आइतबारदेखि मौसममा सुधार
आइतबार देखि देशभर मौसममा क्रमिक सुधार हुने अनुमान गरिएको छ। अरब सागरमा रहेको ‘निसर्ग चक्रवात कमजोर भई बनेको न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम भोलि पश्चिमी भूभागबाट विस्तारै सुधार हुँदै जाने बताइएको छ।
वरिष्ठ मौसमविद् मीनकुमार आर्यालका अनुसार, आकाशको बादल र वर्षालाई हेर्दा मनसुन सक्रिय भएकोजस्तो लागे पनि यो मनसुन नभई अन्य प्रणाली हो।
सामान्यतया नेपालमा १० जुन देखि मनसुन शुरु हने गर्दछ। यस वर्ष औषत समयभन्दा एक साता ढिलो मनसुन भित्रिने अनुमान मौसमविद्को छ। नेपालमा मनसुन भित्रिनका लागि दक्षिणपूर्वी हावा बङ्गालको खाडीबाट वायुमण्डलको तल्लो सतहदेखि करीब ६ किलोमिटर माथिसम्म प्रवेश हुनुपर्छ।
अहिले वायुमण्डलको तल्लो सतहमा मात्र त्यस्तो हावाको प्रवेश देखिएको छ। जलवाष्युक्त हावाको वायुमण्डलको माथिल्लो सतहमम्म प्रभाव कायम रहेमा मनसुन शुरु हुने मौसमविद् आर्यालले जानकारी दिए।