रुकुम घटनाको विरोधमा ‘नागरिकको लाशमाथि दुई तिहाइको नाच’
रुकुम पश्चिमको चौरजहारी घटनामा संलग्न व्यक्तिहरूलाई सजायको माग तथा बन्दाबन्दी प्रभावित मजदूर र विपन्न वर्गको जीवनको रक्षा माग गर्दै शिल्पी थिएटरले खबरदारी सडक नाटक प्रस्तुत गरेको छ।
खबरदारीस्वरुप शुक्रबार बत्तीसपुतलीको सडकमा ‘नागरिकको लाशमाथि दुई तिहाइको नाच’ नाटक प्रदर्शन गरिएको संयोजक घिमिरे युवराजले बताए। नाटकमा संगीता उराँव, ओजश्वी भट्टराई, सुनिता कट्टेल, मोहन प्रकाश, गोविन्द ओली, रवि महर्जन, सौगात घिमिरे, सञ्जय आदिको अभिनय थियो। शिल्पीले चारबुँदे माग सहितको प्रेस विज्ञप्ति पनि जारी गरेको छ।
विज्ञप्तिमा नेपालमा कोरोनाभाइरसको महामारी फैलिनु अगावै विभिन्न संकटको वेला आम नागरिक, लेखक, कलाकर्मी, मिडिया र पेशाकर्मीहरूले सरकारलाई त्यसबारे पटकपटक खबरदारी गर्दै आए पनि बेवास्ता गरिएको उल्लेख छ।
यस्तै, नागरिकको करबाट बनेको राज्यकोषको दुरुपयोग गरी महामारी रोकथाममा लापरवाही गर्दा कोरोना संक्रमण फैलिएको विज्ञप्तिमा भनिएको छ।
शिल्पी थिएटरका चारबुँदे माग
१) यस्तो चरम संकटमा प्रधानमन्त्री, मन्त्री तथा सांसदहरुले नैतिकता छ भने १ वर्षसम्म आफ्नो तलब र सुविधाको ५० प्रतिशत रकम राज्यकोषलाई फिर्ता गरुन्।
२) रुकुमको चौरजहारीमा भएको दलित नरसंहारमा संलग्न सबैलाई दण्ड होस्।
३) महामारीको बहानामा लापरबाहीपूर्वक गरिएको लकडाउनको कारण जीवन संकटमा परेका मजदुर तथा विपन्न वर्गको जीवन रक्षा गरियोस्।
४) महामारी रोकथामका लागि सरकारले खर्च गरेको भनिएको १० अर्ब रुपैयाँ कहाँकहाँ खर्च भयो, हिसाब सार्वजनिक गरियोस्।