काठमाडौंका चार स्वास्थ्यकर्मीसहित थप २८८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ हजार नाघ्यो
नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २ हजार नाघेको छ। पछिल्लो पटक २८८ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ हजार ९९ पुगेको हो।
कुल संक्रमितमध्ये पुरुषको संख्या १ हजार ९४९ र महिला १५० जना छन्। संक्रमितमध्ये उपचारपछि २६६ जना निको भएर डिस्चार्ज भइसकेका छन्। पछिल्लो पटक मात्रै ४५ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म डिस्चार्ज भएकामध्ये पुरुष २१२ र महिला ५४ जना छन्।
पछिल्लो पटक काठमाडौंमा चार जना स्वास्थ्यकर्मीसहित २८८ जनामा संक्रमण पुष्टि भएको छ।
रौतहटमा आठ वर्षीया एक बालिकासहित ७४ जना, सुर्खेतमा चार वर्षीय बालकसहित २७ जना, सर्लाहीका २१ जना, सल्यानका १८ जना, सिरहा र बाँके र दाङका १७/१७ जना, कपिलवस्तुका १६ जना, रुपन्देही, कैलाली र अछाममा १०/१० जना, दैलेखमा ९ जना, कञ्चनपुरका ८ जना, धनुषाका ६ जना, स्याङ्जाका ५ जना, प्रदेशको फलेबास क्वारेन्टिनमा रहेका ५ जना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन्।
यस्तै, काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका चार स्वास्थ्यकर्मीमा पनि संक्रमण भेटिएको छ। त्यहाँ कार्यरत तीन महिला र एक पुरुष स्वास्थ्यकर्मी संक्रमित भएका हुन्। साथै, बर्दियामा ३ जना, महोत्तरी र नुवाकोटमा २/२ जना तथा भक्तपुर, सप्तरी, धादिङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, बारा र प्यूठानका एक/एक जनामा संक्रमण पुष्टि भएको छ।
संक्रमणबाट हालसम्म नेपालमा ८ जनाको मृत्यु भएको छ।