स्थानीय तहको गुनासोः सरकारको मापदण्ड अनुसार क्वारेन्टिन बनाउन असम्भव
विश्व स्वास्थ्य संगठनले तोकेबमोजिम क्वारेन्टिन बनाउन संघीय सरकारले मापदण्ड तोकेको छ । तर स्थानीय तहहरूले मापदण्ड बमोजिम क्वारेन्टिन बनाउन नसक्ने जनाएका छन् ।
भक्तपुर नगरपालिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्ड पूरा गर्न नसकिने भन्दै क्वारेन्टिन बनाएको छैन । कोरोनाभाइरसका शंकास्पद संक्रमितलाई घरैमा क्वारेन्टिनमा बस्ने अनुरोध गरेको मेयर सुनिल प्रजापति बताउँछन् ।
संघीय सरकारले ‘कोरोनाभाइरस (कोभिड–१९) सम्बन्धी क्वारेन्टिन संचालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६’ अनुसार गर्न सबै स्थानीय तहलाई पत्र पठाएको छ । मेयर प्रजापति भन्छन्, “नगरपालिकाले डब्लुएचओको मापदण्ड अनुसार क्वारेन्टिन बनाउन सक्ने अवस्था छैन, केन्द्र अथवा प्रदेश सरकारले बनाइदिनुपर्थ्याे ।”
भक्तपुर नगरपालिकाले होटल व्यवसायीहरूसँग समन्वय गरेर होटललाई नै क्वारेन्टिन बनाउने तयारी गरेको छ । घना बस्तीभन्दा पर रहेका होटलमा जिल्ला बाहिरबाट आउनेलाई राख्ने व्यवस्था गरिरहेको प्रजापति बताउँछन् ।
ललितपुरको महालक्ष्मी नगरपालिकाले हरेक वडामा सुरक्षित आवास तयार गरिरहेको मेयर रामेश्वर श्रेष्ठ बताउँछन् । यस्तो आवासमा पर्याप्त स्वच्छ पानी, स्वस्थकर खाना, भौतिक दूरी कायम भएको बेड, स्वास्थ्य सेवा, स्यानिटाइजर, साबुन, सफा शौचालय, सरसफाइको व्यवस्था हुनेछ । हरेक वडामा कम्तीमा १० र बढीमा २० जना क्षमताको आवास बनाउन शुरू गरिसकेको उनी बताउँछन्।
अहिले नगरपालिकामा चार वटा एम्बुलेन्स छन् । हरेक एम्बुलेन्समा दुई वटाका दरले पिपिई, स्प्रे, स्यानिटाइजर, मास्क र पञ्जा उपलब्ध छन् ।
सरकारले तोकेका मापदण्ड अनुसार क्वारेन्टिन बनाउन भने नसक्ने मेयर श्रेष्ठको भनाइ छ । क्वारेन्टिन बनाउन उपयुक्त सार्वजनिक स्थान, विशेषज्ञ चिकित्सक, मनोपरामर्शकर्ता र अन्य स्वास्थ्यकर्मीको अभाव भएको उनको भनाइ छ । श्रेष्ठ भन्छन्, “उपत्यकामा कुनै पनि समय डब्लुएचओका पदाधिकारी अनुगमनमा निस्कन सक्छन् । मापदण्ड नपुगेको क्वारेन्टिन भेटिए नेपालको छवि बिग्रन्छ । त्यसैले सुरक्षित आवासको अवधारणा ल्याएका हौं ।”
मापदण्ड अनुसारका क्वारेन्टिन प्रदेश र केन्द्र सरकारले मात्र बनाउन सक्ने मेयर श्रेष्ठ बताउँछन् । “मापदण्ड अनुसारका क्वारेन्टिन बनाउन प्रदेश र केन्द्र सरकारसँग पर्याप्त जनशक्ति र सार्वजनिक स्थान छन्, उपत्यकालाई लक्षित गरेर माथिल्लो तहका सरकार नै यसमा सक्रिय हुनुपर्छ ।”
“यो संकटको समय हो । घरको जस्तो सुविधा दिन सकेका छैनौं। सक्दो प्रयास भने गरिरहेका छौं।”
उमा थापा, उपमेयर, नेपालगंज उप-महानगरपालिका
नेपालगन्ज उप–महानगरपालिकाले ५०० क्षमता बराबरको क्वारेन्टिन बनाएको छ । नेपालगञ्ज–१० स्थित महेन्द्र बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टिनमा अहिले करीब ४०० जना बसिरहेको उपमेयर उमा थापा मगरले जानकारी दिइन् ।
