नेको इन्स्योरेन्सले ८.१६ प्रतिशत नगद लाभांश बाँड्ने
नेको इन्स्योरेन्सले आफ्ना शेयर सदस्यहरुलाई मुनाफाको ८.१६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । नेकोको शुक्रबार सम्पन्न २४ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट लाभांश दिने घोषणा गरेको हो।
नेकोले आर्थिक वर्ष २०७५/७६ मा अघिल्लो आर्थिक वर्षको तुलनामा बीमाशुल्क आर्जनमा पनि १५ प्रतिशतले वृद्धि गर्न सफल भएको उल्लेख गरेको छ । कम्पनीले चालु आव २०७६/७७ को फागुनसम्ममा रु.१ अर्ब ४९ करोड १३ लाख १९ हजार ९७६ बीमाशुल्क आर्जन गरेको छ।
नेकोका अध्यक्ष रमेशकुमार निरौलाले कम्पनीले दिएको प्रतिफल तुलनात्मक रुपमा सन्तोषजनक रहेको उल्लेख गरे । उनले यो अवधिसम्म आइपुग्दा कम्पनीको व्यावसायिक दक्षता अभिवृद्धि गरी गुणस्तरीय र भरपर्दो सेवा प्रदान मार्फत ग्राहकको विश्वास आर्जन गर्न सफल भएको पनि बताए।
संस्थाका प्रमुख कार्यकारी अधिकृत अशोककुमार खड्काले रु.३ करोड चुक्ता पुँजीबाट शुरु भएको नेको इन्स्युरेन्स अहिले मुलुककै सबैभन्दा बढी पुँजी भएको निर्जीवन बीमा कम्पनी बन्न सफल भएको बताए ।
महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणका कारण विश्वकै आर्थिक गतिविधि ठप्प भएको र नेपालमा पनि यसको प्रत्यक्ष असर परेको छ । बीमा कम्पनीमा पर्ने असरलाई कम गर्न नेको इन्स्योरेन्सले आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने जानकारी पनि खड्काले दिएका छन्।
साधारण सभाले रमेशकुमार निरौलाको अध्यक्षतामा पाँच सदस्यीय नयाँ सञ्चालक समिति सर्वसम्मत चयन पनि गरेको छ।