नवलपरासीमा सशस्त्र प्रहरी र स्थानीयबीच झडप: घटनाबारे दुवै पक्षको आ-आफ्नो दाबी
स्थानीय र सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी बलबीच झडप हुँदा ६ जना सुरक्षाकर्मी घाइते भएका छन् । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका बसैयामा खटिएका सुरक्षाकर्मी र स्थानीयबीच भारतबाट रासायनिक मल ल्याएको विषयमा विवाद भएको हो।
घटनाका विषयमा प्रहरी र स्थानीयले फरकफरक तर्क गरिरहेका छन् । यसअघि प्रहरीले चेकजाँज गर्दा एक्कासी आक्रमण भएको बताएको थियो । तर स्थानीयले मल बोकेर आएकी महिलालाई प्रहरीले विनाकारण लाठी प्रहार गरेपछि विवाद भएको जनाएका छन्।
"प्रहरीले महिलालाई मल ल्याउने क्रममा रोकेको थियो । तर, केही महिलालाई पैसा लिएर छोडेपछि एकजना महिला नदिएरै अघि बढिन् । शुरुको प्रहरीले अघि बढ्न दिए पनि अर्को सुरक्षाकर्मीले लाठी हाने । त्यसपछि रुँदै महिला गाउँमा पुगिन् र आक्रोशित स्थानीय प्रहरीमाथि जाइलागेका हुन्", प्रतापुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माले भारतबाट मल ल्याएर आएकी एक महिलाको भनाइलाई उद्धृत गर्दै भने ।
“सीमा क्षेत्रका मान्छेको नुन तेलको बजार पारी हो, सरकारले बन्दाबन्दी गरेको पनि उनीहरूले बुझ्दैनन्,” शर्माले हिमालसँग भने “स्थानीयलाई पारी जानु बाध्यता हो । त्यही क्रममा झडप भइरहन्छ ।” शर्माले यसअघि पनि प्रहरीको कुटाइबाट एक महिला घाइते भएको बताए ।
उता प्रहरीले भने गाउँलेले एक्कासी गुलेली र ढुंगामुढाले आक्रमण गरेको जनाएको छ।
भारतबाट रासायनिक मल लिएर आएका दुई महिलालाई चेकजाँच गर्ने क्रममा एक्कासी सुरक्षाकर्मीमाथि आक्रमण भएको सशस्त्र प्रहरी गण नवलपरासीका एसपी भरत खनियाको दाबी छ । “पूर्व योजना अनुसार नियोजित रुपमा आक्रमण गरियो,” खनिया भन्छन् “सुरक्षाकर्मीले चेक गर्न नपाउँदै आएर एक्कासी ढुंगामुढा गरे ।”
घाइते सुरक्षाकर्मीलाई उपचारका लागि पृथ्वीचन्द्र अस्पतालमा भर्ना गरिएको एसपी खनियाले बताए । घाइतेमध्ये २ जनाको आँखामा गहिरो चोट लागेको छ ।
घटनास्थल नेपाल–भारत सीमा दशगजा नजिक पर्दछ । प्रहरीले स्थानीयलाई तस्कर समूहले प्रयोग गरेर सामानहरू सीमापास गराउने गरेको र सीमा प्रहरीले अवरोध गर्दा आक्रमण भएको बताएको छ ।
घटना आइतबार अपरान्ह साढे ५ बजे भएको हो । गाउँपालिका अध्यक्ष शर्माका अनुसार भोलि गाउँपालिकाका तर्फबाट छलफलको आयोजना गरिएको छ।