क्वारेन्टिनमा बसेकाहरूलाई पर्याप्त पानी, हात धुने साबुन, स्वस्थ खाना, मनोपरामर्शकर्ता, योग प्रशिक्षकको सुविधा छ । शौचालय पर्याप्त थिएन तर अहिले तीन वटा मोबाइल शौचालयको व्यवस्था गरिएको थापाले जानकारी दिइन् । उनी भन्छिन्, “यो संकटको समय हो । घरको जस्तो सुविधा दिन सकेका छैनौं । सक्दो प्रयास भने गरिरहेका छौं ।”
दिनप्रतिदिन संक्रमितको संख्या बढेसँगै केन्द्र र प्रदेश सरकारले थप क्वारेन्टिन बनाउन निर्देशन दिएका छन् । तर, सीमित स्रोत भएकाले ‘होम–क्वारेन्टिन’ बनाउन छलफल गरिरहेको उनले जानकारी दिइन् ।
उप–महानगरपालिकाले भारतबाट आएकालाई क्वारेन्टिनमा अनिवार्य राखिरहेको छ । त्यस्तै आफैंले शुल्क तिरेर होटलको क्वारेन्टिनमा बस्ने सुविधा पनि छ ।
बाँकेको नरैनापुर गाउँपालिकामा संक्रमित बढेपछि शंकास्पद पनि धेरै भएका छन् । भारतबाट आउनेको संख्या पनि बढ्न सक्ने गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाह बताउँछन् ।
भारतबाट आएका र अन्य शंकास्पदलाई राख्न स्थानीय विद्यालयमा क्वारेन्टिन बनाउने तयारी गरेको उनले जानकारी दिए । तर, सरकारले तोकेको मापदण्ड पूरा हुन नसक्ने उनको भनाइ छ । शाह भन्छन्, “नगरपालिकाले मापदण्ड अनुसारको क्वारेन्टिन बनाउन सकेको छैन । गाउँपालिकाले कसरी सक्छ ? क्षमताले सक्ने जति बनाइरहेका छौं ।”
गाउँपालिकामा एक मात्र प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा कोही पनि चिकित्सक छैनन् । एक जना अहेब, एक जना नर्स र स्वास्थ्य स्वयंसेविकाहरू गरी १२ स्वास्थ्यकर्मी छन् । प्रदेश र केन्द्र सरकारले स्थानीय तहको क्षमता नहेरी क्वारेन्टिन बनाउने निर्देशन दिएको शाहको भनाइ छ । क्वारेन्टिन संचालनका लागि पर्याप्त भोल्टेजको बिजुली पनि नभएको उनी बताउँछन् ।
“एक जना सामान्य डाक्टर पनि नभएको ठाउँमा कहाँबाट विशेषज्ञ डाक्टर ल्याउने ? पालिकाको क्षमता अनुसार क्वारेन्टिन बनाउने हो ।”
अहिले गाउँपालिकाले विकास बजेट क्वारेन्टिन निर्माणमा लगाइरहेको छ । शाह भन्छन्, “एक जना सामान्य डाक्टर पनि नभएको ठाउँमा कहाँबाट विशेषज्ञ डाक्टर ल्याउने ? पालिकाको क्षमता अनुसार क्वारेन्टिन बनाउने हो ।” क्वारेन्टिनमा आवश्यक ३०० बेड र त्यसलाई चाहिने डसना लगायत सामानकै अभाव छ ।
कैलालीको गोदावरी नगरपालिकामा २८ वटा क्वारेन्टिन बनाइएको नगर प्रमुख हरिसिंह साउद बताउँछन् । ती क्वारेन्टिनमा करीब दुई हजार जना राखिएका छन् । दैनिक १५० देखि २०० सम्म बस्न आइरहेको उनले जानकारी दिए ।
उनले पनि सरकारको मापदण्ड अनुसार क्वारेन्टिन व्यवस्थित गर्न सम्भव नभएको बताए । उनी भन्छन्, “मापदण्ड पूरा गर्न त हामीलाई ठूलो बजेट चाहिन्छ । प्रदेश सरकारको निर्देशन दिने बाहेक केही भूमिका छैन । नगरपालिकाले कसरी सक्नु ?” नगरपालिकाले बनाएका क्वारेन्टिनमा आधारभूत सुविधा दिइरहेको उनी बताउँछन् ।
क्वारेन्टिनमा करीब ७० स्वास्थ्यकर्मी परिचालित छन् । १० हजार जनासम्म बस्न आउनेको अनुमान गर्दै थप क्वारेन्टिनको निर्माण गरिरहेको मेयर साउद बताउँछन् । त्यो अवस्थामा नगरपालिकालाई न्यूनतम सुविधा खर्च धान्न पनि मुश्किल हुने उनको भनाइ छ।
