बाँके दुर्घटना : सरकारी तयारीमै देखियो भ्वाङ
भारतमा रहेका आफ्ना नागरिक स्वदेश भित्र्याएपछि कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सरकारले कार्यविधि बनाएको छ। जसमा यात्रुहरुलाई सीमामै कोरोनाभाइरस परीक्षण गर्ने, सकेसम्म एउटै जिल्ला वा स्थानीय तहका यात्रुहरुलाई सम्बन्धित जिल्लासँगको समन्वयमा पठाउने उल्लेख छ।
यति मात्र होइन, यात्रा गर्दा सिट बाहेक यात्रु नराख्ने, सबैले मास्क र गाडीमा स्यानिटाइजर प्रयोग गर्नुपर्ने पनि कार्यविधिमा उल्लेख छ।
तर, बाँकेको ठोरिया जंगलमा गए राति दुर्घटना भएको मिनीबसमा सवार यात्रुलाई सीमाबाट गन्तव्य पठाउने क्रममा कार्यविधिका यी प्रावधान पालना नभएको पाइएको छ।
बाँकेको रुपैडिहा नाकाबाट गुडेको मिनीबसमा दाङ, सल्यान र रोल्पाका नागरिक सवार थिए। भारतका विभिन्न शहरबाट फर्केका ती ३१ जनाले नाकामै रहेको फोर्स गाडीका चालक, सहचालक र अर्का एक जनासँग गन्तव्यतर्फ जाने कुरा मिलाए। उनीहरुलाई सल्यानसम्म छोड्न चालक तयार भए।
सीमानाकामा खटिएका सुरक्षा अधिकारीहरुको मिलेमतोमा २० जना बस्न मिल्ने सिटमा चालक र सहचालकसहित ३३ यात्रु कोच्चिए। नाकामा उनीहरुको नाम र ठेगाना टिपेर राख्ने मात्र काम भयो, उनीहरुलाई क्वारेन्टिनमा राखेर जाँच्ने संयन्त्रका विषयमा कुनै जानकारी राखिएन।
गाडी चालक दैलेखका दानबहादुर खड्कालाई यी यात्रुलाई सल्यान सीमासम्म छाडेर सुर्खेत फर्कन हतार थियो। बन्दाबन्दीले खुला सडक उनी तीव्र गतिमा गाडी हुइँक्याइरहेका थिए। अन्तत: मिनीबस बाँकेको राप्ती सोनारी गाउँपालिका–२ स्थित ठोरिया जंगलमा रोकिराखेको ट्रकमा ठोक्कियो। उनले चलाएको बा ५ ख ५९९५ नम्बरको फोर्स गाडी चामल लोड भएको ना ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएको हो।
“सडक खाली भएकोले तीव्र गति थियो”, प्रदेश प्रहरीका एसएसपी राजकुमार बैदवारले भने, “दुर्घटना स्थलको मुचुल्कामा फोर्स गाडीले चामलले भरिएको ट्रकलाई ४५ मिटर घचेटेको देखिन्छ।” उनका अनुसार, चालक हतारमा रहेको घाइतेहरुले बताएका छन्।
यो दुर्घटनामा सोमबार साँझसम्म १२ जनाको मृत्यु भएको छ। जसमा चालक खड्का र सहचालक पवनबहादुर भण्डारी सुर्खेतका हुन् भने निमबहादुर ओली, देउवीर विक, बुद्धिराम विक र रितेश कार्कीको ठेगाना खुल्न सकेको छैन। ठेगाना खुलेकोमा रोल्पा थवाङका भीमबहादुर विक, नरेन्द्र विक, रोल्पाकै होलेरीका मोहनचन्द्र विक तथा दाङको राजपुर–६ का रामकुमार पुन, सीता पुन र पूर्णबहादुर पुन छन्।
घाइते २१ मध्ये ४ को अवस्था गम्भीर छ।
सरकारले भारतमा रहेका नेपालीहरुलाई कार्यविधि अनुसार भित्र्याउने बताइरहे पनि बाँके दुर्घटनाले सरकारी तयारीमै प्रश्न खडा गरेको छ। प्रदेश प्रहरीका एसएसपी बैदवार भने स्थानीय प्रशासनलाई यात्रु र सवारी चालकले झुक्याएर हिंडेको आशंका गर्छन्। "गन्तव्यमा जाने क्रममा स्थानीय निकायसँग समन्वय भए/नभएको विषय खोजी गरिरहेका छौं”, उनले भने।
सबैको रिपोर्ट नेगेटिभ
मिनीबस दुर्घटनामा घाइते भएकामध्ये भेरी अस्पतालमा उपचाररत २१ जना र मृतक १२ जनाको पीसीआर विधिबाट कोरोनाभाइरसको परीक्षण गरिएको छ। जसमा सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले बताए।
उनका अनुसार, मृतकहरुको सनाखतमा समस्या भएकाले सोमबार राति मात्र पोष्टमार्टम गरिनेछ। "सबै मृतकका परिवारसँग सम्पर्क भइसकेको छ, परिवारका सदस्यहरु आएपछि हामीले प्रक्रिया शुरु गर्छौं", उनले भने।