के प्रविधि शिक्षकको विकल्प हुनसक्छ ?
प्रविधि कक्षाकोठामा पुग्नु नै शैक्षिक गुणस्तरको वृद्धि हो भन्ने भ्रममा पर्नुहुँदैन, किनभने शिक्षारूपी गन्तव्यका लागि प्रविधि साधन मात्र हो, साध्य होइन ।
आजको युग विज्ञान र प्रविधिको हो । शिक्षा, स्वास्थ्य, वित्त र कृषि लगायतका हरेक क्षेत्रमा नवीन प्रविधिले आमूल परिवर्तन ल्याएको छ । प्रविधिमैत्री बन्न नसक्ने विधा वा क्षेत्रले आफ्नो अस्तित्व जोगाउन नसक्ने अवस्था सिर्जना भइसकेको छ । कुनै पनि क्षेत्रले आफूलाई जीवित राख्न र अन्य क्षेत्रसँग प्रतिस्पर्धा गर्न पनि प्रविधिलाई आत्मसात् गर्नैपर्ने हुन्छ ।
व्यक्तित्व निर्माणदेखि समाज परिवर्तन गर्नेसम्मको असाधारण क्षमता राख्ने शिक्षा क्षेत्र पनि प्रविधिसँग अभ्यस्त हुँदै आइरहेको छ। यसैले शिक्षा क्षेत्रमा प्राविधिक पक्षसँग मात्र नभएर विस्तारै कक्षाकोठामा समेत प्रविधि महत्वपूर्ण सहायक साधनका रूपमा स्थापित हुँदै गएको छ।
कोभिड–१९ ले महामारीको रूप लिएर संसारको ठूलो जनसङ्ख्यालाई लकडाउनमा बस्न विवश पारेपछि विद्यालय तहमा समेत एकाएक अनलाइन शिक्षाको माहोल बन्न पुगेको छ। कक्षामा दिने व्याख्यान इन्टरनेटका माध्यमबाट दिनुलाई नै ‘अनलाइन शिक्षा’ अझ ‘शिक्षामा प्रविधि’ हो भन्ने भ्रमले धेरैलाई अल्मल्याएको देखिन्छ ।
अनलाइन वर्तमान परिस्थितिले सिर्जना गरेको विषम अवस्थाको उपज हो भने शिक्षामा प्रविधि आजको शिक्षाले आफूलाई बचाउन अँगाल्नै पर्ने अस्त्र हो । प्रविधिरूपी परिष्कृत अस्त्र नभएमा प्रयोगमा रहेको शिक्षा प्रणालीको अस्तित्व नै समाप्त हुनेछ ।
शिक्षक सूचना र ज्ञानको एकमात्र स्रोत रहँदै आएको सन्दर्भमा आज सो स्थान प्रविधिले प्रतिस्थापन गर्दै गएको छ । शिक्षकले तथ्याङ्क वा सूचना सम्प्रेषण गर्दैमा शिक्षण क्रियाकलाप पूरा हुने अवस्था छैन । यसैले प्राप्त सूचनाको विश्लेषण, वर्गीकरण र सामान्यीकरण गर्ने सीप विकास गर्दै आचरणगत परिवर्तन ल्याउन सहयोगीको भूमिका निर्वाह गर्ने व्यक्तिका रूपमा शिक्षक रहन पुगेका छन् भने विद्यार्थीलाई सो गन्तव्यमा पु¥याउन अति आवश्यक माध्यमका रूपमा प्रविधि स्थापित भइरहेको छ ।
कक्षाकोठामा अडियो–भिडियो, प्रोजेक्टर, स्मार्टबोर्ड र रोबोर्टका रूपमा प्रविधिको प्रयोग बढ्दै गएको छ । विद्यार्थी परम्परागत व्याख्यान विधिबाट वाक्कदिक्क बनिरहेको सन्दर्भमा उपर्युक्त प्रविधिले कक्षाकोठालाई रोचक, आकर्षक एवम् जीवन्त बनाउन निकै सघाएको छ ।
कोभिड–१९ ले महामारीको रूप लिएर संसारको ठूलो जनसङ्ख्यालाई लकडाउनमा बस्न विवश पारेपछि विद्यालय तहमा समेत एकाएक अनलाइन शिक्षाको माहोल बन्न पुगेको छ। कक्षामा दिने व्याख्यान इन्टरनेटका माध्यमबाट दिनुलाई नै ‘अनलाइन शिक्षा’ अझ ‘शिक्षामा प्रविधि’ हो भन्ने भ्रमले धेरैलाई अल्मल्याएको देखिन्छ।
