जाेखिम अधिक भएपछि कोरोना बीमा बन्द
नेपालमा पहिलो पटक नयाँ प्रकारको बीमालेख शुरु गरिएको भन्दै व्यापक चर्चा गरेर शुरु भएको कोरोना बीमा स्थगित भएको छ । बीमा कम्पनीहरुको पुँजीभन्दा दायित्व धेरै भएकाले थप बीमालेख बिक्री गर्न नसकिने भन्दै कोरोना बीमा हाललाई बन्द भएको हो।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले ७ वैशाख २०७७ बाट शुरु भएको कोरोना बीमा तत्काललाई स्थगन गर्ने निर्णय भएको जानकारी दिए । उनले भने ‘‘हालसम्म ३ लाख जनाको बीमा भइसकेको छ । यसबाट बीमा कम्पनीलाई प्रति बीमालेख रु. १ लाखका दरले पनि रु.३० अर्ब रुपैयाँको दायित्व सिर्जना भएको छ।
अहिलेको अवस्थामा निर्जीवन बीमा कम्पनीहरुको रु. १ अर्बका दरले रु.२० अर्ब र नेपाल पुनर्बीमा कम्पनीको रु.१० अर्बको पुँजी छ । यो हिसाबले पनि अब बीमा गरिरहँदा पुँजीभन्दा दायित्व बढी हुने भएकाले हाललाई स्थगन गरिएको हो।’’ नेपालमा काेराेना संक्रमितकाे संख्या बिहीबार साँझसम्म २६३४ जना पुगेकाे छ ।
‘‘सरकारले बजेट मार्फत कोरोना बीमालाई सम्बोधन गरेको छ । कोरोना बीमा गर्न सरकारी कर्मचारीको ५० प्रतिशत बीमा शुल्कमा छुट दिने गरी बजेटले सम्बोधन गरेको हुनाले सरकारसँगको समन्वयमा पुनः शुरु गर्ने गरी हाललाई आज बिहीबारकै मितिदेखि कोरोना बीमा नगर्ने निर्णय भएको छ’’ पौडेलले बताए।
उनका अनुसार कोरोना बीमाको प्रस्ताव नेपाल बीमक संघको प्रस्तावबाट आएको थियो । संघले अहिले कोरोना संक्रमितको संख्या बढिरहेको, जोखिम बढेकोले कम्पनीले धान्न नसक्ने अवस्थामा बीमा गरिरहनु उपयुक्त नहुने भन्दै स्थगन गर्न गरेको प्रस्तावलाई बीमा समितिले सहमति दिएको उल्लेख छ।
अब कोरोना बीमाको ढाँचा परिवर्तन गरेर पुनः जारी गर्ने विषयमा छलफल अगाडि बढ्ने छ । कति समय लाग्ने भनेर अहिले नै भन्न नसकिने भएपनि पुनः शुरु हुने बीमा समितिका कार्यकारी निर्देशक पौडेलले बताएका छन्।
बीमाको सिद्धान्त अनुसार दोहोरो बीमा हुन नहुने र दाबी भुक्तानी पनि दोहोरो पर्न नहुने भएकाले अहिले भएकाको बीमालाई दोहोरो नपर्ने गरी गराउने ढाँचा पनि बन्ने जानकारी समितिले दिएको छ । अहिले भइसकेको बीमाको भने दाबी भुक्तानी पाउने समितिको भनाइ छ।
हाल यस्तो कोरोना बीमा निर्जीवन बीमा कम्पनीले मात्रै गर्दै आएका छन् । नेपालमा २० वटा निर्जीवन बीमा कम्पनी छन् । अहिले भएको कोरोना बीमाको जोखिम बहन भने २० प्रतिशत नेपाल पुनर्बीमा कम्पनीले र ८० प्रतिशत २० वटा निर्जीवन बीमा कम्पनीबाट व्यहोर्ने उल्लेख छ।
बीमा समितिले नेपाल पुनर्बीमा कम्पनीसँगको सहकार्यमा नै कोरोना बीमा ल्याएको थियो । पुनर्बीमा कम्पनीले कोरोनाको बीमा गर्ने अर्को कम्पनी नपाएको र अहिलेको अवस्थामा जोखिम बढी भएकोले उपयुक्त ढाँचा बनाएर मात्रै पुनः निरन्तरता दिन सकिने विषयमा छलफल भएको शिखर इन्स्योरेन्सका (प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपप्रकाश पाण्डेले बताउँछन् । पााण्डे भन्छन्, ‘‘हाललाई स्थगन गर्ने बीमा समितिबाट पत्र आएको छ । अब गरिने बीमामा नयाँ ढाँचा बनाएर मात्रै अगाडि बढिने छ ।’’
कोरोना बीमा गर्दा रु.५० हजारको लागि प्रतिव्यक्ति रु.५ सय र रु. १ लाखको लागि रु.१ हजार प्रिमियम तिर्नुपर्छ । परिवारको सदस्यले गर्दा भने ५० हजारको लागि प्रति व्यक्ति रु.३ सय र रु.१ लाखको लागि भने प्रतिव्यक्ति रु.६ सय प्रिमियर लाग्ने छ।
डिजिटल वालेटबाट तिर्दा भने कुल बीमाशुल्कको अतिरिक्त रु.२० थप शुल्क लिने गरेका थिए।
सरकारले कोरोनाको उपचार निःशुल्क गरिदिने भए पनि बीमाको पैसाले भने अन्य खर्च गर्न सकिने उल्लेख छ । यस्तो पैसाबाट कुरुवा, अस्पताल आवतजावत, पोषकतत्व खरीदलगायतमा खर्च गर्न सकिने गरी कोरोना बीमालेख ल्याइएको थियो।