सडकका कुकुरकी संरक्षक
गएको ११ चैतमा शुरु भएको बन्दाबन्दीको तेस्रो दिनसम्म रोमी लामा घरमा पालेका कुकुरहरूकै स्याहारमा थिइन् । उनी सडकमा अलपत्र चौपायाको उद्धार गर्छिन् । घरमा ५० वटा कुकुर पालेकी छिन् ।
बन्दाबन्दीको तेस्रो दिन उनलाई सडकका कुकुर र अरु चौपायाको याद आयो । अनि सडकमा निस्किइन् । होटल तथा रेस्टुरेन्ट सबै बन्द थिए । सडक सुनसान थियो । सडकका जनावर खानेकुराको आशामा यताउता भौंतारिइरहेका थिए ।
रोमीले चन्द्रागिरि नगरपालिकाको सडकमा भेटिएका सबै चौपायालाई खाना खुवाउन शुरु गरिन् । एक महीनासम्म खुवाइरहिन् । त्यसका लागि दैनिक ३० केजी चामल पकाउनुपथ्र्यो ।
व्यक्तिगत प्रयासमा खानेकुरा पुर्याउन हम्मे परेको थियो । त्यही वेला उनले आफू जस्तै व्यक्तिगत रुपमा सडक जनावरलाई खुवाइरहेका जोडी भेटिन् । अनि समूह बनाएर खाना खुवाउने सल्लाह भयो ।
मानिसलाई समेत बाँच्न गाह्रो भएको समयमा जनावरलाई खुवाउन आग्रह गर्दा धेरै जनाले उनलाई खिसी गरे । तर, चन्द्रागिरि नगरपालिकाका वडाहरू, पशुपति विकास कोष लगायत विभिन्न व्यक्ति र संस्थाबाट चामल, दाल, चिउरा र नगद समेत सहयोग प्राप्त हुन थाल्यो ।
समूहमा काम गर्दा सजिलो भएको उनी बताउँछिन् । “सडक जनावरहरू बाँच्ने भनेकै होटल, रेस्टुरेन्टले फालेको खानाले हो” उनी भन्छिन्, “बन्दाबन्दीमा सडक जनावरहरू खान नपाई मरेका पनि छन् ।”
त्यो हृदयविदारक घटना बन्यो उत्प्रेरणा
रोमी जनावरका लागि खाद्यान्न लिन चन्द्रागिरि नगरपालिका परिसर जाँदै थिइन् । बाटोमा उनले हृदयविदारक घटना देखिन् । एउटा ज्युँदो बाच्छोलाई केही कुकुरले लुछ्दै थिए । उनी भन्छिन्, “बाच्छो मर्नका लागि तड्पिरहेको थियो । भोका कुकुरहरू उसलाई चारैतिरबाट लुछिरहेका थिए ।” उनले कोशिश गरेर पनि त्यो बाच्छोलाई बचाउन सकिनन् ।
सडकमा अलपत्र परेका कुकुरलाई मात्र खुवाउँदै आएकी रोमीले त्यसपछि गाई र बाच्छाबाच्छीको पनि उद्धार थालिन् । सडकमा चौपायाहरूको बेहाल देखेपछि उनले कालीमाटीका तरकारी व्यापारी नवीन शाहीसँग अनुरोध गरेर मान्छेका लागि खान अयोग्य तरकारी ल्याउने बन्दोबस्त गरिन् ।
रोमीले सडकका भोका जनावर र चौपायाहरूलाई खुवाउन शुरु गरेको दुई महीना भइसकेको छ । अहिले त सडकमा निस्कँदा पनि उनलाई कुकुरले घेर्छन् । उनी भन्छिन्, “तिनका आँखामा हेर्दा ‘बचाउ’ भनेर रोएको देख्छु, त्यसले मलाई निकै पिरोल्छ ।”
पृथ्वीमा जन्मिएका सबै प्राणीलाई बाँच्ने समान अधिकार छ । तर कतिपय मानिस सडक जनावरलाई खाना खुवाउँदा खुशी नहुने उनी बताउँछिन् । कतिपयले त उनलाई नखुवाउन चेतावनीयुक्त गाली पनि गरेका छन् । खानेकुरा खुवाउँदा कुकुरको संख्या बढेको जस्तो गलत सोचाइ भएको उनको भनाइ छ ।
सडकका चौपायालाई बन्दाबन्दीको समय निकै कष्ठकर छ । खाना नपाए सडकका जनावरले मानवमाथि नै आक्रमण गर्ने जोखिम हुन्छ । यस्तो आक्रमणको जोखिम कुकुरबाटै बढी हुन्छ । त्यसैले तिनीहरूलाई खुवाउनु मान्छेको पनि कर्तव्य भएको उनी बताउँछिन् ।
“मेरा आफन्त र सहयोगी मनहरूको सहयोगबाट घर भाडा, सडक, चौपायाका जनावरको उद्धार र रेखदेख गर्छु ।” – राेमी लामा
उनी २०५७ सालदेखि सडकमा रहेका कुकुरको उपचार गर्थिन् । अहिले उपचारसँगै उद्धार पनि गर्छिन् । उनले घरमा ५० वटा सडकका बेवारिसे कुकुर, सात वटा बिरालो र दुई वटा गोरु पालेकी छिन् ।
रेस्टुरेन्ट समेत सञ्चालन गरिरहेकी उनले दुई वर्षमा २५० वटा कुकुरको बन्ध्याकरण गरिसकेकी छिन् । भूकम्पको समयमा पनि सडक कुकुरलाई खाना खुवाउँदै हिंड्दा धेरैले खिसी समेत गरेको उनी सम्झिन्छिन् । “मेरा आफन्त र सहयोगी मनहरूको सहयोगबाट घर भाडा, सडक, चौपायाका जनावरको उद्धार र रेखदेख गर्छु”, उनी भन्छिन् ।
उनी प्रायः सडकका घाइते जनावरको उपचार गर्न भेटरिनरीसम्म लैजाने, सहयोगी मनबाट आउने राहत लिन जाने काममा नै व्यस्त हुन्छिन् । कुकुर प्राकृतिक रुपमा शिकार गर्ने जनावर भएकाले धेरथोर खान दिए आक्रामक हुनबाट बचाउन सकिने उनी बताउँछिन् ।