बन्दाबन्दीमा जबरजस्ती पसल नखोल्न आग्रह
व्यापारीले बन्दाबन्दी उल्लंघन गरेर बिहीबारदेखि पसल खोल्न थालेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले जबरजस्ती पसल नखोल्न आग्रह गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका तीन वटै प्रमुख जिल्ला अधिकारीको बिहीबारको बैठकले बन्दाबन्दी अवधिभर जबरजस्ती व्यापार व्यवसाय नखोल्न सम्बन्धित व्यावसायिक प्रतिनिधिलाई आग्रह गरेका छन्।
पसल खोल्न थालेपछि सम्बन्धित व्यावसायिक प्रतिनिधिलाई बोलाएरै बन्दाबन्दीको पालना गर्न आग्रह गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । उनले भने ‘‘व्यवसायीले राखेका माग जायज भएपनि नेपाल सरकारले निर्णय नगरेसम्म जबरजस्ती नगर्न गरिएको आग्रहलाई उनीहरुले स्वीकार गरेर फर्किएका छन्।’’
दाहालले व्यवसायीले राखेको मागलाई सकारात्मक रुपमा हेरिएको र कोभिड–१९ उच्चस्तरीय समितिसमक्ष यो विषय अवगत गराउने जानकारी पनि दिए । सरकारले पनि बन्दाबन्दी खुकुलो बनाउने विषयमा गृहकार्य गरिरहेको छ । ३२ जेठसम्म सरकारले औपचारिक रुपमै बन्दाबन्दी घोषणा गरेको छ । सरकारले नै खुकुलो बनाउने निर्णय नगरेसम्म बन्दाबन्दीको पालना गराउन लगाउनुको विकल्प नभएको पनि दाहाल बताउँछन्।
नेपाल राष्ट्रिय व्यवसायी महासंघ अध्यक्ष नरेश कटुवालले भने पसल खोल्ने विषयमा जिल्ला प्रशासन सकारात्मक भएकोले सोही अनुसार अहिले खुला भएका पसलहरु निरन्तर हुने बताए । जबरजस्ती पसल खोल्ने होइन भन्नुको अर्थ सामाजिक दूरी पालना गरेर र स्वास्थ्य सजगता अपनाएर जाने भन्ने विषय भएको पनि कटुवाल बताउँछन्।
उनले भने ‘‘समाजिक दूरी कायम गर्ने र सुरक्षाका मापदण्डलाई अवलम्बन गर्दै पसल खोल्न अवरोध नगर्ने निर्णय भएको छ । सोही अनुसार सबै पसलहरु खुला हुन्छन् ।’’ सरकारले छिटोभन्दा छिटो नयाँ मोडालिटी ल्याउने तयारी गरिरहेकोले सरकारले ल्याउने नयाँ मापदण्डलाई पालना गर्ने विषयमा जिल्ला प्रशासन कार्यालयमा सहमति भएर फर्किएको जानकारी पनि अध्यक्ष कटुवालले दिए।