तथ्याङ्क लुकाउन थाले कोरोनाभाइरसबाट बढी प्रभावित देश
कोरोनाभाइरसबाट बढी प्रभावित देशहरुले तथ्याङ्क लुकाउन थालेका छन् । पछिल्लो पटक ब्राजिलले सरकारी वेबसाइटबाट महिनौँको तथ्याङ्क हटाएको छ ।
ब्राजिलमा अहिलेसम्म कोरोनाभाइरसबाट झन्डै ६ लाख ९२ हजार प्रभावित छन् । तीमध्ये ३६ हजार ५०० को मृत्यु भएको छ । अब भने ब्राजिलको आधाकारिक तथ्याङ्क बाहिर आउने छैन ।
कोरोनाभाइरस नियन्त्रण गर्न नसकेको भन्दै त्यहाँका राष्ट्रपति जायर बोलसोनारोको आलोचना भइरहेको वेला उनले तथ्याङ्क नै हटाउने निर्णय गरेका हुन् । यो निर्णयको ब्राजिलभित्र विरोध भइरहेको छ।
पछिल्लो समय स्पेनले पनि उपचाररत संक्रमितको संख्या सार्वजनिक गर्न छाडेको छ । नेदरल्याण्ड र स्वीडेनले पनि निको भएका र उपचाररत संक्रमितको तथ्याङ्क सार्वजनिक गरेका छैनन् ।
यसअघि चीनले पनि तथ्याङ्क लुगकाएको अमेरिकाले आरोप लगाएको थिए । चीनले गत मार्चमा तथ्याङ्क अपडेट गर्दै मर्नेको संख्या बढाएपछि अमेरिकाको आरोपलाई बल पुर्याएको थियो ।
यसबाहेक उत्तर कोरिया, तुर्किमिनिस्तान लगायत देशले पनि तथ्याङ्क लुकाएको आरोप लागेको थियो ।