सहयोग गरेका छन् । प्रतियोगिताका खेलहरु सञ्चालन हुने शहीद मैदानको स्तरोन्नतिका लागि महानगरपालिकाले रु.१ करोड १५ लाख र प्रदेश सरकारले रु.५० लाख दिएको छ ।
मैदान व्यवस्थापन सहसंयोजक एवं पूर्व फिफा रेफ्री मधुसूदन खनालका अनुसार सुरक्षित मैदानका लागि ८ इन्च माटो राखिएपछि घाँस नपलाएकाले माथिबाटै दूबो रोपिएको छ । प्रतियोगितालाई ध्यानमा राखेर विराटनगरका सडक मर्मत र स्तरोन्नतिको काम तीव्र पारिएको छ । महानगरका मेयर भीम पराजुली प्रतियोगिता उद्घाटनअघि नै भित्री सडकको मर्मत समेत सक्ने गरी दिनरात नभनी काम भइरहेको बताउँछन् ।
महिला फूटबलमा मोरङको गर्विलो इतिहास छ । कुनै बेला राष्ट्रिय महिला फूटबल टोलीमा मोरङका मात्र ९ जना खेलाडी थिए । अहिले पनि राष्ट्रिय टोलीमा तीन जना खेलाडी मोरङकै छन् ।
मोरङ जिल्ला फूटबल संघका अध्यक्ष दिपेन्द्र धिमाल यो प्रतियोगिताले महिला फूटबलको विकासमा महत्वपूर्ण योगदान गर्ने बताउँछन् । “यही प्रतियोगिताकै कारण काठमाडौंपछिको स्तरीय रंगशाला विराटनगरमा बनेको छ, ९ हजार ५०० दर्शक क्षमताको रंगशालामा सोलारबत्ती समेत जडान भएको छ”, धिमाल भन्छन्, “हामीलाई विश्वास छ, यसले महिला फूटबलप्रतिको आकर्षण बढाउनेछ र नयाँ नयाँ खेलाडी उत्पादनमा पनि योगदान गर्नेछ ।”
दाबेदार नेपाल
साफ महिला च्याम्पियनसिपमा नेपाल रहेको समूह ‘ए’ मा भूटान र बाङ्लादेश छन् । यही समूहमा रहेको पाकिस्तानले अन्तिम समयमा सहभागी नहुने निर्णय गरेको छ । समूह ‘बी’ मा साविक विजेता भारतसहित माल्दिभ्स र श्रीलंका छन् । नेपालले समूह चरणको पहिलो खेलमा भूटान र दोस्रो खेलमा बाङ्लादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
सुनसरीको इटहरीमा एक साताको प्रशिक्षण लिएपछि नेपाली टोली अहिले विराटनगरस्थित दिल्ली पब्लिक स्कूलको मैदानमा अभ्यासरत छ । मुख्य प्रशिक्षक हरि खड्काको नेतृत्वमा ६ जना प्रशिक्षक नेपाली टोलीको स्तर सुधार्न लागिपरेका छन् ।
आशलाग्दो कुरा के भने हालसालै मात्र राष्ट्रिय महिला टोलीले ‘२०२० ओलम्पिक्स’ को एशियाली छनोट चरण पार गरेको छ भने १९ वर्षमुनिको महिला फूटबल टोली एशियन च्याम्पियनसिपको दोस्रो चरण पुगेको छ ।
प्रशिक्षक विवेकविक्रान्त अधिकारीका अनुसार साविक विजेता भारतलाई हालसालै उसकै मैदानमा पराजित गरेकाले नेपाली टोलीको मनोबल उच्च छ । “हामीले अहिलेसम्म दक्षिण एशियाको उपाधि जित्न सकेका छैनौं” अधिकारी भन्छन्, “यसपालि हामीसँग त्यो मौका छ, मनोबल पनि उच्च छ ।”
केही समयअघि भारतको उडिसामा सम्पन्न हिरो गोल्डकपमा नेपाली महिला टोलीले भारतलाई पराजित गरेको थियो । “हिरो गोल्डकपमा भारतमाथि जित हात पारेपछि खेलाडीको मनोबल बढेको छ” मुख्य प्रशिक्षक हरि खड्का भन्छन्, “ओलम्पिक छनोट र एशियन च्याम्पियनसिपमा देखिएका कमजोरीलाई पनि हामीले हिरो गोल्डकपमा सुधारेका छौं ।”
साफ च्याम्पियनसिपकै तयारीका लागि नेपालले पछिल्लो समय चीन र म्यानमारमा गएर समेत खेलेको थियो । नेपाली टोलीको लक्ष्य उपाधि नै हो त ? मुख्य प्रशिक्षक खड्का आफ्नो पहिलो लक्ष्य प्रत्येक खेल जित्ने रहेको बताउँछन् ।
“पहिलो खेलमा भूटान र दोस्रोमा बाङ्लादेशलाई कसरी हराउने भन्ने रणनीति अनुसार हामी तयारी गरिरहेका छौं” उनी भन्छन्, “अवश्य पनि लक्ष्य साफ च्याम्पियनसिप जित्ने नै हो । प्रत्येक खेलमा कमजोरी सुधार गर्दै गएकाले उपाधि जित्ने सम्भावना पनि बलियो छ ।”