बन्दाबन्दीमा डिजिटल बीमाकाे अवसर
बन्दाबन्दीले अभिकर्ताहरू घरमै बसे पनि बीमा समितिसँगको समन्वयमा बिमितहरूलाई अनलाइन र टेलिफोनबाटै सेवा उपलब्ध गराउन थालिएको छ ।
कोरोनाभाइरस (कोभिड–१९) को प्रभाव अरू क्षेत्रमा जस्तै जीवन बीमा कम्पनीहरूमा पनि परेको छ । जीवन बीमा कम्पनीको अग्रभागमा रहेर काम गर्ने मुख्य व्यक्ति अभिकर्ताहरू हुन् । उनीहरू बीमा कम्पनीका अभिन्न अंग हुन् । अहिले बन्दाबन्दीका कारण बजारमा जान नपाएकाले ती सबै घरमै बसिरहेका छन् । बीमा क्षेत्रको काम कागजी रूपमा गर्नुपर्ने, कार्यालयमै उपस्थित हुनुपर्ने र हरेक बिमितलाई भेटेरै गर्नुपर्ने हुन्छ ।
बीमाको शुल्क, ऋण, अवधि पुगेकाले पैसा लिने, दाबी भुक्तानी लिनुपर्ने र नयाँ प्रिमियम तिर्नुपर्ने ग्राहकलाई सबै बीमा कम्पनीले अनलाइनबाट सेवा दिने गरी व्यवस्था मिलाइएको छ । यस्तो डिजिटल सेवा चैतको तेस्रो साताबाटै शुरू गरिएको हो ।
यसको अर्थ बन्दाबन्दीकै कारण बीमा कम्पनी पनि डिजिटल सेवा दिनुपर्ने अवस्थामा पुग्यो भन्ने हो । प्रत्यक्ष भेटघाट गर्नैपर्ने प्रकृतिको व्यवसाय भए पनि संभव भएसम्मका सेवा दिन मात्र किन नहोस् डिजिटल माध्यमबाटै सेवा दिनुपर्ने भयो ।
शुरूमा डिजिटल प्रणालीमा जान गाह्रो भए पनि अहिले विस्तारै यो सेवाप्रतिको आकर्षण र प्रभावकारिता वृद्धि हुन थालेको छ । धेरैजसो काम अनलाइनबाटै हुन थालेका छन् । यसलाई बन्दाबन्दीले सिकाएको अवसर मान्न सकिन्छ किनभने यो राम्रोसँग अघि बढिरहेको छ । यो समयमा डिजिटल प्रणालीबाट भएको कारोबारको हामीले तथ्यांक तयार पारिरहेका पनि छौं ।
बन्दाबन्दीको समयमा सबै क्षेत्रले राहत पाउनुपर्ने र सहजीकरण गर्नुपर्ने माग गरिरहेका छन् । बीमा कम्पनीले पनि बीमा शुल्क तिर्नुपर्ने वेला भएका तर तिर्न नसकेकाहरूलाई बन्दाबन्दीको अवधिभरलाई बीमाको जोखिम वहन गर्ने सुविधा दिएका छन् ।
बिमितले समयमै किस्ता तिर्न नसक्दा लाग्ने ब्याज पनि नलिने निर्णय बीमा समितिमार्फत गरिएको छ । यही कारण अहिले बीमा नवीकरण गर्दाको शुल्क समेत संकलन हुन सकिरहेको छैन । यही वेला ब्याङ्किङ ब्याज पनि घटेको छ । जीवन बीमा कर्पोरेट डिपोजिटर भएकोले त्यसको ब्याज ९.५ प्रतिशतबाट घटेर ७ प्रतिशतमा आएको अवस्था छ । यसले बीमा कम्पनी पनि प्रभावित हुन पुगेका हुन् ।
थपियो चुनौती
अब सबैले कोभिड–१९ सँगसँगै बाँच्नुपर्ने भएको छ । कोरोनाभाइरसले निम्त्याएको बन्दाबन्दीका बीच ग्राहकलाई सेवा उपलब्ध गराउनुपर्ने चुनौती थपिएको छ । नेपाल लाइफ कम्पनीहरूले पनि आफ्ना सेवाहरू दिन प्रयास गरिरहेका छन् ।