हिजोका दिनमा कल्पनासम्म गर्न नसकिएका अमूर्त र अव्यक्त कुरालाई बिम्बात्मक र सङ्केतात्मक रूपमा प्रस्तुत गर्न प्रविधिले सम्भव बनाएको छ । भूगोल, संस्कार र संस्कृति मात्र होइन; जीवविज्ञान, रसायन शास्त्र र भौतिक विज्ञानका जटिलतम अवधारणालाई समेत प्रभावकारी रूपमा बुझाउन सकिने अवस्था प्रविधिकै कारणले सिर्जना हुनसकेको छ । जुनसुकै क्षेत्र र विषय भए पनि सहज र सरल रूपमा प्रस्तुत गर्न सकिने अवस्था विज्ञान र प्रविधिकै कारण सम्भव भएको छ ।
समृद्ध पुस्तकालयमा मात्र प्राप्त हुने दुर्लभ किताबहरू तथा संसारका कुनाकुनामा सम्पन्न भएका अनुसन्धानहरू औंलाका टुप्पामा चाहेकै वेला सहजता साथ प्राप्त हुनु शिक्षा क्षेत्रमा विज्ञान प्रविधिको अभूतपूर्व चमत्कार हो ।
प्रविधिप्रतिको आकर्षण र अत्यधिक प्रयोगले पुस्तकालयको विकल्प प्रविधि बनिसकेको वर्तमान परिप्रेक्ष्यमा कक्षाकोठाको विकल्प प्रविधि बन्न सक्ने सम्भावना पनि बढ्दै गइरहेको छ। शिक्षकको विकल्प प्रविधि हुनसक्ने कि नसक्ने भन्ने कुरा विश्वभर बहसको विषय बनेको छ भने बौद्धिक जगत र मौलिक ज्ञानलाई प्रविधिले विस्थापित नगरी झनै समृद्ध पार्दै जाने कुरामा विद्वान्हरू एकमत देखिन्छन् ।
प्रविधि साधन हो, साध्य होइन
नेपालको सन्दर्भमा शहरी क्षेत्र तथा आर्थिक रूपमा सम्पन्न र अन्य पूर्वाधार उपलब्ध भएका क्षेत्रमा प्रविधिले कक्षाकोठामा पनि प्रवेश पाइसकेको अवस्था छ । प्रविधिको प्रयोगले पठनपाठन झनै प्रभावकारी हुन्छ भन्ने मनसायले यसलाई कक्षाकोठामा भिœयाउन नेपाली शिक्षा क्षेत्र उद्यत देखिन्छ । यहाँनेर बुझ्नुपर्ने कुरा के छ भने प्रविधि कक्षाकोठामा पुग्नु नै शैक्षिक गुणस्तरको वृद्धि हो भन्ने भ्रममा पर्नुहुँदैन, किनभने शिक्षारूपी गन्तव्यका लागि प्रविधि साधन मात्र हो, साध्य होइन ।
यस कुरालाई राम्ररी बुझ्न नसक्दा हाम्रा विद्यालयहरूमा किताबमा भएका कुरालाई पावर प्वाइन्टमार्फत प्रदर्शन गर्नु, यूट्यूब र यस्तै अन्य स्रोतका सामग्रीलाई कक्षामा देखाउनु र शिक्षकले तयारी गर्न नसकेका वा अल्छी लागेका वेला सञ्जालमा प्राप्त भएका कुरालाई प्रविधिका माध्यमबाट कक्षामा प्रदर्शन गरी विद्यार्थीलाई भुलाउनुलाई कक्षाकोठामा प्रविधिको प्रयोग भनी प्रचार र प्रयोग हुने गरेको छ ।
शिक्षण सामग्रीको प्रयोगविना चक र डस्टरका भरमा चलेका कक्षा स्मार्ट बन्दा आजको प्रविधिप्रेमी पुस्ता दङ्ग पर्नु स्वाभाविकै हो । यसले शिक्षकलाई पनि निकै राहत दिएको छ तर प्रविधि अध्ययन अनुसन्धानलाई फितलो बनाई शिक्षकको भूमिका कमजोर पार्ने साधन हो त ? गम्भीर रूपमा सोच्नुपर्ने अवस्था सिर्जना हुँदैछ ।
माथि भनिए जस्तै गरी प्रयोग गर्ने हो भने त प्रविधिले निकट भविष्यमा लाखौं शिक्षकलाई शिक्षण पेशाबाट हात धुनुपर्ने अवस्थामा पु¥याउने निश्चितप्रायः छ । रेकर्डेड सामग्री कक्षाकोठामा लगेर देखाउनुलाई नै प्रविधिको प्रयोगद्वारा शिक्षण क्रियाकलापलाई प्रभावकारी बनाउनु अवश्य होइन । त्यसो हो भने त राज्यले सबै स्कूल बन्द गरी जनतालाई प्रविधिसम्पन्न बनाए पुगिहाल्यो नि !
