क्वारेन्टिनमा बसेका गर्भवतीहरु भन्छन्, ‘कोरोना जाँच नहुँदा गर्भको बच्चाको चिन्ता छ’
कैलालीका विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा बस्दै आएका गर्भवती काेराेना चेक जाँच नहुँदा गर्भमा रहेकाे बच्चालाई लिएर तनावमा छन् ।
– उन्नती चौधरी, कैलाली
कैलारी गाउँपालिका–१ स्थित दीपेन्द्र माध्यमिक विद्यालयकाे क्वारेन्टिनमा बस्नेमा २ जना गर्भवती छन् । भारतको विभिन्न ठाउँबाट ७४ जनाको समूहमा सँगै आएकी कैलारी २ की २७ वर्षीया आशा विक १६ जेठमा पञ्जाबबाट आएकी हुन् । उनी ८ महिनाको गर्भवती छिन् । श्रीमान् ३ महिना अघि नै आमाको काजकिरिया गर्न नेपाल आए र यतै बन्दाबन्दीमा परे उनी उताको बन्दाबन्दीमा फसिन् ।
भारतमा हुँदा ५ महिनासम्म गर्भ जाँच गरिनन्, त्यसपछि कोरोना कारण देखाउँदै पञ्जाबको विभिन्न अस्पतालले फर्काइदियो । उनका अनुसार त्यहाँ आधार कार्ड भए मात्रै गर्भ जाँच हुन्थ्यो ।
नेपालमा त जाँच गराउन पाइएला भनेरै आएकी थिएँ तर कहिलेसम्म क्वारेन्टिनमा बिताउनु पर्ने हो, निराश हुँदै आशाले भनिन् । बच्चाको अवस्था कस्तो होला भन्ने मनमा लागिरहने उनी बताउँछिन् । भन्छिन्, ‘गाडीमा आउँदा भोकतिर्खामै हुनु त सबैको समान समस्या हो तर आशालाई सबैभन्दा ठूलो चिन्ता लामो गाडी यात्राले पेटको बच्चालाई असर पर्ने हो कि भन्ने थियो, त्यसपछि काखमा भएको दुई वर्षको बच्चाको । काखको बच्चाले बाटोमा न खायो, न निदायो रोएको रोएई । बाटोमा खान उनले रोटी बोकेकी थिइन् ।
याे पनि हेर्नुहाेस्– नौ महीनाकी गर्भवतीको पिरलो : श्रीमान् भारतमा छट्पटाइरहेका छन्, म यता
तीन दिनको गाडीको यात्रामा काखमा २ वर्षको बच्चा र ८ महिनाको गर्भका कारण ठूलो पेट भएर हुने असहजता गर्भको बच्चाको चिन्ता अगाडि फिक्का लागे जस्तो गरी भन्थिन्, आफूले त तातो चिसो, भोकतिर्खा त्यस्तै हो, बच्चालाई चाहिँ झन् बढी असर पर्यो कि?’ बच्चाको स्वास्थ्यसँग यस्ता अनेकन् प्रश्न त आउँछ तर अर्को बच्चाको रेखदेख गर्दागर्दै क्वारेन्टिनको एउटा कोठामा २४ घण्टा बित्छ । भन्छिन्, उता बस्दा त कहीँ निस्केको थिएनौं, तर त्यस्तो भिडमा आएको काखको बच्चाले मास्क लगाउन पनि मानेको थिएन, कोरोना पो लाग्यो कि ? तर न कोरोना जाँच भएको छ न गर्भ जाँच? उनी निकै डराएकी छिन् ।
गुजरातबाट आएकी कृष्णा जोशी पनि ६ महिनाको गर्भवती छिन् । उनीसँग ४ वर्षको बच्चा र श्रीमान् साथमै छन् । गौरीफन्टा नाका खुलेपछि १५ जेठमा नेपाल आएकी उनी अहिले आशासँगै एउटै क्वारेन्टिनमा छिन् । उनको पनि इच्छा चाँडै कोरोना र गर्भ जाँच गर्न पाए हुन्थ्यो भन्ने लागेको छ । लामो बाटो भिडमा आएको कोरोना देखिने हो कि ?
आफू मात्रै भए त ठिकै हुन्थ्यो पेटको बच्चाको झन् बढी चिन्ता लाग्दोरहेछ, आशाको जस्तै अनुभव सुनाइन् । गर्भवती हुँदा नियमित खाने आइरन चक्की पनि खान नपाएको उनले बताइन् । सो क्वारेन्टिनमा अन्य ७४ जनासँग उनी बस्छन्, दुई गर्भवतीका लागि एउटा कोठा दिइएको छ । भन्छन्, खाने र बस्ने व्यवस्था राम्रै छ तर कोरोना भएको गरे पनि कोरोना चेकजाँज नभएका कारण उनीहरु थप चिन्तित भएका छन् ।
याे पनि हेर्नुहाेस्– दैनिक क्वारेन्टिन खर्च ८१ लाख ! सीमाका स्थानीय तहलाई खर्च धान्नै गाह्रो
कैलारी गाउँपालिका वडा नं. १ मझरा गाउँका २१ वर्षिया सावित्रा चौधरी पनि ७ महिनाको गर्भवती छिन् । कपिलवस्तुमा इट्टाभट्टामा काम गर्ने उनी श्रीमान र ६ वर्षिया छोरीसँगै २१ जेठमा कैलारी पुगेर सोही गाउँपालिकाको जनसेवा आधारभूत विद्यालयमा बस्दै आएका छन् । उनको पनि तीन महिनायता गर्भ जाँच भएको छैन । अहिले त झन् कोरोना पनि देखियो कि भन्ने चिन्तामा उनी छिन् ।
कैलारी गाउँपालिकाको ९ वटा क्वारेन्टिनमा ५ जना गर्भवती रहेको गाउँपालिकाले जनाएको छ । उनीहरु कसैले पनि कोरोना संक्रमणको जाँचसेमत भएको छैन भने आइरनचक्की पनि खान नपाएको बताउँछन् । गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी सत्गौंवा सबैको कोरोना परीक्षण गर्न संभव नभएको र गर्भवतीहरुको मात्रै गर्दा विरोध आउने हो कि भन्ने लागेको बताउँछिन् ।
धनगढी नगरपालिका १ बसन्तटोलका सविना वम जेठ १२ गते गुजरातबाट धनगढी आईपुगिन् । उनी ६ महिनाको गर्भवति छिन् । हाल उनी त्रिनगर माध्यामिक विद्यालयको क्वारेन्टिनमा श्रीमानसँगै आएकी छिन् । विद्यालयको बाहिरपट्टीमा ३ वटा बेन्च जोडेर सुत्ने ठाउँ बनाएका छन् । सबिनाले पनि गर्भ जाँच, कोरोना परीक्षण र आइरन चक्की खान समेत नपाएको बताइन् । क्वारेन्टिनमा गर्भवती भनेर पोषिलो खानेकुरा त सँभवै नहुने उनले बुझेकी छिन् ।
याे पनि हेर्नुहाेस्– गर्भवतीले नियमित जाँच र खाेप समेत पाएनन्