अहिले जोखिम बढेसँगै बीमा सम्बन्धी चेतना पनि बढ्दै गएको छ । विभिन्न प्रकोप, मानवीय जीवनमा आइपर्ने कुनै पनि संकट र हरेक असहज अवस्थामा बीमाको माग बढ्ने गरेको छ । यसअघि भूकम्प वा यस्तै प्रकारको प्राकृतिक प्रकोप आउँदा पनि बीमाको महत्व र आवश्यकता धेरैले महसूस गरेका थिए । यी दृष्टान्तलाई मनन् गरेर हामीले भोलिका दिनलाई नयाँ चुनौतीको रूपमा लिंदै अगाडि बढ्नुपर्ने भएको छ ।
डिजिटाइजेसन नयाँ युगको माग हो । आवश्यक तयारी गरी यसतर्फ लम्कनुको विकल्प नै छैन । बीमा समितिले पनि यसैका लागि आवश्यक निर्देशिका ल्याइसकेको छ । पहिले जस्तो ठूलो हलमा एकत्रित भएर तालिम लिने–दिने र व्यक्ति भेटेरै बीमा व्यवसायलाई निरन्तरता दिन्छु भन्ने दिन अब छैन। यसका लागि पनि डिजिटल प्रविधिको प्रयोग अपरिहार्य भएको छ ।
आगामी दिनमा बीमा कम्पनीहरूले पहिलेको जस्तै काम गरे भने त्यो पर्याप्त हुनेछैन । डिजिटाइजेसन नयाँ युगको माग हो । आवश्यक तयारी गरी यसतर्फ लम्कनुको विकल्प नै छैन । बीमा समितिले पनि यसैका लागि आवश्यक निर्देशिका ल्याइसकेको छ । पहिले जस्तो ठूलो हलमा एकत्रित भएर तालिम लिने–दिने र व्यक्ति भेटेरै बीमा व्यवसायलाई निरन्तरता दिन्छु भन्ने दिन अब छैन। यसका लागि पनि डिजिटल प्रविधिको प्रयोग अपरिहार्य भएको छ ।
बन्दाबन्दीपछि नेपाल लाइफले मात्रै डिजिटल प्रविधिमार्फत ११४३ वटा पोलिसी लोनबाट रु.२३ करोड, ७२४ वटा म्याचुरिटी (अवधि पुगेको बीमालेख) बाट रु.१५ करोड, ८०० वटा सर्भाइभल बेनिफिटबाट रु.१२ करोड, ३७ वटा दाबीबाट रु.२ करोड १० लाख र ६ हजार २०० वटा बीमालेख नवीकरणबाट करीब रु.१३ करोडको कारोबार गरेको छ ।
अभिकर्ताले पनि बिमितसँग पुग्न अब डिजिटल प्रविधिको उपयोग गर्नुको विकल्प छैन भन्ने बुझिसकेका छन् । यसका लागि बीमा कम्पनीले आवश्यक प्रणाली बनाइरहेको छ । प्रकृृतिलाई हामीले चुनौती दिन नसकिने भएकोले जस्तो वातावरण आउँछ त्यसैमा समाहित भएर काम गर्नैपर्ने हुन्छ । बाध्यताले नै किन नहोस् डिजिटल प्रविधिलाई आत्मसात् गर्नु सबैका लागि हितकर देखिएको छ।
जम्मा तीन महीना कार्य–व्यापार बन्द हुनासाथ सबै सकियो अब कसरी अगाडि बढ्ने भन्ने भइरहेको छ । यद्यपि कुनै पनि संगठनको लक्ष्य अनन्तकालसम्म चलिरहने नै हुन्छ । जब संगठनको योजना बनाइन्छ सधैं एकै प्रकारको समय रहिरहन्छ भनेर बनाइएको हुँदैन । त्यसमा संभावित अवरोध र अनपेक्षित अवस्थाको विश्लेषण पनि गरिएको हुन्छ ।
जसमा गाह्रो–साह्रो भएको वेलामा कसरी कम्पनी चलाउने भन्ने सहितको वैकल्पिक योजना सबै कम्पनीले गरेको हुनुपर्छ । खर्च कटौतीका नाममा कर्मचारी घटाउने काम राम्रो होइन । नेपाल लाइफ पनि यसको पक्षमा छैन । यस्ता किसिमका जोखिम पहिले नै विश्लेषण गरिएको हुनुपर्छ । अहिले आएको चुनौतीलाई अब अवसर मानेर अगाडि जाँदा नै सम्बद्ध सबैको हित हुन्छ ।
