कोरोना महामारीबाट उत्पन्न बेरोजगारीले जैविक विविधता नाशिने चिन्ता
कोरोनाभाइरस महामारीका कारण बेरोजगारी समस्या बढ्दा त्यसको चाप वनजंगल र वन्यजन्तुमा परेर जैविक विविधता नाशिन सक्ने वातावरण क्षेत्रका विज्ञहरुको चिन्ता छ।
कोरोनाभाइरस संक्रमणको शुरूआती दिनमा विश्वव्यापी रूपमा बन्दाबन्दी हुँदा वायु प्रदूषणमा सुधार आए पनि संक्रमण घटेसँगै प्रदूषण पुरानै अवस्थामा फर्कंदैछ।
स्पेस डटकममा प्रकाशित एक रिपोर्ट अनुसार, चीनको आकाशमा वायु प्रदूषणको अवस्था पूर्ववत् अवस्थामा फर्किएको छ। ग्रिनपिस चाइनाले ८ मे २०२० सार्वजनिक गरेको रिपोर्टलाई आधार बनाएर प्रकाशन गरिएको उक्त रिपोर्टमा यस वर्षको अप्रिल महीनाको वायु प्रदूषण गएको वर्षको अप्रिलमा भन्दा बढेको पाइएको उल्लेख छ।
कोरोनाभाइरसको उत्पत्ति भएको चीनमा गएको जनवरी–फेब्रुअरीमा वायु प्रदूषणको मात्रा ४० प्रतिशतसम्म घटेको थियो।
वातावरण क्षेत्रका विज्ञहरू महामारीका कारण वायु प्रदूषणको मात्रामा सुधार आए पनि त्यो दीर्घकालीन नभएको बताउँछन्।
जलवायु विज्ञ युगान मानन्धर भाइरस संक्रमणको अन्त्यपछि विश्वव्यापी रुपमा प्रदूषणको अवस्था झनै भयावह हुने सम्भावना देख्छन्। कोरोना महामारीका कारण थिलथिलो बनेको अर्थतन्त्रलाई चलायमान बनाउन सबैजसो देशहरूले उद्योगधन्दालाई प्राथमिकता दिंदा प्रदूषणको मात्रा झन् बढ्ने उनको तर्क छ। “जहाँ–जहाँ संक्रमण कम भयो, त्यहाँ प्रदूषणको मात्रा पुरानै अवस्थामा आइसक्यो”, मानन्धर भन्छन् “यो महामारीबाट पाठ सिकेर प्रदूषण कम गर्न ध्यान दिनुपर्नेमा त्यस्तो देखिएको छैन।”
कोरोनाभाइरस रोकथामका लागि गरिएको बन्दाबन्दीपछि विश्वमा सबैभन्दा प्रदूषित भनेर कहलिएका शहरमा वायुको गुणस्तरमा व्यापक सुधार आएको थियो।
"महामारीका कारण उत्पन्न बेरोजगारीको असर वनजंगल तथा वन्यजन्तुमा पर्नसक्ने जोखिम छ। यसैले हामीले अहिले वायु प्रदूषण घट्यो भन्दै तत्कालीन अवस्था हेरेर रमाएर हुँदैन, महामारीले दीर्घकालमा पर्यावरणमा ल्याउने चुनौतीतर्फ सचेत हुनुपर्छ।”
- डा. कृष्णप्रसाद ओली, सदस्य, राष्ट्रिय योजना आयोग
नेपालस्थित ग्लोबल इन्स्टिच्यूट फर इन्टरडिस्प्लीनरी स्टडिज, जर्मनी र अष्ट्रेलियाका अनुसन्धानकर्ताहरूले गरेको अनुसन्धानले वायुको गुणस्तरमा उल्लेख्य सुधार आएको देखाएको हो। इन्स्टिच्यूटका तर्फबाट ६ वटा महादेशका ३५ देशका ४० शहरको वायु प्रदूषणको अवस्थाबारे गरिएको अनुसन्धान ‘अर्थ आर्जिभ’ जर्नलमा प्रकाशन गरिएको थियो।
बन्दाबन्दीका कारण संसारकै प्रदूषित शहरहरू दिल्ली, बैंगलोर, बैंकक, बेइजिङ, नांनजिङ, वुहानमा धूलोको मात्रा उल्लेख्य कम भएको थियो। तर, बन्दाबन्दी खुल्दै जाँदा ती शहरहरू पुरानै अवस्थामा फर्किंदैछन्।
जोखिममा जैविक विविधता
कोरोनाभाइरसको महामारीपछि वातावरणमा सुधार आइरहेका वेला जैविक विविधतामा ह्रास आउन सक्ने चिन्ता थपिएको छ। वातावरण क्षेत्रका जानकारहरु महामारीले तत्कालका लागि प्रदूषण कम भए पनि यसले थपेको आर्थिक र सामाजिक समस्यका कारण जैविक विविधता नाशिने खतरा रहेकाले सतर्क रहनुपर्ने बताउँछन्।
राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओली महामारीका कारण उत्पन्न बेरोजगारीको असर वनजंगल तथा वन्यजन्तुमा परेर जैविक विविधता नष्ट हुनसक्ने बताउँछन्। उनी भन्छन्, “तत्कालीन अवस्था हेरेर रमाएर हुँदैन, महामारीले दीर्घकालमा पर्यावरणमा ल्याउने चुनौतीतर्फ सचेत हुनुपर्छ।”
नेपालमा पनि बन्दाबन्दी शुरू भएपछि वन फँडानी र वन्यजन्तुको तस्करीका घटना बढेको पाइएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र जिल्लास्थित डिभिजनल वन कार्यालयको तथ्यांक अनुसार, देशभर बन्दाबन्दीको वेला वन्यजन्तु चोरी तस्करीमा संलग्न १०० जना पक्राउ परेका छन्।
विश्वमै बासस्थान विनाशको कारण दैनिक करीब १४० प्रजातिका वनस्पति तथा प्राणी लोप हुँदै गएको विभिन्न अध्ययनले देखाएका छन्। जस अनुसार वर्षेनि करीब ५० हजार प्रजाति हराइरहेका छन्। जैविक विविधता विनाशको यही रफ्तार कायम रहे सन् २०५० सम्ममा ५० प्रतिशत जीव तथा वनस्पति लोप भएर जाने वैज्ञानिकहरूले आकलन गरेका छन्।
जुलोजिकल सोसाइटीका अनुसार सन् १९७० यता मानवीय क्रियाकलापका कारण पृथ्वीमा भएका करीब एक तिहाइ वन्यजन्तु लोप भैसकेका छन्। भविष्यमा यस्तो अवस्था निम्तिन नदिन विकास र संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने वातावरणविद्हरू बताउँछन्।