उडान खुल्ने तय नभए पनि इन्धनको मूल्य घटाएर नयाँ हवाई भाडादर तय
हवाई इन्धनको मूल्य घटेकाले आन्तरिक वायुसेवाको पनि भाडादर घट्ने भएको छ । कोभिड –१९ को जोखिम न्यूनीकरणका लागि बन्द गरिएको उडान खुला हुने मिति तय नभएको नभए पनि अब हुने हवाई उडानमा भने साविकको तुलनामा हवाई भाडा घट्ने भएको वायुसेवा सञ्चालक संघले जानकारी दिएको छ।
हवाई उडान सरकारले १६ असारसम्मलाई बन्द गरेको छ । आन्तरिक वायुसेवा कम्पनी र नेपाल नागरिक उड्डयन प्राधिकरणले भने हवाई उडानलाई सुरक्षा मापदण्ड पालना गरेर खुला गराउने पक्षमा लाग्न थालेका छन् ।
हवाई उडान खुलाउने पक्षमा वायुसेवा कम्पनी रहेकोले पनि हवाई उडानको मिति तय नभए पनि हवाई भाडा घटेको सूचना सार्वजनिक भएको उल्लेख छ।
नेपाल आयल निगमले हवाई इन्धन २० चैत २०७६ मा रु.१० र १६ जेठ २०७७ मा रु.१५ गरी प्रतिलिटर रु.२५ घटाइसकेको छ । निगमले हवाई इन्धनको शुल्क घटाएकाले वायुसेवा कम्पनीले सरकारसँग गरेको २७ जेठ २०७५ को निर्णय अनुसार इन्धनको मूल्य घट्दा हवाई भाडा घट्ने र बढ्दा बढ्ने गरी स्वचालित मूल्य लागू भइरहेको छ।
सोही प्रणाली अनुसार हवाई भाडा घटाउने निर्णय भएको जानकारी वायुसेवा सञ्चालक संघले दिएको छ । हवाई इन्धनको मूल्य हाल प्रतिलिटर रु.६५ रहेको छ । संघका अनुसार हवाई इन्धनको शुल्क अनुसार रु.१२५ देखि रु.११०५ सम्मले हवाई भाडा घटेको वायुसेवा सञ्चालक संघले आइतबार जारी गरेको एक प्रेस विज्ञप्तिमा उल्लेख छ।
यो हवाई भाडा अब तेलको मूल्य न्यूनतम रु.५ नघटेसम्मलाई लागू हुने भएको छ । रु.५ भन्दा बढी तेलको मूल्य घटबढ भएमा हवाई भाडा पुनरवलोकन हुने उल्लेख छ । संघले हवाई इन्धनमा रु.१० भन्दा बढी नाफा नलिन सरकारलाई आग्रह गरेको छ।
हवाई भाडामा इन्धनको हिस्सा ३५ देखि ४० प्रतिशत हुने हुनाले जति इन्धनको मूल्य घट्छ हवाई भाडा उति नै सस्तो हुँदै जाने पनि संघले उल्लेख गरेको छ ।
यस्तै सरकारले विदेशबाट नेपाली ल्याउन वायुसेवा कम्पनीलाई चार्टर उडानको मात्रै प्रक्रिया अगाडि बढाउन दिन खोजेपछि हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले चार्टर उडान वायुसेवा कम्पनीलाई स्वेच्छाले गर्न नदिने भएको छ।
प्राधिकरणले शनिबार एक सूचना जारी गरेरै कूटनीतिक नियोगको सीधा सम्पर्कबाट हुने आकस्मिक उडानबाहेक चार्टर उडान गर्न नपाइने सूचना जारी गरेको छ । प्राधिकरणले स्वास्थ्य सामग्री तथा आकस्मिक उडानको लागि भने अनुमति लिएर उडान गर्न दिने उल्लेख छ।