अबकाे १० साताभित्र बन्दाबन्दी पूर्णरुपमा खोल्ने सीसीएमसीको योजना, यस्ताे छ तयारी
सरकारले विदेशबाट नागरिक भित्रिएसँगै कोभिड–१९ संक्रमण उच्चबिन्दुमा पुग्ने विशेषज्ञको रायसँगै बन्दाबन्दी खोल्न ६ चरणको योजनाको गृहकार्य अघि बढाएको छ।
सरकारद्वारा गठित कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी) ले तयार पारेको १२ साता लामो उक्त रणनीतिक योजनामा १० औं हप्ताको समीक्षापछि बन्दाबन्दी पूर्ण रुपमा खुला गर्ने उल्लेख छ।
पूर्वअनुमान भन्दा संक्रमणको दर बढेको भन्दै सरकार १२ साता लामो यस्तो रणनीति कार्यान्वयनमा जुटेको हो।
बन्दाबन्दी खोल्ने सीसीएमसीको यस्तो रणनीति अब रक्षामन्त्रीको संयोजकत्वमा रहेको उच्चस्तरीय समन्वय समितिमा पठाउने तयारी भइरहेको छ।
उच्च स्रोतका अनुसार सरकार १२ साताको यो अवधिमा बन्दाबन्दी पूर्ण रुपमा खोलेर देशलाई संक्रमणबाट अति न्यून जोखिम देश बनाउने तयारीमा छ।
यसका लागि सरकारले मासिक साढे दुईलाख जनाको पीसीआर र आरडीटी जाँच गर्ने भएको छ । विदेशमा रहेका नेपाली भित्र्याउने तयारी पनि थालिसकेको छ।
“तयारीस्वरुप हामीले विदेशमा रहेका नेपाली सहजीकरण कार्ययोजनामा आज (मंगलबार)बाटै काम थालेका छौं," स्रोतले भन्यो।
सीसीएमसीले पश्चिम एशिया र पूर्वी यूरोपको बीचमा पर्ने जर्जियाको मोडलका आधारमा हरेक दुई सातालाई एक चरणका आधारमा मूल्यांकन गर्दै पाँचौं चरणमा विश्व स्वास्थ्य संगठनले संक्रमण शून्य देश घोषणापछि पूर्ण रुपमा बन्दाबन्दी खोल्ने योजना बनाएको हो । सरोकारवाला सबै मन्त्रालय, चारै सुरक्षा निकाय र विज्ञहरुको सल्लाह अनुसार बन्दाबन्दीको स्वरुप बदल्दै जाने तयारी भइरहेको हो।
बन्दाबन्दी खोलिनेमा पहिलो प्राथमिकतामा कृषिलाई राखिएको छ भने अन्तिममा मनोरञ्जन, खेलकुद र विद्यालय खोलिनेछ।
उच्च सरकारी स्रोतका अनुसार १२ हप्तामा बन्दाबन्दी पूर्ण रुपमा खोलेर देशलाई संक्रमणबाट अति न्यून जोखिम देश बनाउने तयारी भइरहेको हो।
सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बन्दाबन्दीको स्वरुप परिवर्तनसँगै विदेशबाट आउने नागरिकको व्यवस्थापन र सोही अनुपातको जाँच, क्वारेन्टिन, आइसोलेसन र व्यवस्थापनका विषयमा अलग–अलग योजना बनिरहेको बताए।
यस्तो हुनेछ ६ चरण
केही दिनभित्रै सीसीएमसीको यो योजना लागू भएमा पहिलो दुई साता कृषि, साना उद्योग, खुद्रा पसल लगायतका साना व्यवसाय आंशिक रुपमा खुला हुनेछन्। इन्टरनेट मार्फत हुने सबै कारोबार भने पूर्ण रुपमा खुला गरिनेछन्।
दुईसाताको समीक्षापछि दोस्रो चरणमा कृषि कार्यलाई पूर्ण रुपमा खुला गर्दै सम्पूर्ण वित्तीय संस्थाहरु आंशिक खुला हुनेछन्।
योजना अनुसार सार्वजनिक तथा निजी सवारीसाधन तेस्रो चरणसम्म बन्द रहनेछन् । योजनामा तेस्रो चरणसम्म पत्रपत्रिकाको प्रकाशन बन्द गरेर अनलाइनलाई प्राथमिकतामा राख्ने प्रस्ताव गरिएको छ।
चाैथो चरणमा भने आंशिक खुलिरहेका उद्योग, वित्तीय संस्था र अन्य निकाय पूर्ण रुपमा खोलिने प्रस्ताव गरिएको छ।
पाँचौं चरणमा ठूलो संख्यामा भिडभाड हुने अवस्थाका बाहेक सबै संघसंस्था, बजार र उत्पादन तथा यातायात खोलेर दुई हप्ताको समीक्षापछि छैठौं चरणमा प्रवेश गर्ने योजना बनाइएको छ।
यो अवधिमा स्वास्थ्य सेवा, आपूर्ति, सुरक्षा र सूचनाको व्यवस्थापन सीसीएमसीको योजना अनुसार सम्बन्धित मन्त्रालयले गर्ने छन्।
