एक लाखभन्दा बढी संक्रमित हुने १५औँ देश बन्यो साउदी अरब, पाकिस्तानमा पनि संक्रमित एक लाख नजिक
साउदी अरबमा कोरोनाभाइरस संक्रमितको संख्या एक लाख एक हजार ९१४ पुगेको छ । योसँगै धेरै संक्रमित हुने देशको सूचीको १५औँ स्थानमा पुगेको छ ।
आइतबार तीन हजार ४५ नयाँ संक्रमित भेटिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले तथ्याङ्क सार्वजनिक गरेको बीबीसीले जनाएको छ । अहिलेसम्म त्यहाँ ७१२ जनाको मृत्यु भएको छ ।
सर्वाधिक संक्रमित हुने साउदी एसियाको तेस्रो देश हो । सबैभन्दा बढी संक्रमित भारतमा छन् । त्यहाँ संक्रमितको संख्या दुई लाख ५७ हजार ४८६ पुगेको छ ।
त्यसपछि इरानमा एक लाख ७१ हजार ४८९ जना संक्रमित छन् । तर, भारतमा भन्दा इरानमा धेरैको मृत्यु भएको छ । भारतमा सात हजार २०७ र इरानमा आठ हजार २८१ जनाको मृत्यु भएको छ ।
यी तीन देशपछि एसियामा पाकिस्तानमा बढी संक्रमित छन् । त्यहाँ संक्रमितको संख्या ९८ हजार ९४३ पुगेको छ । त्यहाँ अहिलेसम्म दुई हजार दुई जनाको मृत्यु भएको छ ।