अर्थतन्त्र चलायमान बनाउन व्यापारिक क्षेत्र जुर्मुरायो
उपत्यकाभित्रका व्यापारिक पसल आजदेखि खोल्न शुरु भएको छ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बिहीबारबाट उपत्यकाका साना तथा मझौला उद्योग व्यवसाय खोलेर अर्थतन्त्रलाई चलायमान बनाउन प्रयास गरेको बताएकाे छ।
महासंघका उपाध्यक्ष हरि गौतमले भने ‘‘बन्दाबन्दीको बीचमा पसल तथा व्यापारिक क्षेत्र खुला गरेर सरकारलाई दबाब दिने र विरोध नगरी अर्थतन्त्र चलायमान गराउन सहयोग गरिएको हो’’, उनले भने ‘‘चैत ११ देखि निरन्तरको बन्दाबन्दी अझै जारी रहेकाले करीब तीन महीनादेखि आर्थिक गतिविधि ठप्प भयो जसका कारण दैनिकी चलाउनै समस्या भएकोले व्यवसाय खोल्ने निर्णय गरिएको हो । ’’
महासंघले बिहीबारदेखि दैनिक रुपमा विहान ११ बजेसम्म पसल तथा व्यवसाय सञ्चालन गराउन थालेको छ । बन्दाबन्दीलाई सहयोग गर्दै सबै व्यवसायीले ११ बजेपछि भने बन्द गर्ने गरी व्यवसाय सञ्चालन शुरु गरिएको उनको भनाइ छ।
गौतमका अनुसार महासंघको यो निर्णयपछि काठमाडौं उपत्यकाभित्रका अघिकांश पसलहरु अब खुला हुँदै जानेछन् । महासंघमा भोटेबहाल तयारी व्यापार, नेपाल जुत्ता चम्पल संघ, नेपाल व्यापार संघसहितका विभिन्न २१ वटा संस्थाका करीब १० हजार व्यवसायी आबद्ध रहेको पनि गौतमले जानकारी दिए।
बन्दाबन्दीपछि ठप्प भएको आर्थिक गतिविधिका कारण साना तथा मझौला व्यवसायीकाे चीनबाट आएको करीब १५ सय ट्रक सामान केरुङ नाकामा नै अड्किएको छ। अब यो सामान ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन पनि महासंघले सरकारसँग आग्रह गरेको महासंघको भनाइ छ।
व्यवसायीले आवश्यक सुरक्षा मापदण्डलाई पालना गरेर व्यापार व्यवसाय सञ्चालन थालेको बताएका छन् । व्यापार व्यवसाय सञ्चालन सम्बन्धमा बिहीबारै काठमाडौं जिल्ला प्रशासन कार्यालयले व्यवसायीलाई छलफलका निम्ति बोलाएको छ । व्यवसायीले आवश्यक सुरक्षा मापदण्ड पालना गरेर व्यवसाय गरेकाले यसलाई निरन्तरता दिन आग्रह गरेको पनि गौतमले बताए।
व्यवसाय ठप्प हुँदा सबै व्यवसायी समस्यामा परेको, व्यवसायीमाथि परेको आर्थिक चापका कारण दैनिकी सञ्चालनमा नै समस्या पर्न थालेको उल्लेख गरेका छन्। व्यवसायीले घरभाडा, ब्यांकको ब्याज, किस्ता, कर्मचारीको तलबका लागि समस्या भएकाले पनि अब व्यापार व्यवसाय निरन्तर सञ्चालन हुने बताएका छन्।
यसैबीच बिहीबारै नेपाल चेम्बर अफ कमर्सले बन्दाबन्दी खुकुलो पारेर व्यापार व्यवसाय सञ्चालन गर्न सरकारसँग आग्रह गरेको छ । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मीसँग भेटेरै कोभिड—१९ बाट बच्न सुरक्षाका विभिन्न उपाय अपनाई बन्दाबन्दीलाई खुकुलो पारेर व्यवसायलाई आर्थिक चलायमान गर्नुपर्ने सुझाव पनि दिएका छन्।