बीमाको प्रोडक्ट फेरिन्छ
अबको केही समय धेरैजसो क्षेत्रको अवस्था कमजोर रहन सक्छ । अहिले आम्दानी कम भएको वेला छ । ब्याङ्कको ब्याज दर घटेको छ भने वैदेशिक रोजगारीमा गएका नेपाली नागरिक बीचमै रोजगारी गुमाएर आउनुपर्ने अवस्था आएको छ । यसले पक्कै पनि मान्छेको खर्च गर्ने क्षमतामा कमी ल्याउने छ । मानिसको पहिलो प्राथमिकता खानामा हुन्छ, जुन स्वाभाविक छ । यसको प्रभाव पनि अन्य खालका खर्चमा पनि पक्कै पर्नेछ ।
अवस्था यो भए पनि बीमा गर्दा धेरै पैसा खर्च हुन्छ भन्ने भ्रमबाट मुक्त हुनुपर्छ । किनभने मानवीय जीवनमा जोखिम छ भन्ने कुरा कसैले नकार्न सक्दैन । जीवन बीमा गरेर जोखिम वहनको दायित्व हस्तान्तरण गर्नुपर्छ भन्ने अझै धेरैले बुझ्नु जरूरी छ । यद्यपि अहिले २७ प्रतिशत नेपालीको बीमा नेपालमा भइसकेको अवस्थालाई सुखद् नै मान्नुपर्छ ।
जीवन बीमा गर्दा जोखिमको मात्र बीमा गर्ने हो भने विभिन्न प्रकारका सामानहरू गाडी, मोटरसाइकल आदि भन्दा कम रकममा गर्न सकिन्छ भन्ने बुझ्नुपर्छ । मानिसको बीमा गर्दा धेरै खर्च हुन्छ भन्ने गरिएको छ, वास्तवमा त्यस्तो होइन । बीमा कम्पनीसँग धेरैवटा बीमा योजना छन् । तर, नेपालको परिप्रेक्ष्यमा धेरैजसो बचत गर्ने प्रकारको बीमा बिक्री भएको देखिन्छ । यस्तो बीमा गर्दा निश्चित अवधिपछि बीमांक रकममा बोनस जोडेर बिमितलाई नै फिर्ता गरिन्छ ।
यस्ता बचत प्रकृतिका जीवन बीमा गर्दा आएको प्रिमियम बीमा कम्पनीको दायित्व भएकाले त्यो फिर्ता गर्नुपर्छ । बीमा कम्पनीले जम्मा गरेको प्रिमियम लगेर ब्याङ्कमा राख्ने हो । कम्पनीले ब्याङ्कबाट आउने ब्याजबाट खर्च कटाएर बिमितलाई फिर्ता गर्ने गरेका छन् । बीमाले फिर्ता दिने पैसा बोनसको रूपमा दिइएको हुन्छ ।
यसका लागि हामीले गर्ने बीमामा एक लाखको बीमा गर्दा बचत प्रकृतिका योजनामा वार्षिक औसत रु.८ हजार तिर्नुपर्ने हुन्छ । अब जोखिम मात्रै वहन गर्ने हो भने त सोही अनुसार बीमाको प्रिमियममा वार्षिक रु.२५० कै हाराहारीमा बीमा गर्न सकिन्छ । अब बीमाको प्रोडक्टको प्रकृति परिवर्तन हुनसक्छ । असहज परिस्थितिका कारण यस्ता प्रकृतिका बीमाको माग तथा आकर्षण बढ्ने देखिन्छ ।
बजेटमा बीमाको प्रवर्धन
असहज परिस्थिति माझ आएको बजेटले धेरै विषय समेट्ने प्रयास गरेको छ । योजना निकै राम्रो भएर मात्रै हुँदैन, त्यसको कार्यान्वयन पक्ष पनि बलियो हुनुपर्छ । निकट भविष्यमा धेरै नेपाली श्रमिक वर्ग फर्किएर नेपाल आउने अवस्था छ । यी जनशक्ति कृषि क्षेत्रमा प्रयोग हुनसक्ने संभावना देखेर बजेटमा कृषिलाई प्राथमिकतामा राखिएको छ । कृषि बीमालाई निरन्तरता दिने लघु बीमासँग सम्बन्धित विषयमा लगाइएको भ्याट हटाइएको छ । तीन वर्षभित्र स्वास्थ्य बीमालाई देशका सबै व्यक्तिसम्म पु¥याउने प्रयत्न पनि गरिएको छ ।