‘स्मार्ट’ शब्दमोहका कारण केही स्कूलमा त सीसीटिभीबाट कक्षाकोठाको निगरानी गर्ने प्रयास समेत गरेको देखिन्छ । शिक्षक कक्षाकोठामा जान्छ वा जाँदैन भन्ने कुराको अनुगमन गर्न केही हदसम्म यसले सहयोग गरेको जस्तो देखिए पनि ममाथि कसैले जासूसी र नियमन गरिरहेको छ भन्ने सोच लिएर शारीरिक रूपमा मात्र कक्षा कोठामा उपस्थित हुने तर प्रभावकारी रूपमा शिक्षण गर्न अभिप्रेरित नहुने हो भने कक्षा प्रभावकारी बन्नै सक्दैन ।
शिक्षण क्रियाकलाप शारीरिकभन्दा मानसिक प्रक्रिया भएकाले शिक्षकलाई तर्साएर गुणस्तरमा सुधार आउनै सक्दैन बरु उनीहरूलाई विश्वासमा लिएर उत्प्रेरणा गर्दै जानु विद्यालय तथा विद्यार्थी दुवैका लागि फाइदाजनक हुन्छ । यसैले प्रविधि शिक्षकको साथी नबनी शत्रु बनेका अवस्थामा सिकाइ क्रियाकलापका लागि प्रत्युत्पादक समेत बन्न सक्दछ ।
प्रविधि बच्चालाई स्वाभाविक वातावरणमा सिक्नबाट वञ्चित गर्ने साधन पनि बन्नुहुँदैन । विद्यालय तथा विद्यार्थीको सुरक्षा प्रयोजनका लागि सीसीटिभीको प्रयोग उपयुक्त हो तर हरेक गतिविधिको नियमन यन्त्रबाट हुनु मानसिक तथा संवेगात्मक विकासका दृष्टिले घातक हुने कुरा अध्ययनहरूबाट स्पष्ट भइसकेको छ ।
गल्ती गर्दै सिक्ने अवस्थामा बच्चालाई कडा नियमनमा राख्न खोज्दा झनै विकराल समस्या निम्तिन सक्ने सम्भावना रहन्छ । मनोवैज्ञानिक सिद्धान्त अनुसार केही व्यवहार वा आचरण पटक–पटकको निर्देशनबाट र केही आचरणको बेवास्ताबाट सुधार गर्न सकिन्छ ।
‘स्मार्ट’ शब्दमोहका कारण केही स्कूलमा त सीसीटिभीबाट कक्षाकोठाको निगरानी गर्ने प्रयास समेत गरेको देखिन्छ । शिक्षक कक्षाकोठामा जान्छ वा जाँदैन भन्ने कुराको अनुगमन गर्न केही हदसम्म यसले सहयोग गरेको जस्तो देखिए पनि ममाथि कसैले जासूसी र नियमन गरिरहेको छ भन्ने सोच लिएर शारीरिक रूपमा मात्र कक्षा कोठामा उपस्थित हुने तर प्रभावकारी रूपमा शिक्षण गर्न अभिप्रेरित नहुने हो भने कक्षा प्रभावकारी बन्नै सक्दैन ।
मनोसामाजिक दृष्टिमा अति नियन्त्रण वा अति बेवास्तालाई स्थान दिइँदैन । यस्ता गतिविधि अस्वस्थ मानसिकता सिर्जना गर्ने कारक मात्र बन्दछन् । यस तथ्यलाई बिर्सेर सर्वत्र यन्त्र वा प्रविधि प्रयोग हुन थाल्यो भने भावनात्मक एवम् सहृदयी कुराको मूल्य पतन भई हरेक व्यवहार र आचरण वस्तुगत र निरस बन्न थाल्छन् । यस प्रकारको संवेदनाहीन वातावरणमा पठनपाठन राम्रो त हुनै सक्दैन, विद्यार्थीमा असामाजिक, असन्तुलित र जड मानसिकताको विकास हुन सक्दछ ।
कक्षाकोठाका मुटु र मस्तिष्क शिक्षक र विद्यार्थी नै हुन् जसले कक्षालाई जीवन्त र रोचक पार्न सक्छन् । प्रविधि त्यही जीवन्त कोठाको अलङ्कार बन्न सक्दछ अर्थात् शिक्षण क्रियाकलापको सहयोगी साधन बन्न सक्दछ । यसैले शिक्षक स्वयम्ले कक्षामा प्रस्तुत गर्ने कुरा रेकर्ड गरेर देखाउनु वा यूट्यूब र अन्य क्षेत्रका भिडियो देखाउनु कक्षाकोठामा प्रविधिको प्रयोग गर्नु होइन बरू कक्षाकोठाको जीवन्तता नष्ट गरी प्रविधिको दुरुपयोग गर्नु हो ।