घोराही उप–महानगरपालिका दाङले सरकारले निर्देशन गरे अनुरूपको उच्चस्तरीय सुविधायुक्त क्वारेन्टिन बनाउन नसकेको मेयर नरुलाल चौधरी बताउँछन् । तर, आवश्यक सेवा–सुविधा दिएको उनको भनाइ छ । उप–महानगरपालिकाले अहिले ५६ वटा क्वारेन्टिन तयार गरेको छ । त्यहाँ आइतबारसम्म करीब १४०० बसिरहेका छन् । भारतबाट आएर क्वारेन्टिनमा बसिरहेकामध्ये आठ जनालाई कोरोनाभाइरस पोजेटिभ देखिएको छ ।
रौतहटको गढीमाई नगरपालिकाले बनाएको सात वटा क्वारेन्टिनमा २९० जना बसिरहेका छन् । तीमध्ये सात जनालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि चन्द्रपुरको अस्पतालमा राखिएको छ । नगरपालिकाले दुई वटा क्वारेन्टिन मदरसामा र बाँकी विद्यालयमा बनाएको मेयर श्यामप्रसाद यादवले बताए ।
“उनीहरू घरमा पनि उपभोग गर्न नसक्ने सुविधा क्वारेन्टिनमा खोज्छन् । मिनरल वाटर, माछा, मासु लगायतको अनावश्यक सुविधा खोज्छन् । त्यो नहुँदा क्वारेन्टिन व्यवस्थित नभएको हल्ला गर्छन् ।”
श्यामप्रसाद यादव, मेयर, गढीमाई नगरपालिका, रौतहट
नगरपालिकाले क्वारेन्टिनमा भएकाहरूलाई राम्रो सुविधा दिएको यादवको भनाइ छ । उनी भन्छन्, “हाम्रो नगरपालिकाले दिनसक्ने सुविधा दिएका छौं । मापदण्ड अनुसारको उच्च स्तरको सुविधा त दिन सकिंदैन ।”
भारतबाट नेपाल प्रवेश गर्नेको संख्या बढेसँगै क्वारेन्टिनमा बस्नेहरूको संख्या बढिरहेको छ । क्वारेन्टिनमा बस्नेले आवश्यकभन्दा बढी सुविधा खोजेको उनी बताउँछन् । यादव भन्छन्, “उनीहरू घरमा पनि उपभोग गर्न नसक्ने सुविधा क्वारेन्टिनमा खोज्छन् । मिनरल वाटर, माछा, मासु लगायतको अनावश्यक सुविधा खोज्छन् । त्यो नहुँदा क्वारेन्टिन व्यवस्थित नभएको हल्ला गर्छन् ।”
झापाको मेचीनगर नगरपालिकाले २० ठाउँमा क्वारेन्टिन बनाएको छ । यी क्वारेन्टिनमा अहिले १०७ जना छन् । ती क्वारेन्टिनमा अन्तर्राष्ट्रियस्तरको सुविधा नभए पनि राम्रो सुविधा दिइरहेको नगरपालिकाका सम्पर्क व्यक्ति तथा वडा नम्बर ४ का वडाध्यक्ष नवीन बरालको दाबी छ ।
के छ मापदण्डमा ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको ‘कोभिड–१९ का शंकास्पद बिरामी राख्ने क्वारेन्टिनको व्यवस्थापन निर्देशिका’ अनुसार क्वारेन्टिनमा राख्नुपूर्व अनिवार्य स्वास्थ्य जाँच गर्नुपर्छ । संक्रमणबाट जोगिन क्वारेन्टिनमा राखिएकाहरूको पर्याप्त भौतिक दूरी कायम गरिनुपर्छ । सुत्ने खाटको दूरी न्यूनतम एक मिटर कायम गरिनुपर्छ । स्थानीय आवश्यकता अनुसार झुलको व्यवस्था हुनुपर्छ ।
प्रति १०० जनासम्मका लागि स्वास्थ्य सामग्रीसहित एक चिकित्सक, एक नर्स र एक प्यारामेडिक्स उपलब्ध हुनुपर्छ । प्रत्येक क्वारेन्टिनमा कम्तीमा एक किलो तौलको अक्सिजन सिलिण्डर अनिवार्य उपलब्ध हुनुपर्छ । हरेक व्यक्तिको कम्तीमा दिनको दुईपटक स्वास्थ्य परीक्षण गरिनुपर्छ । आवश्यक परामर्श र आवश्यकता अनुसार स्वास्थ्य सेवाका लागि रेफरको सुविधा हुनुपर्छ ।
बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी र दीर्घरोगीका लागि आवश्यक स्वास्थ्य सेवा र औषधिको व्यवस्था गरिनुपर्छ । क्वारेन्टिनमा कम्तीमा तीन जना सरसफाइ गर्ने कर्मचारीको व्यवस्था हुनुपर्ने लगायत व्यवस्था छ ।