हाम्रो देशका थुप्रै नागरिकले आफ्नो स्वास्थ्य उपचारको लागि समेत पैसा तिर्न नसक्ने अवस्था भएकै कारण ज्यान गुमाउनु परिरहेको छ । पैसा तिर्न सक्नेले पनि स्वास्थ्य संस्थासम्म सहज पहुँच र स्वास्थ्य विशेषज्ञको कमी लगायतका विविध समस्या व्यहोरिरहेका छन् ।
यसलाई समेत ध्यान दिंदै हरेक स्थानीय तहमा हस्पिटल पुर्याउने तथा पैसा तिर्ने क्षमता नभएकाहरूको लागि स्वास्थ्य बीमा सुविधा ल्याउनु सराहनीय प्रयास हो । यसले मान्छेको जीवन संरचनामा परिवर्तन ल्याउँछ । अकालमा मान्छे मर्ने दर कम भयो भने जीवन बीमाको क्षेत्रमा त्यसको सकारात्मक प्रभाव पर्छ । बीमाको दायरा र क्षेत्र बढेपछि भविष्यमा अहिलेको भन्दा बीमाको प्रिमियम सस्तो भएर जान पनि सक्छ ।
अहिले जीवन बीमा कम्पनीको लगानी मुख्यतः ब्याङ्कको मुद्दती निक्षेपमा रहेको छ । यस्ता लगानी दीर्घकालीन प्रकृतिका हुँदैनन् र यसमा पाइने ब्याजको दर समेत अस्थिर भएकोले यसमा मात्रै भर पर्नु उचित हुँदैन । जीवन बीमा कम्पनीलाई प्राथमिकतामा राखेर दीर्घकालीन योजना बनाएरै अगाडि बढ्नुपर्छ ।
जीवन बीमाको दायरा २७ प्रतिशतबाट बढाएर एक वर्षमा ४० प्रतिशत पु¥याउने उद्देश्य राखिएको छ । त्यसले बीमाको क्षेत्रमा निकै सकारात्मक प्रभाव पार्नेछ । जीवन बीमा व्यक्तिको जीवनसँग मात्र जोडिंदैन । बीमाबाट संकलन भएको रकम देश विकास र पूर्वाधार निर्माणमा लगानी गर्न सकिन्छ । छरिएर रहेको रकम एकत्रित गरी देशको विकासमा दीर्घकालीन योगदान पुर्याउन सकिन्छ । जीवन बीमा कम्पनीले यसमा पनि योगदान गरेको हुन्छ । अहिलेसम्म रु.३ खर्ब भन्दा माथिको कोष यो क्षेत्रमा आइसकेको छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ३ प्रतिशतको योगदान बीमा क्षेत्रले दिएको छ ।
जीवन बीमा कम्पनीको ठूलो चुनौती भनेको दीर्घकालीन लगानी पनि हो । हाम्रो देशमा ठूलाठूला परियोजनाको कुरा गरिरहेका छौं । हामीले कमाउने क्षमता विकास गर्न र जीवन बीमा कम्पनीले संकलन गरेको रकमलाई दीर्घकालीन लाभका योजनामा लगानीको वातावरण पनि बनाउनुपर्छ । अहिले जीवन बीमा कम्पनीको लगानी मुख्यतः ब्याङ्कको मुद्दती निक्षेपमा रहेको छ । यस्ता लगानी दीर्घकालीन प्रकृतिका हुँदैनन् र यसमा पाइने ब्याजको दर समेत अस्थिर भएकोले यसमा मात्रै भर पर्नु उचित हुँदैन । जीवन बीमा कम्पनीलाई प्राथमिकतामा राखेर दीर्घकालीन योजना बनाएरै अगाडि बढ्नुपर्छ ।
(नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत झासँग हिमालखबरका राजु बास्कोटाले गरेको कुराकानीमा आधारित ।)