यस वर्षका लागि टर्यो नेपालमा सलहको जोखिम
नेपालमा सलहको जोखिम टरेको छ । संयुक्त राष्ट्रसंघीय कृषि तथा खाद्य कार्यक्रम (एफएओ)ले यस वर्षका लागि नेपालमा सलहको प्रकोप टरेको जानकारी नेपाललाई गराएको हो ।
सलह किराको झुण्ड दक्षिण अफ्रिकाबाट मध्यपूर्व, पाकिस्तान हुँदै भारतसम्म पुगेपछि नेपाल भित्रिन सक्ने सम्भावना रहेको भन्दै सरकारले दुई हप्ताअघि प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईको संयोजकत्वमा प्राविधिक कार्यदल बनाएको थियो।
उक्त कार्यदलका संयोजक हुमागाईले यस वर्ष सलह नेपालमा नआउने निष्कर्ष निकालिएको जानकारी दिए ।
हुमागाईले भारतको राजस्थानसम्म आएको सलहको झुण्ड विभिन्न समूहमा बाँडिएको बताए । त्यसबाहेक नेपालमा मनसुनी वर्षा समेत शुरु भएर सलहका लागि प्रतिकूल हावापानी बनेकाले तत्काल आउन सक्ने सम्भावना नरहेको जानकारी एफएओले गराएको हुमागाईले बताए।
ठूलो झुण्डमा आएको सलहलाई केही दिनअघि दक्षिणी सागरमा विकास भएको अंपुन नामको चक्रावतले पनि तितरबितर पारेको थियो । हुमागाईका अनुसार सलह हावाको विपरीत दिशामा उड्न नसक्ने भएकाले पनि नेपालमा आउन सक्ने सम्भावना टरेको हो।
“नेपालमा मनसुन शुरु भइसक्यो, अहिले पूर्वी वायु पश्चिमतर्फ बहिरहेकाले सलहका लागि अनुकूल अवस्था छैन,” उनी भन्छन् “सफा मौसम र सफा आकाश जता छ, सलह त्यतातिर जान्छ । हामीकहाँ बादल लाग्ने र पानी पर्न थाल्यो, बादल र पानी पर्ने ठाउँ सलहले रुचाउँदैन । त्यसैले पनि सम्भावना टरेको रुपमा बुझेका छौं ।”
पाकिस्तानबाट एउटै झुण्डमा आएको उक्त किरा अहिले भारतका महाराष्ट्र, भोपाल, मध्यप्रदेश लगायत विभिन्न ठाउँमा छरिएको छ।
हुमागाईंका अनुसार सलह नेपाल प्रवेश गरिहाले पनि बच्चा पार्नका लागि यहाँको हावापानी उपयुक्त थिएन, त्यसका लागि मरभूमि नै चाहिन्छ।
यस्तो थियो तयारी
सलह रोकथाम तथा अध्ययनका लागि गठित कार्यदलले छोटो समयमै नेपालका एक सय जना कृषि प्राविधिकलाई एफएओबाट तालिम दिलाएको थियो । त्यस बाहेक सलह किरा नियन्त्रणका लागि केन्द्र, प्रदेश र स्थानीय तहमा टास्कफोर्स बनाउनुपर्ने सुझाव सहितको प्रतिवेदन पनि प्राविधिक समितिले सरकारलाई बुझाएको छ।
कार्यदलका संयोजक हुमागाईंका अनुसार रोग किरा नियन्त्रणका लागि आकस्मिक कोषको व्यवस्थापन गर्न पनि सुझाव दिइएको छ । प्रत्येक वर्ष नयाँ नयाँ किराहरूको प्रकोप बढेकाले त्यसको नियन्त्रण गर्न आवश्यक कोषको व्यवस्थापन गर्न सुझाव दिइएको उनले जानकारी दिए । गतवर्ष अमेरिकी फौजी किराको प्रकोप देखिएको थियो भने तीन वर्षअघि गोलभेंडामा नयाँ जातको किराले सताएको थियो।
नेपाल सलह रोकथाम तथा नियन्त्रणका लागि गठित अन्तर्राष्ट्रिय सञ्जालको सदस्य बनेको छ । यो सञ्जालमा अफ्रिकी मुलुक सहित मध्यपूर्वका साथै भारत पाकिस्तान र मरभूमिसँग जोडिएका देशहरू सदस्य छन् । सञ्जालको समन्वय एफएओले गर्दछ । त्यसका लागि छुट्टै सफ्ट्वेयर बनाएर किराको अनुगमन गर्ने गरिएको छ ।