सरकारले दायित्व वहन गर्ने भएपछि कोरोना बीमा पुन: शुरु
बीमा समितिले कोरोना बीमा स्थगन गर्ने निर्णय गरेको २४ घण्टा नबित्दै पुनः सुचारु गराउन निर्देशन दिएको छ । बीमा कम्पनीको पुँजीभन्दा दायित्व बढी सिर्जना हुने गरी बीमा भइसकेको भन्दै स्थगन गरिएको यो बीमाको दायित्व अब सरकारले पनि व्यहोर्ने भएको भन्दै पुनः सुचारु गर्न बीमा समितिले शुक्रबार नै २० वटै निर्जीवन बीमा समितिलाई निर्देशन दिएको छ।
बीमा समितिका प्रवक्ता राजुरमण पौडेलले भने ‘‘७ वैशाख २०७७ बाट शुरु भएको यो कोरोना बीमा २३ जेठ २०७७ देखि स्थगन गर्ने निर्णय भएको थियो । अब फेरि जोखिम वहनमा नयाँ मोडालिटी तय भएकाले आजैबाट निरन्तरता दिइएको छ।’’
पौडेल भन्छन्, ’’कारोना बीमा जम्मा एक वर्षको लागि भएकाले अब जहिले जारी भएपनि आगामी चैत २०७७ सम्मका लागि मात्रै यस्तो बीमाले जोखिम वहन गर्ने छ। पौडेलका अनुसार अबदेखि फागुनसम्म गरिने बीमाको अवधि चैत २०७७ सम्मलाई मात्रै हुन्छ । त्यसपछि यो बीमा हुने छैन।’’
सरकार, बीमा कम्पनी, बीमा समिति, नेपाल पुनर्बीमा कम्पनीसहितले जोखिम वहन गर्ने गरी नयाँ मोडालिटी तय भएकाले तुरुन्तै कोरोना बीमा शुरु गर्ने निर्णय भएको पौडेलले जानकारी दिए । नयाँ मोडालिटी अनुसार पहिलो १० हजारकाे जीवन बीमा सम्बन्धित बीमा कम्पनीबाट, दोस्रो १० हजारकोे नेपाल पुनर्बीमा कम्पनीबाट, ५ हजार बीमा कम्पनीहरुको महाविपत्ति कोषबाट, १० हजार बीमा समितिको कोषबाट गरेर ३५ हजार सम्मको जोखिम बहन हुने छ।
त्यसपछि ३५ हजार भन्दा बढीको जीवनको जोखिम भने नेपाल सरकारले व्यहोर्ने गरी नयाँ मोडालिटी तय भएपछि कोरोना बीमाले निरन्तरता पाएको हो । कोराना बीमा हालसम्म ३ लाख जनाले गरिसकेका छन्।