कोरोना संक्रमणबाट बलिउड संगीतकार वाजिद खानको निधन
बलिउडका ख्यातिप्राप्त गायक तथा संगीतकार वाजिद खानको निधन भएको छ।
मिर्गौलाको समस्याबाट पीडित उनमा एक साताअघि मात्रै कोरोनाभाइरस संक्रमण भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। चार दिनयता भेन्टिलेटरमा राखेर उपचार गराउने क्रममा ४२ वर्षको उमेरमा सोमबार उनको निधन भयो। उनको केही समयअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो।
साजिद-वाजिदको जोडी बलिउडमा निकै चर्चित थियो। यी दुई साक्खै दाजुभाइ हुन्। यो जोडीले पहिलो पटक सन् १९९८ मा सलमान खानको फिल्म 'प्यार किया तो डरना क्या' का लागि संगीत दिएको थियो।
त्यसपछि उनीहरुले 'हेलो ब्रदर', 'चोरी चोरी', 'तेरे नाम', 'पार्टनर', 'वेलकम', 'दबङ' लगायत ७० भन्दा बढी फिल्ममा संगीत कम्पोज गरेका थिए।
वाजिदले 'पार्टनर', 'वान्टेड', 'वीर', 'दबङ', 'हाउसफूल २', 'राउडी राठोर', 'एक था टाइगर' लगायत फिल्ममा गीत पनि गाएका छन्।
वाजिद र साजिदले टेलिभिजनको गायन रियालिटी शो सारेगम (सन् २०१२) र सारेगम सिङ्गिङ सुपरस्टारमा मेन्टरका रुपमा पनि काम गरेका थिए। - एजेन्सी