विश्वमा उपचाररत कोरोनाभाइरस संक्रमितभन्दा निको हुनेको संख्या धेरै
विश्वमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमितको संख्या करीब ६६ लाख ९८ हजार पुगिसकेको छ । तीमध्ये उपचाररतभन्दा निको भएका संक्रमितको संख्या धेरै छ ।
अहिलेसम्म ३२ लाख ४४ हजार ४२३ कोरोनाभाइरस संक्रमित निको भइसकेका छन् । ३० लाख ६० हजार २१३ जना भने अहिले पनि उपचारकै क्रममा छन् । जसमध्ये दुई प्रतिशत अर्थात ५५ हजार ४६० जना गम्भीर छन् ।
कोरोनाभाइरसबाट विश्वमा अहिलेसम्म तीन लाख ९३ हजार १२७ जनाको मृत्यु भएको छ । कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित हुने देश अमेरिका हो । त्यहाँ अहिलेसम्म एक लाख १० हजार १७३ जनाको मृत्यु भइसकेको छ ।
अमेरिकामा सबैभन्दा बढी संक्रमित छन् । त्यहाँ संक्रमितको संख्या १९ लाख २४ हजारभन्दा धेरै पुगिसकेको छ ।
एक लाखभन्दा बढी संक्रमित हुने देशको संख्या १४ पुगिसकेको छ । पछिल्लोपटक मेक्सिकोमा संक्रमितको संख्या एक लाख नाघेको छ । अमेरिका, ब्राजिल, रुस, स्पेन, बेलायत, इटाली, भारत, जर्मनी, पेरु, टर्की, इरान, चिली र मेक्सिकोमा एक लाखभन्दा बढी संक्रमित छन् ।
यीमध्ये स्पेन, फ्रान्स, इटाली, जर्मनी र बेलायतमा संक्रमण नियन्त्रणको क्रममा छ । एसियाका दुई देश भारत र इरानमा मात्र एक लाखभन्दा बढी संक्रमित छन् ।
भारतमा संक्रमितको संख्या दुई लाख २६ हजार ७१३ पुगिसकेको छ । धेरै संक्रमित हुने देशमध्ये भारत सातौँ स्थानमा छ ।
यसबाहेक क्यानडा र साउदी अरबमा संक्रमितको संख्या ९० हजार नाघिसकेको छ । दक्षिण एसियाली देश पाकिस्तानमा ८५ हजार २६४ र बंगलादेशमा ५७ हजार ५६३ संक्रमित छन् ।