“जर्जिया मोडलमा धेरैको सहमति जुटेको छ,” स्रोतले भन्यो, “यही मोडललाई अन्तिम रुप दिने सम्भावना धेरै छ।”
उच्च सरकारी अधिकारीका अनुसार यी चरणहरुमा सबैलाई सार्वजनिक स्थानमा मास्क तथा भौतिक दूरी अनिवार्य कायम गराउने र यसको नियमित अनुगमन समेत हुने बताइएको छ।
मासिक साढे दुई लाखको कोभिड जाँच
सीसीएमसीले केही दिन अघिमात्र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको उच्चस्तरीय समन्वय समितिमा मासिक रुपमा आवश्यक स्वास्थ्य सामग्री तथा उपकरणको सूची बुझाएको छ।
हिमालखबरलाई प्राप्त विवरण अनुसार, सीसीएमसीले ५ सय जनालाई आईसीयूमा राख्नुपर्ने पूर्वानुमान गर्दै १६ प्रकारका स्वास्थ्य सुरक्षा सामग्री, ७० प्रकारका औषधि र एकसय ३ प्रकारका जाँच सामग्री आवश्यक रहेको सूची बनाएको छ।
यसका साथै सीसीएमसीले मासिक रुपमा पीसीआर रिएजेन्ट र आरएनए एक्सट्रयाक्ट दुईलाख ६४ हजार, भीटीएम एकलाख ४५ हजार दुईसय र आरडीटी एकलाख २१ हजार चाहिने जनाएको छ । यो सामग्रीले मासिक एकलाख ३० हजार पीसीआर र एकलाख २० हजार जनाको आरडीटी जाँच सम्भव हुनेछ।
सेनाले यसअघि ल्याएका ३ सय ४२ टन स्वास्थ्य सामग्रीमा जम्मा २८ हजार ३ सय ३२ थान आरटी पीसीआर जाँच किट रहेका छन् । सरकारले मन्त्रिपरिषद्बाट ८५ प्रतिशत स्वास्थ्य सामग्री सेना र १५ प्रतिशत स्वास्थ्य मन्त्रालय मार्फत खरीद गरेको थियो।
सीसीएमसी स्रोतका अनुसार १७ जेठसम्म देशभर दुई लाख ११ हजार पीपीई, दुई लाख १० हजार एन ९५ मास्क, ३४ हजार आरडीटी किट र २१ हजार भीटीएम स्वास्थ्य सामग्री मौजदात छन्।
सीमामै होल्डिङ कक्ष, काठमाडौंका ६ ठाउँमा क्वारेन्टिन
सरकारले १९ जेठमा नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी कार्ययोजना २०७७ स्वीकृत गरेसँगै मंगलबारदेखि सीसीएमसीले यस सम्बन्धी योजना बनाउन थालेको छ।
सरकारको कार्ययोजना अनुसार भारतबाट आउने नागरिकहरुलाई २० वटा प्रवेश केन्द्रमा शुरुमा होल्डिङ सेन्टरमा राखेर अनिवार्य जाँच गर्ने व्यवस्था गर्न भनिएको छ। भारतबाहेकबाट आउनेका हकमा भने परराष्ट्र मन्त्रालय मार्फत सम्बन्धित देशका नियोगले मुख्य भूमिका खेल्नेछन्।
हवाई मार्ग भएर आउनेका लागि होटलमा उनीहरुकै खर्चमा क्वारेन्टिनमा राखिनेछ । स्थानीय निकायमा क्वारेन्टिन व्यवस्थापनका लागि प्रतिव्यक्ति प्रतिदिन खर्च १७५ रुपैयाँ तोकिएको छ।
सीसीएमसीले सम्बन्धित सबै मन्त्रालय तथा प्रदेश र जिल्लास्तरका सीसीएमसी मार्फत नेपाल आउनेको जाँच, क्वारेन्टिन व्यवस्थापन, अनुगमन र सुरक्षा तथा अवधि सकिएपछि घरसम्म पुर्याउने व्यवस्था गर्नेछ । यसका लागि २१ जेठबाटै यससम्बन्धी आवश्यक पूर्वाधार तथा तयारी थाल्न सम्बन्धित मन्त्रालयलाई कार्ययोजना पठाइसकिएको छ।
काठमाडौंका हकमा शहरी विकास मन्त्रालयले तयार गर्नेगरी इंचगुमा रहेको सरकारी आवास, खरिपाटी, मनमोहन मेमोरियल अस्पताल, केएमसी दुवाकोटमा क्वारेन्टिनको व्यवस्थापन तत्काल गर्न भनिएको छ।
पहिलो चरणमा नेपाल आउने करीब तीनलाखलाई व्यवस्थापन गर्ने क्षमता विस्तार तत्काल गर्नुपर्ने कार्ययोजनामा उल्लेख छ।
२५ बुँदामा सम्बन्धित मन्त्रालय र निकायलाई जिम्मेवारी तोकेर कार्यविभाजन गरिएको यो कार्ययोजनाको खाका पनि सीसीएमसीले नै तयार पारेको थियो।