आवश्यक विषय, सन्दर्भ र क्षेत्रमा शिक्षक स्वयम्ले पूर्व तयारी गरी शिक्षण सामग्रीको प्रस्तुतिका लागि प्रविधिको प्रयोग भने आजको आवश्यकता हो । विद्युत् सर्किट देखाउन एनिमेटेड भिडियोमार्फत अमूर्त इलेक्ट्रोन, न्युट्रोन र प्रोटोनसमेत देखाई विद्यार्थीलाई अवधारणा निर्माणमा सहयोग पु¥याउन सकिन्छ । भूगोल र खगोलका पिण्ड, शरीर संरचना, पाचन प्रणली, रक्तसञ्चार प्रणाली लगायतका विषयमा तत्तत् क्षेत्रका सामग्रीको प्रस्तुतिलाई प्रविधिले सहज र सम्भव तुल्याई कक्षाकोठालाई आकर्षक पनि बनाएको छ ।
शिक्षक स्वयम्ले कक्षामा प्रस्तुत गर्ने कुरा रेकर्ड गरेर देखाउनु वा यूट्यूब र अन्य क्षेत्रका भिडियो देखाउनु कक्षाकोठामा प्रविधिको प्रयोग गर्नु होइन बरू कक्षाकोठाको जीवन्तता नष्ट गरी प्रविधिको दुरुपयोग गर्नु हो ।
यसैले प्रविधिका नाममा भिडियोमार्फत जे–जस्तो सामग्री पस्किए पनि हुने भ्रमबाट मुक्त भई खोज र अनुसन्धानबाट प्राप्त तथ्यको जीवन्त प्रस्तुतिको माध्यमका रूपमा प्रविधिलाई प्रयोग गरी विद्यार्थीको सोच, चिन्तन र अवधारणागत आयामलाई विस्तृत पार्ने दिशामा अग्रसर हुनुपर्दछ ।
विषयवस्तुको वर्णन र सूचना प्रदान गर्ने काम मात्र शिक्षकको हो भन्ने सोच भएको हाम्रो समाजमा कक्षाकोठाका सिर्जनशील पक्षलाई बेवास्ता गरेर प्रविधिको प्रयोगका नाममा शिक्षण गतिविधिलाई नै निकम्मा बनाउने प्रयास हुँदैनन् भन्न सक्ने अवस्था छैन।
प्रविधि सम्बन्धी सङ्कुचित सोचले शिक्षक–विद्यार्थी दुवै पक्षलाई निष्क्रिय र निरस बनाई कक्षाकोठालाई झनै अन्तरक्रियाविहीन बनाउने मात्र होइन, एक वर्ष कक्षामा पढाएका कुराको भिडियो बनाई सोही मात्र प्रदर्शन गरी शिक्षा क्षेत्रबाट शिक्षकलाई विस्थापन गर्ने सम्भावना समेत देखिन्छ । यसैले आजका शिक्षकले प्रविधिको सहयोग लिंदै आफूलाई प्रविधिमा निर्भर वा प्रविधिविरोधी नबनाई प्रविधिको सन्तुलित प्रयोगद्वारा कक्षाकोठालाई अन्तरक्रियात्मक र जीवन्त बनाउनुपर्दछ ।
हाम्रो सन्दर्भमा वर्तमान असामान्य र असहज परिस्थिति वास्तवमै शिक्षा क्षेत्रमा आमूल परिवर्तन गरी आधुनिकीकरण गर्ने स्वर्णिम अवसर बन्न सक्दछ । कक्षाको झुत्रे र अवैज्ञानिक शैलीलाई इन्टरनेटका माध्यमबाट प्रसारण गर्दैमा शिक्षामा कुनै सुधार आउने छैन।
नयाँ–नयाँ अध्ययनका निष्कर्ष, शिक्षा तथा विज्ञानका क्षेत्रमा भएका नवप्रवर्तन र हाम्रा परम्परागत ज्ञानका भण्डारको गुणात्मक, विज्ञानसम्मत र प्रभावकारी प्रयोगको स्थल कक्षाकोठालाई बनाएर वास्तवमै शिक्षालाई प्रविधिसम्पन्न बनाउनु आजको आवश्यकता हो ।
(भुसाल मनोवैज्ञानिक परामर्शदाता हुन् ।)