अचेत सुत्केरीको यसरी भयो उद्धार
-रामु सापकोटा, कमल पौडेल र जीवन पाण्डे/बडीगाड, बाग्लुङ
बिहान ११ बजेदेखि अचेत भएर ढलेकी सुत्केरीको उद्धार गर्न परिवार र आफन्तले गुहारिरहेका थिए । तर, फोन गर्दागर्दा जनप्रतिनिधि र गाउँपालिकाका कर्मचारी हैरान भइसकेको वेला छिमेकी नगरपालिकाका मेयरले गरे सहयोग ।
बडीगाड गाउँपालिका स्वास्थ्य सहायक चूडामणि कडेललाई २० जेठ दिउँसो साढे १ बजे ११ दिने सुत्केरीको तत्काल उद्धार गर्नुपर्ने खबर आयो । उक्त गाउँपालिकाको वडा नं. १ तुन्डाँडाकी २२ वर्षीया सुत्केरी सरस्वती पोखरेलको उद्धार गर्नुपर्ने थियो । उनले उक्त सूचना गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजालाई दिए।
पाइजाले हेलिकप्टर पठाइदिन प्रदेश सरकारदेखि गृह मन्त्रालयसम्म गुहारे । गृह मन्त्रालयले सुत्केरी भइसकेकी महिलाको उद्धार गर्न नमिल्ने र सेनाको हेलिकोप्टर बिग्रिएको जवाफ दियो । प्रदेश सरकारबाट पनि भरपर्दो जवाफ आएन । अनि उनले जिल्लाका सांसदलाई फोन गरे, तर सम्पर्क भएन।
पोखरेल बिहान ११ बजेदेखि अचेत भएर ढलेकी थिइन् । परिवार र आफन्तले उद्धार गर्न गाउँपालिकालाई गुहारिरहेका थिए । सहयोगका लागि फोन गर्दागर्दा जनप्रतिनिधि र गाउँपालिकाका कर्मचारी हैरान भइसकेका थिए।
दिउँसो साढे २ बजे बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली कोरोना प्रभावितका लागि राहत वितरण गर्न उक्त गाउँपालिकाको कार्यालय खार बजार आइपुगे । यति वेलासम्म गाउँपालिका कार्यालयले गृह मन्त्रालयबाट हेलिकोप्टर उडाउने पास लिइसकेको थियो।
मेयर नेपालीले राहत वितरणस्थलबाटै प्रभुको निजी हेलिकोप्टरमार्फत उद्धारको सहजीकरण गरे । पोखराबाट ३ः१० बजे उडेको हेलिकोप्टर ३ः३० मा बाग्लुङको तुन्डाडामा अवतरण गर्याे। सुत्केरी बोकेको होलिकोप्टर ४ बजे पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुग्यो।
गण्डकी प्रदेश सरकारको सहकार्यमा सुत्केरीको उद्धार गरी निःशुल्क उपचारको व्यवस्था गरिएकाे अध्यक्ष पाइजा बताउँछन् । अस्पतालमा रहेका देवर दीपक पोखरेलले हिमालखबरसँग कुरा गर्दै चिकित्सकहरुले उनको स्वास्थ्य सुधार हुँदै गएको जानकारी दिएको बताए।
उनका श्रीमान रोजगारीको लागि भारतमा छन् । उनको परिवारको आर्थिक अवस्था कमजोर छ ।
के भएको थियो सुत्केरीलाई ?
पोखरेलले ९ जेठमा छोरी जन्माएकी थिइन् । १८ जेठ साँझदेखि उनलाई टाउको दुख्न थालेको थियो । २० जेठमा छोरीको न्वारन गर्ने तयारी भइरहेको थियो ।
न्वारन गर्नका लागि एक कोठाबाट अर्को कोठामा जाँदै गर्दा मंगलबार बिहान ९ बजे उनी अचेत भएर ढलिन् । लगत्तै आफन्तले वडा कार्यालय हुँदै गाउँपालिकासम्म उद्धारका लागि आग्रह गरे ।
११ दिनअघि स्थानीय बर्थिङ सेन्टरमा सुत्केरी भएकी पोखरेल ‘पोष्टमार्टम इक्लेम्सिया’ का कारण अचेत भएकी हुन् । वडा नम्बर–१ का वडा अध्यक्ष बोमबहादुर थापाका अनुसार शिशुको स्वास्थ्य अवस्था सामान्य छ।
काठमाडौं थापाथलीको परोपकार स्त्री तथा प्रसूती रोग अस्पतालका निर्देशक डा. जागेश्वर गौतम गर्भवती र सुत्केरीलाई पोष्टपार्टम इक्लेम्सियाको समस्या हुने गरेको बताउँछन् । उनका अनुसार बच्चा जन्मेको झण्डै दुई हप्तासम्म पनि यो समस्या हुनसक्छ।
“गर्भवती वा सुत्केरी महिलालाई रक्तचापका कारण यो समस्या हुन्छ,” डा. गौतम भन्छन्, “नियमित गर्भ परीक्षण गरेर र सुत्केरीकाे रक्ताचाप परीक्षण गरी औषधि सेवन गरेमा निको पार्न सकिन्छ ।” सुत्केरी र गर्भवतीलाई आराम गराउने र तनाव कम गरे यो समस्याबाट बचाउन सकिने उनी बताउँछन्।
तत्काल उद्धार गर्ने संयन्त्रको अभाव
बाग्लुङमा झण्डै एक महीनाअघि तत्काल उद्धार गर्न हेलिकोप्टर उपलब्ध नहुँदा एक गर्भवतीको अस्पताल पुर्याउने क्रममा ज्यान गएको थियो । पोखरेलको पनि निकै ढिलो गरी मात्र उद्धार भएको थियो।
गाउँपालिकाका स्वास्थ्य शाखाबाट उद्धारबारे जानकारी पाएपछि अध्यक्ष पाइजाले प्रमुख जिल्ला अधिकारी, बाग्लुङका नेता तथा सांसद देवेन्द्र पौडेल, मनकुमारी केसी, गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन, प्रदेश अर्थमन्त्री किरण गुरुङ लगायत झण्डै दर्जन व्यक्तिसँग उद्धारको पहल गर्न आग्रह गरेका थिए । गृह मन्त्रालयमा पनि सम्पर्क गरेका थिए।
यो घटनाले सुत्केरीको उद्धार गर्ने संयन्त्र चुस्त नभएको स्पष्ट हुने पाइजा बताउँछन् । “सरकारले अझ सहज र छिटो उद्धार गर्ने व्यवस्था मिलाए धेरै सुत्केरी महिलाले अकालमा ज्यान गुमाउनु पर्ने अवस्था बन्दैन थियो होला”, उनी भन्छन्।
नेपाल मेडिकल काउन्सिलका पूर्व सदस्य डा. सुशील कोइराला स्वास्थ्य क्षेत्रमा सेवा प्रदान गर्नका लागि केन्द्रीय कमाण्ड नबनेका कारण तत्काल उद्धार गर्ने संयन्त्र बन्न नसकेको बताउँछन्।