देशकै ठूलो सोलार आयोजनाबाट पहिलो चरणको बिजुली उत्पादन शुरु
नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माणाधीन ग्रिडमा आबद्ध सोलार आयोजनाको १.२५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ।
२५ मेगावाट क्षमताको सोलार आयोजनामध्ये बुधबारबाट पहिलो चरणमा १.२५ मेगावाट सञ्चालनमा आएको हो। आयोजनाको १० मेगावाट विद्युत् डेढ महीनाभित्रमा राष्ट्रिय प्रसारण लाइनमा जोडिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। बाँकीको काम अगाडि बढिरहेको तर प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन स्वीकृतिको प्रक्रियामा रहेकाले निर्माणमा समय लाग्नेछ।
दिउँसो घाम लागेका आधारमा १.२५ जडित क्षमताको ८० देखि ९० प्रतिशतसम्म ऊर्जा उत्पादन हुनेछ। प्राधिकरणको स्वामित्वमा रहेको देवीघाट विद्युत् केन्द्रको नाममा रहेको जग्गामा राखिएको सोलार प्यानल मार्फत दिउँसो उत्पादित विद्युत् सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो। ब्याट्री नराखिएकाले घाम लागेको समयमा मात्रै सोलार प्लान्टबाट विद्युत् उत्पादन हुनेछ। २५ मेगावाट जडित क्षमताको ग्रिडमा आबद्ध नेपालकै सबैभन्दा ठूलो सोलार आयोजना हो।
वैशाखभित्रमा १५ मेगावाट ग्रिडमा जोड्ने तयारी गरिएपछि बन्दाबन्दीका निर्माण प्रभावित हुँदा केही ढिला भएको घिसिङले बताए। देवीघाट विद्युत केन्द्रको कर्मचारी आवास क्षेत्र नजिक रहेको खाली जग्गामा १० मेगावाट र पावर हाउस नजिक रहेका तीन ठाउँमा ५ मेगावाट विद्युत् उत्पादन गर्न सक्ने सोलार प्यानलको जडान गरिएको छ। अहिले देवीघाट विद्युतगृह नजिकको एक ठाउँमा राखिएको प्यानलबाट उत्पादन भएको विद्युत् प्रणालीमा जोडिएको हो। एउटा प्यानलबाट २ सय ७५ वाट विद्युत् उत्पादन हुनेछ। एक मेगावाट उत्पादन गर्ने प्यानल राख्न २० रोपनी जग्गा प्रयोग गरिएको छ।
देवीघाट विद्युतगृह नजिकै सोलार आयोजनाबाट उत्पादित विद्युत् जडानका लागि ६६/३३ केभीको नयाँ सबस्टेसन पनि निर्माण भइरहेको छ। सबस्टेसन निर्माणमा केही समय लाग्ने देखिएकाले हाल चालू अवस्थामा रहेको ३३ केभी प्रसारण लाइन मार्फत वैकल्पिक व्यवस्था गरी सोलारबाट उत्पादित विद्युत् प्रणालीमा जोडिएको प्राधिकरणले जनाएको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले २०७५ वैशाखमा आयोजनाको शिलान्यास गरेका थिए। त्यतिवेला एक वर्षभित्रमा निर्माण सक्ने लक्ष्यका साथ शुरु गरिएको आयोजनाको डिजाइन स्वीकृति, रुख कटानलगायतका कारणले ढिलाइ भएको थियो।
विश्व ब्याङ्कको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजना अन्तर्गत प्लान्ट स्थापनाका लागि चिनियाँ कम्पनी राइजन इनर्जीसँग तीन करोड ८० लाख अमेरिकी डलरमा ठेक्का सम्झौता गरिएको थियो। सोलार प्लान्टको डिजाइन, आपूर्ति, निर्माण, सञ्चालन र मर्मतसम्भार ठेकेदार कम्पनीले नै पाँच वर्षसम्म गर्नेछ। कम्पनीले पाँच वर्षसम्म प्लान्टको सञ्चालन तथा मर्मतसम्भार गरी प्राधिकरणलाई चालू अवस्थामा हस्तान्तरण गर्नेछ। कम्पनीले प्लान्टबाट वार्षिक रुपमा तीन करोड ३० लाख युनिट सुनिश्चित ऊर्जा (ग्यारेण्टेड इनर्जी) आपूर्ति गर्नुपर्नेछ।
प्लान्ट पूर्णरुपमा सञ्चालनमा आएपछि हिउँदमा राष्ट्रिय प्रणालीमा रहेको ऊर्जा अभावलाई कम गर्न सहयोग गर्नेछ। काठमाडौं लोड सेन्टरबाट प्लान्ट नजिक रहेकाले यसबाट काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप विश्वसनीय बनाउन महत्वपूर्ण योगदान पुग्नेछ। प्लान्ट सञ्चालनमा आएपछि कुलेखानी जलाशययुक्त र कालीगण्डकी ए, मध्यमस्र्याङदी,मस्र्याङदी, चिलिमे जस्ता अर्ध–जलाशययुक्तको जलाशयमा दिउँसो पानी सञ्चित गरी ती विद्युत् केन्द्र विद्युतको माग बढी हुने बेलुका र बिहान (पिक समय) सञ्चालन गर्न मद्दत पुग्नेछ। जसले पिक समयको विद्युत् माग र आपूर्तिको व्यवस्थापनलाई थप सहज बनाउने अपेक्षा प्राधिकरणको छ।